काठमाडौँ, २९ मङ्सिर।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।
आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारको दर्ता प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो । आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सुरु गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयनका लागि बिहान ९ः०० देखि दिउँसो १२ः०० बजेसम्म उम्मेदवारको दरखास्त फारम विवरण गरिनेछ । मनोनयनपछि आजै दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने र दिउँसो २ः३० देखि ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी लिने समय तालिका तोकिएको छ ।
यस्तै आयोगले उम्मेदवारको नाम फिर्ता लिनका लागि आज दिउँसो ३ः१० देखि ५ः०० बजेसम्म समय तोकेको छ र उम्मेदवारको अन्तिम नामावली साँझ ६ः०० बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ । निर्वाचन आयोगले आज सबै प्रक्रिया सकेर भोलि पुस १ गते निर्वाचन हुने जनाएको छ । आयोगका अध्यक्ष डा सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि यही पुस १ गते बिहान ११ः०० देखि बेलुका ५ः०० बजेसम्म मतदान हुनेछ । मतदान महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनेछ ।
