काठमाडौँ, । प्रधानमन्त्री शेरवहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्नका लागि निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आज कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै सरकारका मन्त्रीगण, मुख्यसचिव र सबै सचिवलाई सम्भावित तेस्रो लहरको सङ्क्रमणलाई रोक्नका लागि निर्देशन दिएका हुन् ।
उनले बुस्टर डोज र भारतसंग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए ।
हिजो पुस २२ गते ५४० जनामा देखिएको सङ्क्रमण आज एकै दिन ९६८ जनामा सङ्क्रमण देखिएको छ । भारतको पन्जाव, गुजरात, उत्तरप्रदेश, विहार लगायत प्रदेशमा सङ्क्रमणको तेस्रो लहर फैलिसकेको छ ।
तेस्रो लहर फैलिन नदिन सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै प्रधानमन्त्री देउवाले सङ्क्रमण फैलिन नदिनका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्न समेत आग्रह गरे ।
उनले भारतसंग खुला सिमाका तेस्रो लहरको सङ्क्रमणको चुनौति रहेकोले सिमा नाकामा कोरोना भाइरसको परीक्षण दर पनि बढाउन निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले भारतसंग सिमा जोडिएका नाकामा होल्डिङ सेन्टर पनि चाँडै स्थापना गर्न निर्देशन दिए । “भारत सिमाबाट आएका सवै व्यक्तिलाई परीक्षण गर्नुपर्दछ” उनले भने, “परीक्षण गर्दा सङ्क्रमण भेटिए आइसोलेसन र होल्डिङ सेन्टरमा राखेर उपचार गर्नुपर्दछ ।”
उनले तेस्रो लहरको ओमिक्रोन भेरियन्ट छिटो फैलिने भएकोले खतरा रहेकोले समयमा नै रोकथाम र नियन्त्रणका गर्नुपर्ने आवश्यकता रहेकोले सवै लाग्नुपर्ने भनाई राखे ।
प्रधानमन्त्री देउवाले बुस्टर डोज लगाएपछि तेस्रो लहरको खतरा कम हुने भएकोले सवैलाई बुस्टर डोज लगाउने गरी व्यवस्थापन गर्न समेत निर्देशन दिए ।
उनले तेस्रो लहरको सम्भावित जोखिम हुन नदिनका लागि अस्पतालमा अक्सिजन र शैय्याको व्यवस्थापन गर्न समेत निर्देशन दिए । नागरिकलाई बचाउनुपर्ने सरकारको कर्तत्व पनि रहेको भन्दै सवैको सहयोगले सम्भावित तेस्रो लहरलाई नियन्त्रण गर्न सकिने उनको भनाई राखे ।
“अक्सिजन नै नपाएर मानिस मर्न थाले लाजको मर्नुपर्ने अवस्था आउँछ ”, उनले भने,“ त्यसैले सवै मिलेर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि युद्धस्तरमा काम गर्नुपर्दछ ।”
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकामा चाँडै नै होल्डिङ सेन्टर निर्माण गर्नतर्फ लाग्नुपर्ने बताए ।
उनले सङ्क्रमितको पहिचान गरी आइसोलेसनमा राख्नुपर्ने बताए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले विगतको अनुभवलाई लिएर उच्च सतर्कता नअपनाएर ठूलो संकट व्यहोर्नुपर्ने भन्दै चाँडै नै सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको उच्च तयारीमा लाग्नुपर्ने भनाई राखे ।
उनले खोप अभियानलाई तीव्रता दिनुपर्ने भन्दै खोप समयमा नै दिन नसके अकल्पनिय दुर्घटना व्यहोर्नुपर्ने बताए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरियन्टको रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको बताए । उनले ओमिक्रोन भेरियन्टबाट ठूलै डर सिर्जना हुने नठानेर पहिलेको अनुभवबाट नै नियन्त्रण गर्न सकिने धारणा राखे । उनले अहिले तेस्रो लहरको हल्लासंगै खोप लगाउनेको सङ्ख्या पनि बढेको भन्दै खोप लगाउनका लागि अभियान नै सञ्चालन गर्ने बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्था, पार्टी प्यालेस र भीडभाड हुने ठाउँमा सतर्कता अपनाउन आवश्यक रहेको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थलको आगमन र प्रस्थान दुवै ठाउँमा पिसिआर परीक्षण गरेर मात्रा यात्रुलाई चढाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले नेपालबाहिरबाट आएका सङ्क्रमितलाई होल्डिङ सेन्टरमा राख्नुपर्ने बताए । उनले विगतमा अक्सिजन नपाएर धेरै मानिसले ज्यान गुमाउनु परेको भन्दै अक्सिजनको व्यवस्थापन प्रयाप्त गर्नुपर्ने बताए ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले गाउँगाउँमा खोप अभियान संचालन गरेर सवैलाई खोप लगाउनुपर्ने बताए ।
उनले परीक्षणको दायरा बढाउँदै आइसोलेसन र होल्डिङ सेन्टर जतिसक्दो चाँडो निर्माण गर्नुपर्ने बताए ।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री किसान श्रेष्ठले राजनीतिक दलका आमसभा, भीडभाड हुने कार्यक्रम र सार्वजनिक कार्यक्रम रोक्नुपर्ने बताए ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले स्वास्थ्यका मापदण्ड पालना गर्नमा लापरवाही बढिरहेकोले जनचेतना जगाएर स्वास्थ्यका मापदण्ड पालनामा कडाई गर्नुपर्ने बताए ।
उनले होल्डिङ सेन्टरको निर्माण दु्रत गतिबाट गर्नुपर्ने र सिमाको आवतजाउमा कडाई गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले विगत र छिमेकी देशको अनुभवलाई हेरेर सम्भावित जोखिम हुन नदिने उपाय अपनाउनुपर्ने बताए ।
उनले जतिसक्दो सवै नागरिकलाई खोप दिनुपर्ने भन्दै खोपका लागि आवश्यक सिरिन्ज कहाँबाट चाँडै पाइन्छ त्यहीबाट ल्याउनुपर्नेमा जोड दिए । उनले दोस्रो लहरमा स्थानीय र प्रदेश तहले राम्रोसंग काम नगरेकोले कुनै सयन्त्र बनाएर स्थानीय र प्रदेश तहलाई सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणमा जिम्मेवार बनाउनुपर्ने बताए ।
अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीले होल्डिङ सेन्टर स्थापनाका लागि बजेट अभाव हुन नदिने बताए । उनले सवै नेपालीलाई खोपको लागि आर्थिक स्रोत सुनिश्चित भइसकेको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले तेस्रो लहरको जोखिम बढेकोले भीडभाड हुने ठाउँमा सतर्कता अपनाउनुपर्ने बताए । उनले यही महिनाभित्र स्थानीय तहसंगको सहकार्यमा खोप अभियानलाई तीव्रता दिइदै सवैलाई खोप लगाउने जानकारी दिए ।
उनले दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढिरहेकोले सिमा नाकामा परीक्षणको दायरा बढाइएको बताए । उनले सम्भावित तेस्रो लहरको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि पाँचौ कोभिड–१९ स्वास्थ्य दु्रत कार्ययोजना बनाइरहेको जानकारी दिए ।
नेपाली सेनाका उपरथी डा. अरुण न्यौपाने, सेनाकै सेनानी राजीवमोहन झाले सम्भावित तेस्रो लहरको नियन्त्रण तथा रोकथाममा नेपाली सेनाले खेल्ने सक्ने भूमिकाबारे आआफ्नो प्रस्तुती गरेका थिए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९