काठमाडौं, ३ जेठ । पार्टी कार्यालय मदननगर बल्खुमा बन्नुपर्ने धारणा राख्दै आएकी विद्या भण्डारीले आइतबार अर्थपूर्ण उपस्थिति जनाएकी छिन । मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको बल्खुस्थित पुरानो पार्टी कार्यालय पुगेर अर्थपूर्ण सन्देश दिएकी छिन् । स्मृति दिवसका दिन मदनपत्नीसमेत रहेकी भण्डारीले सिद्धान्त र व्यवहारलाई सन्तुलनमा राखेर एमाले अगाडि बढ्नुपर्ने बताएकी हुन् ।
‘विगतका उपलब्धिहरूसँगै वर्तमानका चुनौतीहरूप्रति पनि हामी गम्भीर हुन आवश्यक छ । यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेका छन्,’ लिखित सम्बोधनका उक्रमा उनले भनेकी छिन्, ‘जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो । यदि पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ । त्यसैले हामीले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ ।’

जनताको विश्वास र सामीप्यता नै ठूलो कुरा रहेको उनको भनाइ छ । ‘राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढङ्गले क्रियाशील हुनै पर्दछ,’ उनले भनेकी छिन्, ‘आज मदन–आश्रितको स्मृतिको अवसरमा हामीले आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न प्रेरणा लिनुपर्छ ।’
एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले जनविश्वास कायम गर्न आवश्यक रहेको बताइन् । जसको लागि पार्टीको कार्यालय फेरिनुपर्ने उनको भनाइ छ ।
‘अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्छ,’ भण्डारीले भनेकी छिन्, ‘कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्छ, जनताको दुःख–सुखमा सहभागी हुनुपर्छ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय हनुपर्छ ।’

च्यासलबाट एमालेको केन्द्रीय कार्यालय अब पुनः बल्खुमा बनाउने तयारी भएको छ । यसअघि लामो समय आफ्नै जग्गामा रहेका बल्खु मदननगर नामले परिचित थियो । भण्डारीकै उपस्थितिमा एमालेले बल्खुमा स्मृति दिवसको कार्यक्रम गरेको हो । एमालेमा सक्रिय हुने चाहना राखे पनि नेतृत्वले रोकेपछि उनी सक्रिय भएर पार्टी राजनीतिमा जोडिन पाएकी छैनन् । उनको सदस्यता अझै होल्ड छ । तर आइतबार एमालेले भण्डारीकै प्रमुख आतिथ्यतामा बल्खुमा कार्यक्रम गरेको हो ।
