काठमाडौं ४ जेठ।
विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उनलाई सक्रिय राजनीतिमा फर्काउने औपचारिक प्रक्रिया अघि बढाएको छ।
सोमबार भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो। यससँगै उनी पार्टीको नेतृत्व तहमा पुनः सक्रिय हुने वैधानिक आधार तयार भएको एमाले नेताहरूले बताएका छन्।
बैठकमा महासचिव शंकर पोखरेलले पदाधिकारीहरूको मर्यादाक्रम निर्धारणसहित ११ वटा साङ्गठनिक प्रस्ताव प्रस्तुत गरेका थिए। उपमहासचिव लेखराज भट्टका अनुसार प्रस्तावहरूमा पार्टीको आन्तरिक सुदृढीकरण, संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशासम्बन्धी विषय समेटिएका छन्।
बैठकमा आम निर्वाचनपछि बनेको सरकारको कामकारबाही समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार, र पदाधिकारी एवं सदस्यहरूको कार्यविभाजनसम्बन्धी एजेन्डामाथि पनि छलफल भएको थियो।
त्यस्तै, संविधान संशोधनसम्बन्धी सुझाव तयार गर्न ‘संविधान संशोधन सुझाव कार्यदल’ गठन गर्ने तथा निर्वाचनको विस्तृत समीक्षा गर्न ‘समीक्षा प्रतिवेदन तयारी कार्यदल’ बनाउने प्रस्ताव पनि पेश गरिएको छ।
एमाले केन्द्रीय कार्यालय भवन निर्माणलाई अगाडि बढाउने, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन गर्ने र संगठन विभागमा सदस्य मनोनयन गरी कामलाई तीव्रता दिने विषयमा समेत प्रारम्भिक छलफल भएको बैठकमा जनाइएको छ।
सचिवालय बैठकमा प्रस्तुत सबै एजेन्डामाथि थप विस्तृत छलफल गर्न एमालेले अर्को बैठक जेठ ८ गते बिहान ११:३० बजे बस्ने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिए।
