काठमाडौं, कात्तिक १२
नेकपा एमालेले एघारौं महाधिवेशनका लागि देशभर एकै दिन महाधिवेशन प्रतिनिधि छनोट गर्ने आन्तरिक तयारी गरेको छ । महाधिवेशन तयारीका लागि महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयकोे टिमले एकै दिन महाधिवेशन प्रतिनिधि छनोट गर्नेगरी एघारौं महाधिवेशनको कार्यतालिकाको गृहकार्य गरिरहेको हो ।
२९ देखि ३१ असोजमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको एघारौ महाधिवेशन गण्डकी प्रदेशको पोखरामा २७ देखि २९ मंसिरमा आयोजना गर्ने निर्णय गरेको थियो । केन्द्रीय कार्यालयका एक सदस्यका अनुसार अहिले मंसिरको दोस्रो साताभित्र एकैदिन प्रतिनिधि छनोट गरिसक्नेगरी कार्यतालिका बनाउने काम चलिरहेको छ ।
तर, एकै दिन किन महाधिवेशन प्रतिनिधि छनोट गर्नेगरी कार्यतालिकाको गृहकार्य गरिदैंछ ? पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नविकरण नटुंगिर्दै गुपचुप प्रतिनिधि छनोट गर्ने कार्यतालिका बढाईएपछि अध्यक्ष केपी ओलीइतर पक्ष भने सशंकित भइरहेको छ ।
आगामी १५ असोजमा बस्ने केन्द्रीय सचिवालय बैठकमा महाधिवेशन कार्यतालिका मुख्य एजेण्डाका रुपमा छलफल हुँदैछ । कार्यतालिकासहितका एजेण्डा तय गर्ने काम महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय टिमले गर्ने हो ।
त्यस टिममा उपमहासचिव र सचिवहरु पनि छन् । तर, अहिले एजेण्डा बनाउने गृहकार्यमै उपमहासचिवहरुबाहेक सचिवहरुलाई बाईपास गरिएको छ । तर, त्यही बैठकले महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण कामको योजनासहित कार्यतालिका बनाउनेगरी एजेण्डाको गृहकार्य चलिरहेको स्थायी समिति सदस्य तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
‘अहिले कार्यतालिकाका लागि गृहकार्य भइरहेको छ, बैठकले देशैभर एकैदिन प्रतिनिधि छनोटको मितिसहित विधि र मापदण्डहरु सार्बजनिक गर्नेछ र त्यसपछि पार्टीको सम्पूर्ण शक्ति महाधिवेशनको तयारीका लागि परिचालित हुनेछ ।’ उनले भने ।
एजेण्डाको गृहकार्य गरिरहेका अर्का एक नेताले समय छोटा भएकाले सकभर कम प्रतिनिधि ल्याउनेगरी समावेशितालाई ध्यान दिएर प्रतिनिधि छनोटसम्बन्धि कार्यतालिका र मापदण्डहरु आउने बताए ।
‘समय छोटो छ, पार्टीको पछिल्लो सदस्य संख्यालाई आधार मानेर संविधान र कानुन तथा पार्टीको विधान र नियमालीलाई मध्येनजर गर्दै भूगोल, जनसंगठन, प्रवास र सम्पर्क समन्वय कमिटीबाट समावेशी प्रतिनिधि छनोट गर्नेगरी मापदण्ड आउनेछन्’ ती सदस्यले भने,‘सकभर प्रतिनिधि दुई हजारभित्रै सिमित गर्न सकिन्छ कि, त्यसका लागि कति सदस्य बराबर कसरी छनोट गर्ने विषयमा पनि आन्तरिक छलफलहरु चलिरहेको छ ।’
एमालेका ६ लाख ६२ हजार संगठित सदस्य छन् । ती सदस्यहरुमध्ये भूगोल, महिला, जनजाती र दलितलाई अनिवार्य क्लष्टर बनाएर प्रतिनिधि छनोट हुनेछन् ।
कार्यतालिका निर्माणका लागि एमाले केन्द्रीय कार्यालयले गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी र पोखरा उपमहानगर पालिका कमिटीसँग पनि समन्वय गरिरहेको छ । एमालेले गत शुक्रवारबाटै केन्द्रीय कार्यालयमा पाल टाँगेर तयारीसम्बन्धि काम सुरु गरेको छ । महाधिवेशनको लोगो र नाराका विषयमा केन्द्रीय कार्यालयसँगको समन्वयमा प्रचार विभागले आन्तरिक गृहकार्य गरिरहेको छ ।
त्यस्तै, जेनजी आन्दोलनपछिको परिस्थिति र सन्निकट महाधिवेशनलाई लक्षित गर्दै प्रदेशस्तरीय कार्यकर्ता भेला र जिल्ला कमिटीका बैठकहरु पनि धमाधम चलिरहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । कतिपय जिल्लाहरुले स्वतस्फूर्त रुपमा शान्ति, सदभाव र लोकतन्त्रको पक्षमा भेलासँगसँगै जुलुश र सभाहरुसमेत गरिरहेका छन् ।
यसबीचमै झापा, मोरङ, दाङ, धादिङ, बाँके, अर्घखाँची, भक्तपुर, काभ्रेलगायत एक दर्जन बढि जिल्लामा जुलुश, र्यालीलगायतका कार्यक्रम सम्पन्न भएको एमालेले जनाएको छ ।
