काठमाडौं, मङ्सिर २
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अधिवेशनसम्बन्धी विवाद लामो समयदेखि टरसिँदै गर्दा आफूहरू न त झुक्नेछौँ, न त झुक्किनेछौँ भनेर स्पष्ट सन्देश दिएका छन्।
आगामी पुस १६ सम्म नियमित महाधिवेशन नबुलाए विशेष महाधिवेशनमा जानुपर्ने धारणा सार्वजनिक गरिरहेका थापाले मंगलबार फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै वर्तमान संघर्ष अधिवेशनको मितिभन्दा ठूलो—पार्टी सुधारको दिशासँग सम्बन्धित—बनेको बताए।
‘नागरिकले दिएको सन्देश धेरै स्पष्ट छ—पुरानै तरिकाले अब काम चल्दैन, उनले भने “सुधार गरेर मात्र जनविश्वास फर्किन्छ।
महामन्त्री थापाले पार्टीका नेता तथा कार्यकर्तालाई धैर्य राख्न आग्रह गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नयाँ उर्जा र सुधारिएको स्वरूपमा प्रस्तुत हुने स्पष्ट संकेत दिए।
उनले थपे,
‘सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, बरु बलियो बन्छ। हामी चुनावमा जानेछौँ—तर नयाँ उर्जा र सुधारिएको कांग्रेसका साथ। हामी न झुक्छौँ, न झुक्किन्छौँ।’
