काठमाडौं, १९ माघ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले माओवादीबाट विद्रोह गरेका नेता जनार्दन शर्मालाई फोन गरेर दिक्दारी सुनाएको खुलेको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रुकुम पश्चिमको उम्मेदवार बनेका शर्माले एक कार्यक्रममा आफूलाई झलनाथले फोन गरेर प्रचण्डको एकलौटी शासनबारे दिक्दारी सुनाएको बताए ।
शर्माले भने, ‘मलाई झलनाथ खनालजीले फोन गर्नुभयो, मैले गरेको थिइनँ । एकलौटी शासन रहे छ यहाँ त के हो ? यो के शासन हो ? मैले त बुझ्न सकिनँ । एउटाले आदेश दिन्छ, अरुले ताली पड्काउँछन्, यहाँ त बर्बाद पो रहेछ त भन्नुभयो । मैले ४३ वर्ष गरेको संगत र अनुभवले तपाई त्यहाँ नजानुस् भनेको हो, किन गएको त भनेर जवाफ दिएँ ।’
नेकपा नेता खनालले हालै वक्तव्य निकालेरै पार्टीमा एकल निर्णय भएको, बैठक नबसेको र हरिबोल गजुरेलजस्ता नेतामाथिको कारबाही गलत भएको बताएका थिए ।
