रूपन्देही ६ जेठ।
देवीनगर क्रिकेट क्लब (डीसीसी) द्वारा आयोजित “सिटी एक्सप्रेस प्रिजेन्ट्स डीसीसी प्रिमियर लिग–२०८३ (सिजन २)” को अक्सन कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। “एक्सपर्ट एजुकेशनद्वारा पावर्ड”उक्त कार्यक्रम होटल पौवा, योगीकुटीमा आयोजना गरिएको थियो।
कार्यक्रममा सहभागी टोली मालिकहरूले खेलाडी खरिद प्रक्रिया सम्पन्न गरेका थिए। प्रतियोगितामा प्रिन्ट हब किङ्स, एसजिए माभेरिक्स, मेगा राइनोज, एपीएस युनाइटेड तथा सिद्धार्थ रोयल गरी पाँच टोली सहभागी रहेका छन्। प्रत्येक टोलीका लागि एक लाख ५० हजार रुपैयाँ पकेट मनीको व्यवस्था गरिएको क्लबले जनाएको छ।
प्रतियोगिताका खेलहरू २०८३ साल जेठ ९ गतेदेखि देवीनगर रंगशाला मिनी ग्राउण्डमा सञ्चालन हुनेछन्। प्रतियोगिताअन्तर्गत प्रत्येक टोलीले अन्य सबै टोलीसँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्। प्राप्त अंकका आधारमा उत्कृष्ट टोलीहरू सेमिफाइनल चरणमा प्रवेश गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन इड्राइभ नेपाल, बुटवलको फुल्की, नेपाथ्ये कलेज, मञ्जुश्री फाइनान्स, कोडा पल्स ग्लोबल, करेन्ट नुडल्स लगायत विभिन्न संस्था तथा कम्पनीहरूको महत्वपूर्ण सहयोग रहेको थियो।
देवीनगर क्रिकेट क्लबका सचिव गणेश पाण्डेयले कार्यक्रम भव्य तथा सफल रूपमा सम्पन्न भएको जानकारी दिनुभयो।
क्लबका अनुसार देवीनगर क्रिकेट क्लबको स्थापना वि.सं. २०७६ सालमा पाँच सदस्यबाट भएको थियो। हाल क्लबमा ९२ जना सदस्य आबद्ध रहेका छन्। क्लबले क्रिकेट गतिविधि तथा खेल विकासका क्षेत्रमा निरन्तर रूपमा काम गर्दै आइरहेको जनाएको छ।
