बैतडी, १० फागुन ।
नेकपा र कांग्रेसका दर्जनौ नेता कार्यकर्ताले चुनावको मुखमै पार्टी त्यागेका छन् । नेकपाका केन्द्रिय सदस्य द्वय दल बहादुर धामी र दिपेन्द्र कुवँर तथा नेपाली कांग्रेसका प्रदेश कमिटि सदस्य जनक बिष्ट लगायतले पार्टी त्यागेका हुन् । पार्टी त्यागेकाहरु एमालेको चुनावी अभियानमा सामेल भएका छन् ।
उनीहरु तीनैजना पुरचौंडीमा राम्रो प्रभाव भएका ब्यक्तिहरु मानिन्छन् । उनीहरुसँगै नेपाली कांग्रेस र नेकपाका स्थानीय दुइ सय १४ जना कार्यकर्ताले पार्टी छोडेको दाबी एमालेले गरेको छ । जसमध्ये एक सय ६२ जना कार्यकर्ताको लिष्ट नै सार्वजनिक गरिएको छ । एमाले उम्मेदवार भण्डारीले आफ्नो पहिलो चुनावी सभामा उनीहरुलाइ पार्टीमा भित्र्याएका हुन् ।
यसअघि जनतासँग घरदैलो गरिरहेका एमाले उम्मेदवार दामोदर भण्डारीले पुरचौंडीबाट चुनावी सभाको सुरुवात गरेका छन् । निर्वाचन क्षेत्रको पहिलो चुनावी सभामा नेकपाका केन्द्रिय नेता देखि कांग्रेसका प्रभावशाली युवाहरु एमालेमा प्रवेश गरेपछि भण्डारी उत्साहित बनेका छन् ।
यसअघि लगातार तीन चोटी चुनाव जितेका उनले चुनावी सभामा सम्बोधन गर्दै भने ‘एमाले एक्लैसँग जीतका लागि पर्याप्त मत छ, अरु पार्टीबाट थपिएपछि चौथो चोटी जित्न सहज हुँदै गएको छ ।’ यसअघि एमालेले समानुपातिकमा २९ हजार भोट पाएको थियो भने कांग्रेसको २४ हजार भोट थियो । कांग्रेस भित्र तल्लो तहसम्मै देउवा समूहको असन्तुष्टि देखिएकाले त्यसको फाइदा पार्टीलाइ हुने एमाले नेताहरुको दाबी छ । ‘हामी उसै अगाडि छौ, कांग्रेस भित्रको आन्तरिक टकरवाले झनै सजिलो भएको छ’ एमालेका केन्द्रिय सदस्य गोबिन्द गिरी भन्छन् ।
चतुरको पल्ला भारी भएको कांग्रेसको दाबी
यता नेपाली कांग्रेसले भने चतुर बहादुर चन्द पहिलो चोटी निर्वाचनमा सहभागी भएकाले पुराना उम्मेदवारहरुबाट वाक्क भएकाहरुको समर्थन पाउने दाबी गरेको छ । कांग्रेसले मेलौली नगरपालिकामा दर्जनौ कार्यकर्ताहरु पार्टीमा प्रवेश गरेको जनाएको छ । एउटा निर्वाचन क्षेत्र रहेको बैतडीमा मुख्य प्रतिश्पर्धा एमाले र कांग्रेसको हुने आकलन गरिएको छ । उनीहरुलाइ रास्वपाका हरिमोहन भण्डारी, नेकपाका पर्मानन्द भट्ट र राप्रपाका भुपेन्द्र चन्दले चुनौती दिने अनुमान गरिएको छ ।
