काठमाडौ, । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएको खण्डमा उडानको अनुमति नदिने नियम आजदेखि लागू गरेको छ ।
जहाज प्रस्थान गर्ने विमानस्थल तथा पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’ को मौसम सफा नभएसम्म जहाजलाई उडान अनुमति नदिइने नियम आजदेखि लागू गरिएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसम सफा नभएका खण्डमा जहाजलाई उडानको अनुमति नदिने नियम बनाउन क्यानलाई सोमबार निर्देशन दिएका थिए । क्यानले उडानका लागि बनाएको नयाँ नियम कार्यान्वयनमा समन्वय हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने आन्तरिक उडानमा केही समय ढिलाइ भएको थियो ।
उडान सुरक्षालाई ध्यानमा राखेर लागू गरिएको निर्णय कार्यान्वयनमा समन्वय हुन नसक्दा बिहान कम्तीमा पनि दुई घण्टा उडान ढिलो भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
बिहानको मौसम सफा भए पनि ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमति नदिँदा दुई घण्टाजति रोकिएको थियो । मौसमबारे जल तथा मौसम विज्ञान विभागले रिपोर्ट नदिएको भन्दै क्यानले उडानका लागि अनुमति नदिँदा उडान दुई घण्टा रोकिएको बताइएको छ ।
प्रतिकूल मौसमका कारण देशमा पटकपटक हवाई दुर्घटना हुँदै आएको निष्कर्ष निकाल्दै क्यानले मौसम सफा नभएका खण्डमा जहाजलाई उडानको अनुमति नदिने निर्णय गरेको हो । महानिर्देशक ई अधिकारीका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआरं) रहेको रुट र जहाजको हकमा लागू हुने भएको छ ।
उक्त निर्णयपछि अब जहाज उड्ने रुटको मौसमसमेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने र यसको कडाइका साथ पालना गरिने क्यानले जनाएको छ । क्यानका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई आधार मानिनेछ ।
प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा तारा एयरको जहाज दुर्घटनामा परेको क्यानको प्रारम्भिक अनुमान रहेको छ । उक्त जहाज दुर्घटनामा परी चालक दलका सदस्य तीन जना, १३ नेपाली, चार भारतीय तथा दुई जर्मन नागरिकसहित २२ जनाको मृत्यु भएको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९