गोविन्दप्रसाद दुलालद्वारा लिखित ‘आनन्दप्रसाद पोखरेलः विचार, संघर्ष र नेतृत्व’ नामक व्यक्तिको राजनीतिक जीवनीमा आधारित पुस्तक १८ असोजमा पुर्ब राष्ट्रपति बिद्या भण्डारीले लोर्कापण गर्नुभयो । लोकार्पित यो पुस्तक एक व्यक्तिको जीवन र राजनीतिक यात्रामार्फत एउटा पुस्ताले भोगेको समय, गरेको संघर्ष, निर्माण गरेको संगठन, बोकेको विचार र समाज बदल्ने सपनालाई बुझ्ने महत्वपूर्ण दस्तावेज बनेको छ ।
राजनीतिक व्यक्तिको जीवनी लेख्नु भनेको उसका पद, जिम्मेवारी र उपलब्धिहरूको सूची बनाउनु मात्र होइन, उसको व्यक्तित्व निर्माण गर्ने परिवार, समाज, शिक्षा, गुरु, साथी, अभाव, संघर्ष, सफलता, असफलता र समयसँगको अन्तक्र्रियालाई पनि बुझ्नु हो । यही अर्थमा यस पुस्तकको मूल शक्ति आनन्दप्रसाद पोखरेललाई राजनीतिक नेताका रूपमा प्रस्तुत गर्नुमा छैन, संघर्षले बनाएको मानिसको बिषयले जगाएको चेतना र अनुभवले परिपक्व बनाएको राजनीतिक व्यक्तित्वका रूपमा प्रस्तुत गर्नुमा छ ।
विचारको पहिलो झिल्को
पोखरेलको राजनीतिक चेतनाको सुरुवात कुनै ठूलो राजनीतिक मञ्चबाट भएको थिएन । गाउँको सामान्य जीवन, सीमित शैक्षिक अवसर, सामाजिक असमानता र अभावबीच हुर्किएको एउटा बालकमा देखिएको प्रश्न गर्ने स्वभाव नै पछि राजनीतिक चेतनाको आधार बन्यो ।
कक्षा पाँचमा पढ्दाको एउटा सामान्य विद्यालयीय घटनामा उनले अन्याय वा असहजतामाथि प्रश्न उठाएको प्रसङ्ग पुस्तकमा आउँछ। त्यो प्रश्न एउटा बालकको सामान्य जिज्ञासा मात्र थिएन; त्यसमा पछि विकसित हुने विद्रोही चेतनाको पहिलो झिल्को देखिन्थ्यो । त्यही प्रश्न गर्ने स्वभाव पछि विद्यार्थी राजनीतिमा पुग्यो, जनआन्दोलनसँग जोडियो, कम्युनिस्ट संगठन निर्माणको यात्रामा प्रवेश ग¥यो र अन्ततः राष्ट्रिय राजनीतिक जिम्मेवारीसम्म फैलियो । त्यसैले पोखरेलको राजनीतिक जीवनलाई पद र जिम्मेवारीको क्रमबाट मात्र बुझ्न सकिँदैन । यो प्रश्नबाट चेतनातर्फ, चेतनाबाट संघर्षतर्फ, संघर्षबाट संगठनतर्फ र संगठनबाट सामाजिक परिवर्तनको राजनीतिक यात्रातर्फ गएको क्रम हो ।
नेपालको कम्युनिस्ट आन्दोलन अनेक धारामा विभाजित रहेको समयमा संगठित, अनुशासित र दीर्घकालीन राजनीतिक शक्ति निर्माण गर्नु ऐतिहासिक आवश्यकता थियो । दोलखामा नेकपा (माले) को संगठन निर्माण पनि यही आवश्यकताबाट अघि बढेको पुस्तकले देखाउँछ। त्यो कुनै एक व्यक्तिको एकल उपलब्धि थिएन । यो सामूहिक नेतृत्व, साझा सपना र हजारौँ कार्यकर्ताको त्यागबाट बनेको एउटा जीवित आन्दोलन थियो।त्यसैले यस पुस्तकले एउटा गहिरो राजनीतिक सत्यतर्फ संकेत गर्छ नेता इतिहासका एक्ला निर्माता होइनन , नेता, संगठन, कार्यकर्ता र समाजको परिवर्तनशील चेतनाको अन्तक्र्रियाले इतिहास निर्माण हुन्छ ।
संगठनः व्यक्तिभन्दा ठूलो सामूहिक जिम्मेवारी

पोखरेलको जीवन यात्राको अर्को महत्त्वपूर्ण पाटो संगठन निर्माण हो। दोलखाको वाम आन्दोलनको विकासलाई पुस्तकले व्यक्तिगत सफलताको कथाका रूपमा होइन, सामूहिक प्रयत्नको इतिहासका रूपमा प्रस्तुत गरेको छ।
कम्युनिस्ट आन्दोलनमा संगठन केवल चुनाव जित्ने संयन्त्र होइन। संगठन विचारलाई जनतासम्म पु¥याउने, कार्यकर्तालाई तयार गर्ने, जनताको पीडालाई राजनीतिक एजेन्डामा बदल्ने र परिवर्तनको शक्ति निर्माण गर्ने माध्यम हो।यस अर्थमा पोखरेलको जीवनबाट संगठनबारे निस्कने शिक्षा स्पष्ट छ , संगठन पद बाँड्ने संरचना होइन , विचारलाई व्यवहारमा बदल्ने सामूहिक शक्ति हो भन्ने कुराले प्रष्ट पार्छ ।
आजको राजनीतिमा व्यक्ति, प्रचार र पदलाई संगठनभन्दा माथि राख्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा यो जीवन यात्रा झन् अर्थपूर्ण हुन्छ। व्यक्ति आउँछन्, जान्छन् , तर विचार, संगठन र जनताबीचको सम्बन्ध बलियो रह्यो भने आन्दोलन टिक्छ। पोखरेलको राजनीतिक यात्राको एउटा गहिरो अर्थ यही हो।
कृर्षि क्याम्पस रामपुरको संघर्ष र जीवनले सिकाएको यथार्थ
कुनै व्यक्तिको विचार कहाँबाट आयो भनेर बुझ्न उसको जीवनको प्रारम्भिक भूगोल र अनुभवतर्फ फर्किनुपर्छ। पोखरेलको हजुर बा को मार्ग दर्शन जीवनमा रामपुरको संघर्ष, गाउँको परिवेश, अभाव, शिक्षाका कठिनाइ र सामान्य जनजीवनसँगको निकट सम्बन्धले उनको चेतनालाई व्यवहारिक धरातल दिएको देखिन्छ।
जीवनले सिकाएको यथार्थ किताबमा पढिने सिद्धान्तभन्दा फरक हुन्छ। अभाव आफैँले भोगेपछि अभावको अर्थ बुझिन्छ , अवसर नपाउँदा अवसरको मूल्य थाहा हुन्छ , अन्याय देखेपछि न्यायको आवश्यकता अनुभूत हुन्छ। पोखरेलको राजनीतिक चेतनामा पनि यही अनुभवजन्य यथार्थले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।
त्यसैले ‘जीवनले सिकाएको यथार्थ’ यस पुस्तकको एउटा महत्त्वपूर्ण अन्तर्धारा हो। यो यथार्थ कुनै दार्शनिक भाषणबाट आएको होइन , आफ्नै जीवनका सुख–दुःख, अभाव, संघर्ष, हार–जित र सामाजिक अनुभवबाट निस्किएको हो।यही कारणले उनको विकास–दृष्टि पनि केवल सडक, भवन वा बजेटमा सीमित देखिँदैन। जलविद्युत्, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, पूर्वाधार, रोजगारी र सुशासनलाई परस्पर जोडेर हेर्ने उनको दृष्टिकोण समग्र विकासको अवधारणामा आधारित देखिन्छ।
२०५१ को निर्वाचनः हारभित्रको एउटा फरक विजय
पोखरेलको राजनीतिक जीवनलाई बुझ्न २०५१ सालको प्रतिनिधिसभा निर्वाचनको एउटा प्रसङ्ग विशेष अर्थपूर्ण छ।
दोलखाको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचन लड्दा उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङ थिए। स्थानीय राजनीतिक प्रतिस्पर्धा थियो। दोलखा बामबर्चस्व थियो । कांग्रेस पक्ष र त्यससँग आबद्ध कार्यकर्ताहरूले आफु कमजोर भएको महसुस गरि तत्कालीन छ वटा गाउँ विकास समितिमा मत प्रभावित करिब नौ हजार मत आफ्नो पक्षमा पार्दा पनि पोखरेल केवल ७३४ मतको अन्तरले पराजित भए।सामान्य राजनीतिक भाषामा हेर्दा त्यो हार थियो।
तर जीवनको लामो यात्रापछि पछाडि फर्केर हेर्दा पोखरेलले त्यसलाई केवल पराजयका रूपमा हेरेनन्। त्यागि नेता भीमबहादुर तामाङ त्यसपछिका निर्वाचनमा फेरि विजयी हुन सकेनन्। पोखरेलको आफ्नै मूल्याङ्कनमा, त्यस निर्वाचनमा तामाङ विजय गराएर ईतिहासको सम्मान भएको रुपमा पुस्तकमा चर्चा गरेको छन । राजनीतिक प्रतिस्पर्धामा आफूलाई हाराईय पनि पनि एक इमानदार र संघर्षशील राजनीतिक व्यक्तित्वले विजय पाएकोमा आफूलाई खुशी लागेको उनको मानवीय निष्कर्ष थियो।यो प्रसङ्गको महत्त्व चुनावी अंकगणितमा मात्र छैन।
राजनीतिक प्रतिद्वन्द्वीलाई हराउनुपर्ने मानिसका रूपमा मात्र होइन, फरक विचारको सहयात्री र सार्वजनिक जीवनमा योगदान गरेको व्यक्तिका रूपमा हेर्न सक्ने संस्कार ऊनमा देखिन्छ।
राजनीतिमा जित र हार क्षणिक हुन्छन । तर प्रतिद्वन्द्वीप्रतिको सम्मान र राजनीतिक उदारता दीर्घकालीन हुन्छ। यही ठाउँमा यो प्रसङ्ग पोखरेलको व्यक्तित्वको एउटा फरक आयाम बनेर आउँछ।
हार, सफलता र आत्मबोध
जीवनको अर्थ केवल जितेका मात्र होईन , प्राप्त गरेका पद र पूरा भएका जिम्मेवारीबाट निर्धारण हुँदैन। कतिपय हारले मानिसलाई आफू र समाजबारे जितभन्दा धेरै बिषय सिकाउँछ ।
पोखरेलको जीवनमा पनि निर्वाचनका हार छन्, राजनीतिक उतारचढाव छन्, अपेक्षा पूरा नभएका क्षण छन् र आफ्नै यात्रामाथि फर्केर हेर्नुपर्ने अवस्था छन्। यही कारणले पुस्तकको महत्त्वपूर्ण पक्ष उहाँले आफ्नो जीवनलाई केवल उपलब्धिको सूची बनाएर प्रस्तुत नगर्नु हो।पुस्तकमा उहाँ स्वयंले आफ्नो जीवनका यथार्थ पक्ष, सीमितता, कमजोरी, अनुभव र सिकाइलाई आलोचनात्मक ढङ्गले हेर्ने प्रयास गर्नुभएको छ। यही आत्मसमीक्षाको साहसले पुस्तकलाई प्रशंसागाथाबाट जीवन–दस्तावेजतर्फ लैजान्छ।
कुनै व्यक्तिको जीवनीमा गल्ती, कमजोरी र असफलता लुकाइए भने त्यो जीवनको पूर्ण चित्र हुँदैन। तर आफ्नै यात्रातर्फ फर्केर हेर्दै ‘यहाँ के भयो? किन भयो? त्यसबाट के सिकियो?’ भनेर प्रश्न गर्न सक्नु राजनीतिक परिपक्वताको परिचय हो।
यस दृष्टिले पुस्तकमा रहेको यथार्थवादी र आलोचनात्मक अध्यायलाई विशेष महत्त्वका साथ पढ्नुपर्छ। त्यहाँ पोखरेल आफूलाई केवल सफल पात्रका रूपमा होइन, समयसँग जुध्दै, सिक्दै, बदलिँदै गएको एउटा मानिसका रूपमा प्रस्तुत गर्छन्।यही आत्मसमीक्षाले पुस्तकको वैचारिक विश्वसनीयता बढाउँछ।
व्यक्तिगत जीवनः नेताभित्रको मानिस
राजनीतिक जीवनीको सबैभन्दा कठिन काम सार्वजनिक व्यक्तित्वभित्र लुकेको निजी मानिसलाई देखाउनु हो। यस पुस्तकको विशेषता यही ठाउँमा पनि देखिन्छ।
राजनीतिक संघर्षका क्रममा गिरफ्तारी, भूमिगत जीवन, प्रहरी दमन र अनिश्चितताले पोखरेललाई मात्र होइन, उनको परिवारलाई पनि प्रभावित ग¥यो। घरमा समाचार नआउँदा परिवारले भोगेको चिन्ता, पत्नीले सहनुपरेको पीडा र आशा जोगाएर बस्नुपरेको अवस्था पुस्तकमा मार्मिक रूपमा आएको छ।यसले एउटा स्वाभाविक प्रश्न उठाउँछ , राजनीतिक संघर्षको मूल्य नेता एक्लैले प्राप्त हुदैन यसमा ऊसको परिवारले पनि तिर्छ ।
इतिहासले जेल जाने मानिसको नाम सम्झन्छ , भूमिगत हुने नेताको नाम लेख्छ , सडकमा उत्रने कार्यकर्ताको चर्चा गर्छ। तर घरमा बसेर चिन्ता, अभाव र अनिश्चितता सहने परिवारको जीबन यात्र प्रायः ओझेलमा पर्छ। यो पुस्तकले त्यस अदृश्य पक्षलाई पनि देखाउने प्रयास गरेको छ।
गुरु, हजुरबुबा र संस्कारको जग

पोखरेलको व्यक्तित्व निर्माणमा शिक्षा, गुरु र पारिवारिक संस्कारको भूमिका पनि महत्त्वपूर्ण छ।गाउँको सामान्य विद्यालय, सीमित शैक्षिक साधन, शिक्षकको माया र अनुशासनले बाल्यकालको चेतना निर्माण ग¥यो। विद्यालय पुग्न लामो बाटो हिँड्नुपर्ने, सामान्य कापी–कलमबाट पढ्नुपर्ने र कहिलेकाहीँ शिक्षकले काँधमै बोकेर विद्यालय पु¥याउनुपर्ने प्रसङ्गले त्यो समयको ग्रामीण शिक्षाको जीवन्त चित्र दिन्छ।
हजुरबुबा तथा परिवारका अग्रजबाट प्राप्त संस्कारले पनि उहाँको व्यक्तित्वमा गहिरो प्रभाव पारेको देखिन्छ। तङ्ना पोखरेल हजुरबुबासँग जोडिएका स्मृति हुन् वा अन्य अग्रज र गुरुहरूबाट प्राप्त प्रेरणा—यी प्रसङ्गले एउटा ठूलो सत्य देखाउँछन् ः मानिसको ठूलो यात्रा धेरैपटक साना सम्बन्ध, साना संस्कार र साना प्रेरणाबाट सुरु हुन्छ।
गुरुप्रतिको ऋण सम्झिएर जीवनमा स्थापित भएपछि आफ्नै खर्चमा कपडा किनेर गुरुका हातमा सम्मानपूर्वक दिनुजस्ता प्रसङ्गले उहाँको व्यक्तित्वमा रहेको कृतज्ञता र मानवीय पक्षलाई उजागर गर्छ।यस अर्थमा पुस्तकले शिक्षा प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया मात्र होइन, मानिस बनाउने संस्कार र जीवनको दिशा दिने शक्ति हो भन्ने कुरा पनि स्थापित गर्छ।
साहित्यिक दृष्टिलेः जीवनीभन्दा परको यात्रा
‘आनन्दप्रसाद पोखरेल ः विचार, संघर्ष र नेतृत्व’को साहित्यिक विशेषता यसको मिश्रित संरचनामा छ। यो शुद्ध आत्मकथा होइन, परम्परागत जीवनी मात्र पनि होइन। यसमा संवाद, संस्मरण, राजनीतिक इतिहास, व्यक्तिगत अनुभव, सामाजिक परिवेश र दस्तावेजी सामग्री एकै ठाउँमा भेटिन्छन्।गोविन्दप्रसाद दुलालले लामो संवाद र अन्तर्वार्तामार्फत जीवनका विभिन्न तहलाई बाहिर ल्याउने प्रयास गरेका छन्। त्यसैले पुस्तक पढ्दा कतै इतिहास पढिरहेको अनुभूति हुन्छ, कतै संस्मरण, कतै राजनीतिक विश्लेषण र कतै आत्मीय पारिवारिक कथा।
यसको साहित्यिक सौन्दर्य पनि यही विविधतामा छ—ठूला राजनीतिक घटनालाई साना मानवीय प्रसङ्गसँग जोड्नु।
एकातिर आन्दोलन, संगठन, निर्वाचन र राज्यसत्ताको इतिहास छ; अर्कोतिर गुरुको काँध, परिवारको चिन्ता, जेलको अँध्यारो, गाउँको अभाव र राजनीतिक प्रतिद्वन्द्वीप्रतिको सम्मानजस्ता मानवीय प्रसङ्ग छन्। यी दुई तहको संगमले पुस्तकलाई केवल राजनीतिक जीवनी बन्न दिँदैन।
संघर्षबाट निर्माण भएको विकास–दृष्टि
पोखरेलको राजनीतिक जीवनको अर्को विशेष पक्ष विकाससम्बन्धी उनको दृष्टिकोण हो। दोलखालाई उनले केवल आफ्नो निर्वाचन क्षेत्रका रूपमा होइन, नेपालको आर्थिक सम्भावनाको एउटा महत्त्वपूर्ण आधारका रूपमा हेरेको देखिन्छ।जलविद्युत्लाई आर्थिक रूपान्तरणको आधार मान्दै तमाकोशी, खिम्ती, रोल्वालिङ र भोटेकोशीलगायतका नदी–प्रणालीलाई विकाससँग जोड्नु, विद्युत् उत्पादनबाट उद्योग, रोजगारी र स्थानीय उत्पादन बढाउने सोच राख्नु तथा त्यसबाट सिर्जित आम्दानीलाई शिक्षा, स्वास्थ्य र पूर्वाधारमा पुनःलगानी गर्ने दृष्टिकोण—यो टुक्रे विकासको सोच होइन।
पर्यटनलाई दोलखाको अर्को आर्थिक मेरुदण्डका रूपमा हेर्नु र हिमाल, संस्कृति, धर्म, साहसिक पर्यटन तथा स्थानीय अर्थतन्त्रलाई एउटै विकास–चक्रमा जोड्नु पनि उनको समग्र सोचको परिचायक हो।यहाँ फेरि जीवनले सिकाएको यथार्थ र राजनीतिक विचारबीचको सम्बन्ध देखिन्छ। अभाव देखेको मानिसले विकासको अर्थ केवल तथ्याङ्कमा खोज्दैन; मानिसको जीवनमा खोज्छ।
विचार, आत्मसमीक्षा र इतिहाससँग संवाद
यस पुस्तकको सबैभन्दा गम्भीर वैचारिक पक्ष शायद यही हो । यसले एउटा व्यक्तिको जीवनलाई अन्तिम सत्यका रूपमा प्रस्तुत गर्दैन; जीवन र विचारलाई समयसँगको संवादका रूपमा प्रस्तुत गर्छ।
पोखरेलको आफ्नै अनुभवमा पनि राजनीतिक जीवनका दशकहरूले उनलाई धेरै कुरा सिकाए—आन्दोलनको सफलता र असफलता, संगठन निर्माण र त्यसका अन्तर्विरोध, सत्ता र सिद्धान्तबीचको सम्बन्ध, राजनीतिक प्रतिस्पर्धा र सहकार्य, विकासका सपना र त्यसका कठिनाइ।पुस्तकमा व्यक्त भएको एउटा महत्त्वपूर्ण वैचारिक आग्रह छ—कम्युनिस्ट आन्दोलन व्यक्तिपूजा, मौनता र चाकडीको संस्कृतिमा होइन; विचार, सत्य, आत्मसमीक्षा, जनउत्तरदायित्व र नैतिक नेतृत्वमा जीवित रहन्छ।
जहाँ प्रश्न गर्न डराइन्छ, त्यहाँ विचार कमजोर हुन्छ। जहाँ आलोचनालाई अपराध ठानिन्छ, त्यहाँ संगठनभित्रबाटै कमजोरी बढ्छ। र जहाँ व्यक्तिलाई विचारभन्दा माथि राखिन्छ, त्यहाँ आन्दोलन आफ्नो लक्ष्यबाट टाढिन सक्छ। यस अर्थमा पोखरेलको जीवनकथा आजको कम्युनिस्ट आन्दोलनका लागि पनि एउटा ऐना हो।
एउटा मानिस, एउटा पुस्ता र एउटा समय
‘आनन्दप्रसाद पोखरेल ः विचार, संघर्ष र नेतृत्व’को मूल महत्त्व यही हो कि यसले एउटा व्यक्तिको जीवनलाई एउटा समयको ऐनामा राखेको छ।रामपुरको संघर्षदेखि राजनीतिक संगठन निर्माणसम्म, बाल्यकालको प्रश्न गर्ने स्वभावदेखि राष्ट्रिय राजनीतिक जिम्मेवारीसम्म, निर्वाचनको हारदेखि सार्वजनिक जीवनको सफलतासम्म, परिवारले भोगेको पीडादेखि राजनीतिक विचारको परिपक्वतासम्म, गुरुको संस्कारदेखि विकासको व्यापक दृष्टिसम्म यी सबै प्रसङ्ग मिलेर एउटा व्यक्तित्व निर्माणको कथा बनेका छन्।
यो यात्रा जितको मात्र होइन , हारबाट सिकेको जीबन पनि हो।यो उपलब्धिको मात्र कथा होइन; आत्मसमीक्षाको कथा पनि हो।यो व्यक्तिको मात्र कथा होइन; संगठन र आन्दोलनको कथा पनि हो।
यो राजनीतिका ठूला घटनाको मात्र कथा होइन; त्यसको पछाडि बाँचेका सामान्य मानिसहरूको कथा पनि हो।
२०५१ को एउटा निर्वाचनमा ७३४ मतले भएको हार, राजनीतिक प्रतिद्वन्द्वी भीमबहादुर तामाङप्रतिको सम्मान, जीवनका संघर्षबाट जन्मिएको यथार्थबोध र आफ्नै कमजोरीतर्फ फर्केर हेर्ने आत्मसमीक्षा—यी सबैले पोखरेललाई ‘निर्विवाद नायक’ होइन, समयसँग जुध्दै बनेको एउटा वास्तविक मानिसका रूपमा देखाउँछन्। र सायद जीवनीको सबैभन्दा ठूलो शक्ति पनि यही हो।
मानिस पदले मात्र ठूलो हुँदैन।
उसले भोगेको जीवन, बोकेको विचार, गरेको संघर्ष, स्वीकार गरेको कमजोरी, सिकेको पाठ र समाजका लागि छोडेको योगदानले उसको वास्तविक उचाइ निर्धारण गर्छ।यो गाउँबाट उठेर राजनीतिक चेतना बोकेको एउटा पुस्ताको कथा हो। यो अभावबाट अवसर खोज्ने पुस्ताको कथा हो। यो विचारलाई संगठनमा, संगठनलाई आन्दोलनमा र आन्दोलनलाई सामाजिक परिवर्तनमा रूपान्तरण गर्न खोजिएको यात्राको हो।
यो कृतिमा कमि कमजोरी पनि छन । सम्पादनमा केही त्रुटि छन , अन्तरवार्ता को आधारमा तेस्र न्यारेशनमा तयार पारिएको कृति आत्माको स्पन्नदन आऊदैन तर आनन्द पोखरेलको यथार्तता प्रष्ट प्रतिबिम्बित भएको छ ।
अन्ततः, यो एक व्यक्तिको जीवनीभित्र लेखिएको एउटा समयको इतिहास हो—र एउटा समयको इतिहासभित्र सुरक्षित गरिएको एउटा मानिसको जीवन–सत्य पनि हो ।

