काठमाडौं, २८ चैत ।
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाईपछि पूर्वघोषित आन्दोलनको मोडालिटी फेरबदल गरेको छ ।
मुद्दा चलाउनुपर्ने आधार र प्रमाण फेला नपरेपछि सर्बोच्च अदालतको आदेश अनुसार विहिबार जिल्ला अदालतबाट हाजिरी जमानीमा ओली रिहा भएका थिए । उनी अहिले टिचिङ अस्पतालमा उपचाररत छन । रिहापछि एमालेले आन्दोलनको मोडालिटी पनि बदलेको गरेको हो ।
त्यसक्रममा शनिवारको पालिकास्तरीय बिरोध प्रदर्शनलाई एमालेले चुनावी समीक्षा बैठक, भेला र प्रशिक्षण कार्यक्रममा रुपान्तरण गर्यो ।
वागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अध्यक्ष ओलीको रिहाई भइसकेका कारण विकसित घटनाक्रमलाई आधार मानेर बिरोध प्रदर्शनलाई समीक्षा बैठक, भेला, प्रशिक्षण जस्ता कार्यक्रममा रुपान्तरण गरेर जनपरिचालन गरिएको जानकारी दिए ।
‘हामीले पक्राउअघि र रिहापछिको विकसित घटनाक्रमलाई हेरेर फरक मोडालिटीबाट जनपरिचानलको कार्यक्रम गरिरहेका छौं, त्यसअनुसार नै शनिवारको कार्यक्रम पनि सम्पन्न भयो ।’ ढुंगेलले भने ।
अध्यक्षको रिहाईका लागि आन्दोलित एमालेको १७ चैतको बैठकले ३ वैशाखमा वडास्तरीय बिरोध प्रदर्शन र ७ वैशाखमा प्रदेशस्तरीय बिरोध प्रदर्शन र १२ वैशाखमा काठमाडौंमा वृहत्त बिरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
एमालेले विकसित घटनाक्रमको सवालमा सबै राजनीतिक दल र नागरिक समाजसँग सहकार्य गर्दै अघि बढ्ने नीति पनि लिएको छ । त्यसका लागि एमालेले उनीहरुसँग वृहत्त सम्बाद कार्यक्रम पनि आयोजना गर्दैछ ।
