गौर हत्याकाण्डः सर्वोच्चको परमादेशपछि रौतहटमा राजनैतिक हलचल

गौर हत्याकाण्डः सर्वोच्चको परमादेशपछि रौतहटमा राजनैतिक हलचल

गौरस्थित राइस मिल फिल्डमा २७ जनाको सामूहिक हत्या


गौर हत्याकाण्डः सर्वोच्चको परमादेशपछि रौतहटमा राजनैतिक हलचल


काठमाडौं ।सर्वोच्च अदालतले गौर हत्याकाण्डलाई १९ वर्षपछि अनुसन्धान गर्ने आदेश दिएपछि रौतहटमा राजनीतिक हलचल मच्चिएको छ । २०६३ चैत ७ गते रौतहट सदरमुकाम गौरस्थित राइस मिल फिल्डमा २७ जनाको सामूहिक हत्याकाण्डको विषयमा छानबिन गर्न सर्वोच्च अदालतले सोमवार परमादेश दिएपछि रौतहटमा राजनीतिक हलचल मच्चिएको हो । 
घटनामा मुख्य गरी तत्कालीन मधेशी जनअधिकार फोरमका नेता तथा कार्यकर्ताहरु सम्मिलित भएको कारण स्थानीय राजनीतिमा निकै चासो बढेको छ । तत्कालीन अवस्थामा मधेशवादी दलमा रहेका विभिन्न नेताहरु अहिले नेकपा एमाले, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एस तथा अन्य दलमा रहेका छन् ।
तत्कालीन चर्चित मधेशवादी नेता तथा पूर्व साँसद बबन सिंहले सर्वोच्चले गरेको परमादेश विदेशीको इसारामा भएको आरोप लगाएका छन् । हाल नेकपा एमालेमा रहेको सिंहले विदेशीहरुले देशमा उथलपुथल गर्न चाहेको आरोप लगाउँदै देशको कूटनीति नै विदेशीको हातमा रहेको गम्भीर आरोप लगाएका छन् । देशलाई आर्थिक रुपमा पनि कमजोर बनाउने विदेशीहरुले गरेको षड्यन्त्रको रुपमा सर्वोच्चको परमादेशलाई व्याख्या गर्दै सिंहले यस विरुद्ध आन्दोलन गर्नुपर्ने बताएका छन् । मुद्दामा सिंह पनि आरोपित रहेका छन् । 
यसै गरी एमाले नेता तथा गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजय गुप्ताले सर्वोच्च अदालतले दिएको परमादेशको सम्मान गर्नुपर्ने बताएका छन् । छानबिनमा आफ्नो नाम रहेको भए पनि आफू विचलित नभएको बताउँदै गुप्ताले गौर हत्याकाण्डलाई राजनीतिक घटना भएको र यसलाई राजनीतिक मुद्दाको रुपमा लिनुपर्ने बताएका छन् ।
मुद्दामा नाम रहेका पूर्व प्रदेश साँसद तथा पूर्व नगर प्रमुख बाबुलाल साहले घटनाको समयमा आफू नेपालमा नभई मुम्बईमा रहेको बताउँदै राजनैतिक प्रतिशोधको कारण नाम हालेको बताएका छन् । घटनाको बारेमा पहिले राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानको रिपोर्टको आधारमा सर्वोच्चले अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । राजनीतिक मुद्दा भएकोले त्यसै आधारमा यसलाई लिनुपर्ने साहको भनाइ छ ।
जसपाका कार्यकारिणी सदस्य तथा पूर्व प्रदेश सभा साँसद रामकिशोर यादवले सर्वोच्चको परमादेशलाई गलत र धाधली भएको तथा हत्या हिंसाको मुद्दा नभई जबरजस्ती मुद्दा भएको बताएका छन् । यादवले सर्वोच्चको परमादेश नै गलत भएको आरोप लगाउँदै परमादेश विरुद्ध सल्लाह गरी आन्दोलन गर्नुपरे पनि आन्दोलन गर्ने बताएका छन् । यादवले आफू परमादेशप्रति असन्तुष्ट रहेको बताएका छन् । 
जसपाका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश राज्यमन्त्री योगेन्द्र यादवले सर्वोच्चको परमादेशप्रति आफू केही बोल्न नसक्ने बताएका छन् ।
रौतहटका अधिकांश नेताहरुको नाम मुद्दाको अनुसन्धानमा जोडिएकाले रौतहटमा पूर्णतः राजनीतिक हलचलको रुपमा रहेको देखिएको छ ।   
गत २०८० जेठ १८ गते गौर हत्याकाण्डको छानबिन हुनुपर्ने भन्दै त्रिभुवन साह, रुपसागर उपाध्याय, रोकाया खातुन, विक्रम पटेल र रामशरण यादवले सर्वोच्चमा निवेदन दिएका थिए । 
निवेदक रुपसागर उपाध्यायका पति नर्मदेश्वर उपाध्याय, रोकाया खातुनकी छोरी प्रतिमा खातुन, बिक्रम पटेलका भाइ राज पटेल र रामसरण यादव छोरा रामबाबु यादवको उक्त घटनामा मृत्यु भएको थियो । 
निवेदक उपाध्याय खुसी
सर्वोच्च अदालतमा गौर हत्याकाण्डको छानबिन हुनुपर्ने भनी निवेदन दिने रुपसागर उपाध्याय सर्वोच्चको परमादेशपछि खुसी भएको बताएकी छन् । उपाध्यायले घटनामा निर्दोष पति मारिएको भन्दै सर्वोच्चको परमादेशले न्याय पाउने आशा पलाएको बताएकी छन् । 
उपाध्याय न्याय पाउनको लागि जिल्ला अदालत, उच्च अदालत, गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय तथा न्याय पाउने आशामा अन्य विभिन्न निकायमा धाएको र ठुलो संघर्ष गरेको बताउँदै अन्ततः सर्वोच्च अदालतले छानबिन गर्ने आदेश दिएपछि खुसी लागेको बताएकी हुन् । 
१९ बर्षपछि अनुसन्धान गर्न परमादेश
झण्डै दुई दशकदेखि न्यायको पर्खाइमा रहेको बहुचर्चित गौर हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार रौतहटस्थित सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयका नाममा यो आदेश दिएको हो ।
पीडितहरुको तर्फबाट वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, वरिष्ठ अधिवक्ता उद्धव चौलागाईँ, अधिवक्ता जयमंगल प्रसाद, अधिवक्ता कस्तुरी जयसवालसहित १६ जना कानुन व्यवसायीले सर्वोच्च अदालतमा बहस गरेका थिए ।
घटना विवरण
२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन नेकपा (माओवादी) र मधेशी जनअधिकार फोरमबीच भएको भिषण झडपमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।
रौतहट सदरमुकाम गौरस्थित राइस मिलको चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा (माओवादी) ले एकै समय र स्थानमा सभा आयोजना गरेपछि दुई पक्षबीच झडप भएको थियो ।
उक्त झडप हिंसात्मक बन्दा २७ जना माओवादी कार्यकर्ताको निर्मम हत्या भएको थियो भने कैयौं घाइते भएका थिए । 
एउटै स्थानमा कार्यक्रम गर्ने दुवै दलले कार्यक्रम नगरी नछाड्ने हठले निम्त्याएको गौर नरसंहारमा माओवादीका २७ कार्यकर्ताको मृत्यु हुनुका साथै ४२ जना घाइते भए । 
जनसभाको नाम दिँदै २०६३ चैत ७ गते दिउसो माओबादी र फोरमले एकैस्थानमा एकै समयमा कार्यक्रम गर्न लाग्दा झडप भएको थियो । झडपमा मारिएका माओबादी माथि फोरम कार्यकर्ताले खुकुरी, गोली र लाठी, बासको फराठा प्रहार गरी निर्मम तरिकाले हत्या गराएको माओबादीले आरोप लगाउँदै आएको छ । दुबैतर्फ सभा हुन नपाउँदै झडप भएको थियो । फोरमले सभा सुरु गर्न आफ्ना नेता कार्यकर्तालाइ मञ्चमा बोलाईरहेको थियो । माओबादीका वाईसिएलहरु गौर बजार परिक्रमा गर्दै थिए । केही बेर पछि वाईसिएल मैदान प्रवेश ग¥र्यो । आफु तिरको मञ्च भत्किएको देखे पछि माओबादी आक्रामण शैलीमा प्रस्तुत भयो । र झडपको अवस्था सिर्जना भयो । दुबै तर्फबाट गोली हानाहान पछि झडप भयो । झडपको क्रममा ५ महिलासहित २७ माओबादीको मृत्यु भएको थियो ।

 


प्रकाशित मिति: सोमबार, २ भदौ, २०८२, २३:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९