काठमाडौं,पानी परेपछि खुसीले मनाइँदै साउने पन्ध्र

काठमाडौं,पानी परेपछि खुसीले मनाइँदै साउने पन्ध्र


काठमाडौं,पानी परेपछि खुसीले मनाइँदै साउने पन्ध्र

पानी परेर रोपोमा पानी लागेपछि महोत्तरीका किसानलाई साउने १५ पर्वले खुसी दिएको छ । असार मध्ययता पानी नपरेर धानको रोपो पहेँलिदै गएबीच पर्वअघि लगातार दुई दिन पानी परेपछि किसानको अनुहारमा खुसी छाएको हो ।

“दुःखसुख रोपेको धानको रोपो खेतमा धजा फाटेर सुक्दै थियो”, बर्दिबास–२ का किसान पवित्रा खड्का भन्नुहुन्छ, “धन्न साउने १५ अघि पानी प¥यो र धानको रोपो फिर्ने आश जाग्यो ।” खेतमा रोपेको धान पानीबेगर पहेँलिदै गएपछि विरक्तिएका जिल्लाका किसानलाई गत शुक्रबार र शनिबार साँझको वर्षा अमृत वर्षेझैँ लागेको छ ।

वर्ष दिन गुजारा गर्नपर्ने मुख्यबाली नै पानीबेगर मर्न लाग्दा किसानलाई दुई दिन अघिसम्म साउने १५ पर्वको रमाइलो थिएन । तर लगातार पर्वअघि दुई दिन परेको पानीले रोपो फिर्न लागेपछि तै बाली भइहाल्छ कि भन्ने आश जागेको यहाँका किसान बताउँछन् । जिल्लामा लामो खडेरीपछि गत शुक्रबार साँझ र शनिबार परेको पानीले धानको रोपोलाई अमृतकै काम गरेको किसानको भनाइ छ । लगातार दुई दिन पानी परेपछि किसानलाई साउने १५ पर्व चाड आएजस्तो बनेको भङ्गाहा–४ का ७८ वर्षीय किसान दीपबहादुर फुँयाल बताए ।

साउन १५ लाई कृषिपर्वका रूपमा मनाइने गरिन्छ । सामान्यतया धान रोपाइँ सकिने हुँदा हिलोमा काम गरेको चिसोको असर मेट्न यस दिन खिर खाने नेपाली चलन छ । तर बीउ, मल र पानीको तुक नमिल्दा किसानले यसपालि अपेक्षित धान रोपाइँ गर्न सकेका छैनन् ।

“पानी पर्याप्त भएको भए एक साताअघि नै रोपाइँ सकिन्थ्यो, के गरौँ रु आफ्ना भाग्यमा आकाश ताक्न लेखेको छ”, बर्दिबास–९ टोकीटोलका किसान रामचन्द्र थापा मगर भन्नुहुन्छ, “जे–जस्तो होस् साउने १५ मा खेतको रोपो फिरेको हेर्न पाइएको छ, समयले साथ दिए अब केही न केही धान भित्रिन्छ ।” पानीले लगातार साथ दिए बाँकी रोपाइँ पनि एक साताभित्र सकिने यहाँका किसानहरुले बताए । पछिल्लो वर्षाले पर्व हासीखुसी मनाउन पाइएको किसानले बताए।

जिल्लामा यसपालि पहिले बीउको अभाव भएर समयमा ब्याड राख्न नपाएको, असार १५ यता पानी नपर्दा पहिलेको रोपो सुक्दै गएको र थप रोपाइँ गर्न नपाइएको र मल बजारमा नपाउँदा त्यत्तिकै खेती गर्न परेको किसानको बिलौना छ । “हाम्रो हातमा केही भएन, खेतीमा सबै ईश्वरकै भर भयो”, समयमा पानी पर्ने÷नपर्ने कुरा ईश्वरीय लीला बुझ्ने बर्दिबास–६ मनहरिपुरका किसान बिन्देश्वर यादव भन्नुहुन्छ, “किसानलाई हेर्ने कोही भएनन्, न सिँचाइको प्रबन्ध, न समयमा बीउ मल १”

जिल्लामा करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । तर कुलो नहरले सिँचाइ पुगेका १० प्रतिशतमात्र जग्गा हुँदा यहाँका अधिकांश खेती आकाशे पानीकै भरमा हुने गरेको छ । ठिक बेलामा पानी परी दिँदा किसानलाई त्यो नै ठूलो पर्व हुने गरेको छ ।

अहिले पर्वको मुखमा पानी परेपछि दङ्ग परेका किसान आज मन फुकाएर पर्वको तयारीमा लागेका छन् । यो पर्वमा खिर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण एकाबिहानै जुटेका देखिँदा छन् । जिल्लाका बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा पर्वते मूलका हिन्दू धर्मावलम्बीको सघन बसोबास छ ।

 विवाह भएर गएका छोरीचेली र ज्वाँइचेलालाई निम्ता गरेर खिर खुवाउने पुरानो परम्परा रहेको बुढापाका बताउँछन् । जिल्लाका बर्दिबास, भङ्गाहा, गौशाला र औरही नगर क्षेत्रका बजारमा दूधको माग आज निकै बढेको यस भेगका दूध व्यापारीले बताएका छन् ।


प्रकाशित मिति: आइतबार, १५ साउन, २०७९, ०८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९