कर्णाली, १४ फागुन।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष मुलुकलाई स्वर्णिम बनाउने गरी काम गर्ने बताएका छन्। सुर्खेतमा आज भएको कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरे ।
उनले भने, “विगत पाँच÷छ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागिमात्र खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो । अब २०८२ देखि २०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ । यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ । हामीलाई नेपालको सीमितता थाहा छ । हामी यसलाई सुधार्छौँ । प्रतिज्ञापत्र सार्वजनिक गरेका छौँ । पाँच वर्ष भनेर कुरेर बस्दैनौँ । बैशाख १ गते आउँछ र एक महिनामा यो काम गर्यौैँ भन्छ कांग्रेसले । जेठ १ गते आउँछ र एक महिनामा यी काम गर्यौँ भन्छौँ ।”
