काठमाडौं, २ कात्तिक ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छिन् । एमालेको वरिष्ठ नेता भएपछि चीन सरकारको निम्तोमा केही दिनभित्रै चीन जाने भएकी हुन ।
‘केही दिनमा चीन भ्रमणमा जाँदै हुनुहुन्छ त्यसको जानकारी सरकारलाई पनि छ’, सरकारी उच्च स्रोचले भन्यो । उनको चीन भ्रमणको प्रयोजन के हो भन्नेमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । तर चिनियाँ सरकारकै निमन्त्रणा रहेकोले एमालेमा उनको पुनरागमनलाई चीनले पनि उच्च महत्व दिएको अर्थमा भ्रमणलाई चासोका साथ लिइएको छ ।
गत असोज ८ मा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा मनोनय गरेपछि वामपन्थीवृत्तमा एक प्रकारको उत्साह छाइरहेको र सबैलाई एउटै थलोमा ल्याएर अभिवाकत्व दिने एक मात्र उपयुक्त पात्र पुर्वराष्ट्रपती भण्डारीलाई नै लिइएको छ ।
यस्तो बेलामा उनी चीन भ्रमणमा जानुलाई राजनीतिक रुपमा अर्थपूर्ण रहेको छ । भण्डारीले देशभक्त, राष्ट्रवादी प्रगतिशील, वामपन्थी शक्तिहरुलाई मात्रै होइन, लोकतान्त्रिक शक्तिलाई पनि मिलाएर नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्ने र भु-राजनीतिक शक्तिसन्तुलन मिलाउन सक्ने उपयुक्त पात्रका रुपमा चर्चा गरिदै आएको छ ।
असोज ८ गते एमालेको पार्टी सचिवालयको बैठकले भण्डारीले वरिष्ठ नेता बनाउने निर्णय गरेपछि त्यसपछिको केन्द्रीय कमिटीको बैठकले उनको नाम अनुमोदन गरेको थियो ।
एमालेले गत फागुनको चुनावमा हारेपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरेको थियो । त्यो अघि एमालेले राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको थियो ।
सात वर्ष भन्दा बढी राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुनः पार्टी राजनीतिमै आउन चाहेकी थिइन् । तर पार्टीभित्रको शक्ति सन्तुलनमा उनको निर्णायक भूमिका हुने देखिएपछि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले उनको पुनः राजनीतिक सक्रियतालाई रोकेका थिए ।

पार्टीभित्रको सन्तुलनमा पुनः बिग्रिएपछि अध्यक्ष ओली भण्डारीलाई पार्टीमा सक्रिय हुने बाटो खोल्न तयार भएका थिए ।
भण्डारीले गत ११ औं महाधिवेशन अघि नै पार्टीमा सक्रिय भएर नेतृत्वमा आउने योजना बनाएकी थिइन् । तर सदस्यता नै नभएपछि भण्डारी सक्रिय हुन पाइनन् । अब अहिले एमालेले गर्ने निर्णयले उनलाई पार्टीमा सक्रिय हुन सहज बनाएको छ । भण्डारी यसअघि एमालेको उपाध्यक्ष भइसकेकी व्यक्ति हुन् ।

