काठमाडौं, ३ जेठ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन् । उनले मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्नु पर्ने बताएकी छन् ।
उनले जेठ ३ गते, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, मुलुकको सामाजिक–आर्थिक रूपान्तरणको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रणेता तथा प्रखर राष्ट्रवादी जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा दुवै नेताहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भनेकी छन्, ‘मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको सिँढी चढाउन अभूतपूर्व योगदान गर्नुभएको थियो ।’
उनले जननेता भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद (जबज)’ले लोकतान्त्रिक माध्यममार्फत मुलुकमा सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको बताइन् ।
‘विगतका उपलब्धिहरूसँगै वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राख्दै हामी अझ जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ,’ उनले भनिन्, ‘अहिले देखिएका चुनौतीहरूको सामना गर्न महत्वपूर्ण शर्त सुदृढ सांगठानिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य छ ।’ उनले जनअपेक्षा, सुधारप्रतिको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनता बीचको सम्बन्ध थप मजबुत बनाउन आवश्यक भएको बताएकी छन् ।
उनले सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गरिनु पर्ने बताएकी छन् ।
