दोलखा, ३० असोज ।
कांग्रेसको १५ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित अजयबाबु शिवाकोटीलाई गृहजिल्ला दोलखामा एमालेको अगुवाईमा सर्वदलीय स्वागत तथा सम्मान गरिएको छ।
जिल्लाबाट पहिलोपटक ठूलो राष्ट्रिय दलको पदाधिकारीमा निर्वाचित शिवाकोटीलाई एमाले जिल्ला इन्चार्ज तथा पुर्वमन्त्री पार्वत गुरुङसहितको अगुवाइमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले शुक्रबार सदरमुकाम चरिकोटमा बधाई दिए ।
त्यसक्रममा उनीहरुले शिबाकोटीलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरे ।
एमाले दोलखाको आयोजनामा दसैं,तिहार तथा छठ-२०८३ को अवसरमा आयोजित चियापान कार्यक्रममा शिवाकोटीलाई पुर्वमन्त्री तथा एमाले दोलखाका इन्चार्ज गुरुङ, एमाले नेता डबल पाण्डे, शिवप्रसाद भण्डारी, प्रदेशका भौतिक पुर्वाधार मन्त्री भरत केसी, कांग्रेस दोलखाका सभापति बर्मा लामा, रास्वपाबाट निर्बाचित सांसद जगदीश खरेल, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठलगायत विभिन्न दलका अगुवाले बधाई तथा सम्मान व्यक्त गरे ।

दोलखामा फरक दलका नेतालाई पार्टी कार्यलयमै बोलाएर स्वागत तथा सम्मान कार्यक्रम राख्ने असल परम्पराको सुरुवात तत्कालीन एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङले डेढ दशकअघिबाट शुरु गरेका थिए ।
तत्कालीन काङ्ग्रेस सभापति सुशील कोइला दोलखा पुग्दा गुरुङले एमाले जिल्ला पार्टी कार्यालय चरिकोटमा औपचारिक कार्यक्रम नै राखेका थिए । यस पटक भने चाडपर्वको सन्दर्भमा आयोजित कार्यक्रमको सन्दर्भमा शिबाकोटी सम्मानित भएका हुन ।
त्यस्तै, कार्यक्रममा एमाले केन्द्रीय सदस्यमा मनोनित दोलखा जिल्ला समन्वय समितिका पुर्व प्रमुख डबल पाण्डेलाई पनि बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । काङ्ग्रेससहित अरु दलका नेताले पनि पाण्डेलाई शुभकामना दिए ।
गृहजिल्लाबाट राष्ट्रिय राजनीतिको महत्वपूर्ण जिम्मेवारीमा पुगेका शिवाकोटी सकृय पुर्व पत्रकार पनि हुन ।
प्रेस युनियनको पुर्व महासचिव तथा दोलखाली पत्रकार समाज, काठमाडौंका पुर्व सल्लाहकारसमेत रहेका शिबाकोटीको सफलतालाई जिल्लाले साझा सफलताकै रुपमा चित्रण गर्ने प्रयासप्रती उनले खुशी व्यक्त गरेका छन ।
काङ्ग्रेसमा पुस्तान्तरणको अभियानमा सभापती गगन थापालाई लामो समयदेखी अविचल साथ दिदै आएका उनी ०७९ को निर्वाचनमा दोलखाबाट संघीय ससद प्रतिनिधिसभाको उम्मेद्वार पनि थिए ।

सहमहामन्त्रीमा निर्वाचित भएपछि गृहजिल्लामा प्राप्त सर्वदलीय स्वागत र सम्मानसगै शिवाकोटीले जिल्लाबाट पार्टीको मर्यादाक्रमअनुसार नै सर्वमान्य भुमिका खेल्नुपर्ने काङ्रेस बृत्तले अपेक्षा राखेको छ ।
दोलखाबाट राष्ट्रिय राजनीतिमा नयाँ उचाइ हासिल गरेका शिवाकोटीको सफलतालाई जिल्लाको राजनीतिक पहिचान र प्रतिष्ठा जोडिएको दोलखाका नागरिक अगुवाहरुको टिप्पणी छ ।




