कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन

कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन


कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन

कैलाली । कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९÷८० मा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन । दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ ।

कैलाली भन्सार कार्यालयलाई गत आव २०७९÷८० मा भन्सार विभागले रु १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो । तर उक्त आवमा रु आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व उठेको छ । यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए । बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा राजस्व कम सङ्कलन भएको उनले बताए ।

टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन । भन्सार विभागले सत्ती भन्सारलाई आव २०७९÷८० मा रु १६ करोड ९४ लाख, ४२ हजार राजस्व उठाउने लक्ष्य तोकेकोे थियो । सो अवधिमा सत्ती भन्सारले रु सात करोड, ३८ लाख, ८९ हजार मात्र राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले बताए ।

“आर्थिकमन्दी, भन्सार कार्यालयमा क्वारेन्टाइन र प्लान्ट कार्यालय नहुँदा राजस्व सङ्कलन कम भएको हो”, उनी भन्छन् । कैलालीका भन्सार कार्यालयबाट आयातबाट मात्र राजस्व उठ्ने गर्छ । यी भन्सार भएर पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस, हार्डवेयरका सामान, चामल, गहुँ, पापड, भुजिया, दालमोठ, बिस्कुटलगायत बस्तुको आयात अत्यधिक हुने गरेको छ । तर निर्यात भने न्यून मात्रामा हुने गरेको चौधरीले बताए ।

स्थानीयवासीले सत्तीमा क्वारेन्टाइन कार्यालय स्थापनाको माग गर्दैआएका छन् । सत्ती भन्सारमा रहेको क्वारेन्टाइन कार्यालय सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको थियो । “विस्थापित भएका धेरै कार्यालय खुले । तर क्वारेन्टाइन पुनःस्थापना हुन सकेन”, स्थानीय सङ्गम चौधरी भन्छन्, “क्वारेन्टाइन नभएका कारण पनि भन्सारले गति लिन सकेन, यहाँका व्यापारीलाई समेत दुःख भएको छ ।”

 


प्रकाशित मिति: बुधबार, ३ साउन, २०८०, ०८:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९