सत्ता गठबन्धनको मुख्य दल माओवादीको बहिष्कारले कर्णाली प्रदेशसभा बैठक अनिश्चित

सत्ता गठबन्धनको मुख्य दल माओवादीको बहिष्कारले कर्णाली प्रदेशसभा बैठक अनिश्चित


सत्ता गठबन्धनको मुख्य दल माओवादीको बहिष्कारले कर्णाली प्रदेशसभा बैठक अनिश्चित

सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन । यही साउन ३ गते बसेको प्रदेशसभाको १०औं अधिवेशनको २६औं बैठकमा माओवादी केन्द्र सदन र सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठकको शुरुमै सत्ता साझेदार दल बैठकबाट बाहिरिएपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगितको घोषणा गरेका थिए ।

माओवादी केन्द्रसँगको छलफलपछि मनाएर बैठक सञ्चालन गर्ने प्रयास सभामुख शाहीले गरे पनि पुनः बैठक चल्न सकेन । उनले सभाको बैठक सञ्चालन गर्न भन्दै बुधबार दिउँसो ३ बजे आफ्नो संयोजकत्वमा सर्वदलीय बैठक बोलाए । यद्यपि सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गियो ।

‘यो समस्या खासगरी सत्ता साझेदार दलभित्रको हो । प्रतिपक्षसँगको होइन’, सभामुख शाहीले भन्छन्, ‘उहाँहरु आफैं बसेर यसलाई सल्टाए हुन्छ । यसका लागि खासै सर्वदलीय बैठक बस्नुपर्ने अवस्था थिएन । तर केही वातावरण बनोस् भनेर मैले बैठकको आह्वान गरेको हुँ । आशा गरौँ सत्तारुढ दलभित्र सल्लाह भएर सदन सञ्चालन होला ।’

बुधबार बिहान माओवादी संसदीय दलको बैठकले दलका नेता महेन्द्रबहादुर शाहीलाई वार्ता तथा सहमतिको पहल गर्ने जिम्मेवारी दिएको थियो । सर्वदलीय बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाही र सदनले माओवादी केन्द्रले उठान गरेका मुद्दालाई हलुका ढङ्गले छलफल गर्न खोजेको आरोप लगाउँदै दलका नेता शाही बाहिरिएका थिए ।

माओवादी केन्द्रले उठाएको सवाल तथा विषयमा सरकार र सदनले गम्भीरताका साथ ध्यान नदिए सभाको बैठक र संसदीय समितिमा उपस्थित नहुने माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभामा दलका प्रमुख सचेतक कृष्णा शाहीले बताए । ‘सरकार हाम्रा मुद्दामा आनाकानी गरेर एकलौटी ढङ्गबाट चल्न खोजेको छ’, प्रमुख सचेतक शाहीले भने, ‘यो माओवादी केन्द्रका लागि सह्य हुँदैन । समन्वय, सहकार्य र सहअस्तित्वबाट सरकार चल्नुपर्छ र यसमा सरकार जिम्मेवार बन्नैपर्छ ।’

बुधबार बसेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमालेको तर्फबाट यमलाल कँडेल, माओवादी केन्द्रका महेन्द्रबहादुर शाही, मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही र राप्रपाका सोशिला शाही सहभागी थिए । सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिका विषयमा थप छलफल हुने बताइएको छ ।


प्रकाशित मिति: बिहिबार, ५ साउन, २०७९, ११:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९