काठमाडौं, २७ पुस ।
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को दोस्रो दिन काठमाडौं उपत्यकामा विविध जनचेतनामूलक कार्यक्रम गरी सम्पन्न भएको छ।
ट्राफिक सप्ताहको दोस्रो दिन काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा नयाँ बसपार्कबाट छुट्ने चालक, सहचालक तथा यात्रुहरूका लागि आँखा जाँच शिविर सञ्चालन गरिएको थियो।
यसका साथै काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा ट्राफिक नियम पालनासम्बन्धी जनचेतनामूलक प्लेकार्ड प्रदर्शन, पैदलयात्रुलाई सुरक्षित तरिकाले बाटो काट्न सिकाउने कार्यक्रम, यात्रु तथा पैदलयात्रीसँग ‘२ मिनेट’ सचेतनामूलक अन्तरक्रिया, चालक र परिचालकसँग ‘२ मिनेट’ कार्यक्रम, साथै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन लक्षित सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए।
“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ मिति २०८२ साल पुस २७ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुने ट्राफिक सप्ताहअन्तर्गत विभिन्न चरणबद्ध कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।
कार्यक्रमअन्तर्गत पैदलयात्रुलाई सुरक्षित रूपमा सडक पार गर्ने तरिका सिकाउने, दुई पाङ्ग्रे सवारी चालक लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा विद्यालय सम्पर्क कार्यक्रम, रात्रिकालीन सवारी चालक तथा परिचालकलाई लक्षित सचेतनामूलक गतिविधि लगायतका ट्राफिकसम्बन्धी विविध कार्यक्रम सञ्चालन हुनेछन्।
ट्राफिक प्रहरीले ट्राफिक सप्ताहमार्फत सडक दुर्घटना न्यूनीकरणमा आम नागरिकको सहभागिता र जिम्मेवारी बढाउने उद्देश्य रहेको जनाएको छ।
