स्वच्छता , सरलता, सदाचारिता , इमान्दारिता , चारित्रिक शुद्धता सहितको जनपक्षधरतालाइ आफ्नो जीवन बनाउनेहरुले बनाएको नेकपा एमाले क्रमशः बिग्रेरर ‘बामाले’भएको अवस्थाबाट एमाले बन्ने अवस्थाको शुरुवात हुँदैछ । आफ्नो श्रीमान सहित आफ्नो समेत दुःखले निर्माण गरेको, त्यही पार्टीलाइ वैचारिक सांगठानिक रुपमा सशक्त पार्ने काममा पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नविकरणहुनु र विस्तारै सक्रियता शुरु हुनुले रुपान्तरित एमालेको मार्ग अघि बढेको देखिन्छ । पार्टीभित्र र बाहिर जननेताको विशेषता र उपमा पाईसकेका आफ्नो श्रीमान मदन भण्डारी देशी विदेशी प्रतिक्रियावादीहरुको षड्यन्त्रमा मारिएको दुःख भोगेको , मदन भण्डारीको निधन पछि पार्टीको आग्रहमा आफ्नो इच्छा विपरित राष्ट्रपति हुने दिनसम्म आफुलाई उभ्याएकी विद्या भण्डारी पार्टी पुर्नजागरको दर्वियानमा लागेकी छिन ।
आफ्नो पूर्ण जीवन एमालेको विकासमा लगाएको र राष्ट्रपतीको जिम्मेवारी निभाई सकेपछि फेरी त्यही पार्टीको सशक्तिकरणमा भूमिका खेल्न पुर्व राष्ट्रपतिको रुपमा पाउने सेवा सुविधा समेत त्यागेर सक्रिय हुन खोज्दा सदस्यनै निष्क्रिय पारिएको अवस्थासंग लडदै गर्दा पनि आफ्नो सदस्यता रोक्नेहरु सबैलाइ समेत मिलाएर लाने दृढता सहित संघर्षरत विद्या भण्डारीको सदस्यता सक्रिय गरिनुले अव एमाले आफ्ना सम्पूर्ण कमजोरीहरु सच्याउँदै अगाडी बढने संकेत देखिएको छ । एमाले निर्माणदेखि विकास सम्मका सारथिहरु भन्दा आफ्ना निजि स्वार्थहरुको पूर्तिका लागि आफुलाइ बा भन्ने झुण्डको हो मा हो मिलाउँदा मिलाउँदै धेरै कुरा विग्रिएछ भन्ने महशुस गर्दै स्वयम केपी ओलीको अग्रसरतामा नै विद्या भण्डारीको सदस्यता सक्रिय भैसकेको अवस्थामा अब विगततिर फर्केर यसो र त्यसो भनेर अल्झिने गल्ति एमालेले गर्नु हुँदै हुँदैन । अब यसो वा त्यसो नभनी आफ्नो निर्माण र विकासको कारण बनेका गुणहरु अर्थात इमान , निष्ठा र जनता प्रतिको पूर्ण समर्पणको जगेर्ना गर्दै एमाले आफुलाइ पुनरजागरण गर्न अगाडी बढनु पर्छ । त्यसका लागि एमालेले निम्न काम गर्नुपर्ने आवश्यकता छः
१. निकट विगतमा केपी ओलीबाट भए गरेका कतिपय कमजोरीहरुको कारण दलीय र राज्य सत्ताबाट केहि कामहरुले जनतामा आक्रोश पैदा गराउन भूमिका खेलेको र त्यसले भाद्र २३ र २४ को अवस्था निर्माण गर्नेहरुलाइ आधार दिएको सत्य हो । त्यसबेलाको सरकारको नेतृत्व गर्ने नेताको हैसिएतले केपी ओलीले नैतिक जिम्मेवारी लिनुनै पर्छ तर त्यसो भन्दैमा भाद्र २३ को नरसंहार केपी ओलीको योजना चाहनामा भएको हैन भन्ने सत्य छोप्न मिल्दैन र हुँदैन । त्यसैले कमसेकम एमालेजनले केपी ओलीबाट यथार्थमा भए गरेका कमजोरी प्रति आत्मालोचित हुने वा गराउने काम गर्नु पर्छ तर भाद्र २३ र २४ गतेको घटनालाइ आधार बनाएर केपी ओलीलाइ नरसंहारकारी ठहर गर्ने सरकारी कोशिसको सिंगो एमालेजनले डटेर प्रतिवाद गर्नुपर्छ ।
२. अब पार्टी जे जहाँ छ त्यहाँ बाट उठेर अगाडी बढने भनेपछि कोहि कसैले पनि मलाइ के मिल्छ हैन मैले के त्याग्न सक्छु भनेर आफुले आफैंलाइ सोध्नु पर्ने हुन्छ । सबै भन्दा मुख्य कुरा भनेको के भने अहिलेको अवस्थामा आर्थिक इमानमा अब्बल अनि व्यक्तिगत चरित्रमा सर्वोत्कृष्ट बाहेक अरु नेतृत्वदायी भूमिकामा आउँदा जनता र कार्यकर्ताले त्यसलाइ पचाउने छैनन । त्यसो हुँदा अनेकन काण्ड ( आरोपका लागि आरोपको कुरो हैन तथ्य निकट ) मा जोडिएकाहरुले चाहिं पार्टीको लागि नभए स्वयम आफ्नै लागि पनि जिम्मेवारी बाट टाढा रहिदिनु पर्छ ।
३. पार्टीले अभूतपूर्व र अकल्पनीय धक्का खाएको समयमा पुनर्गठन अनिवार्य छ तर त्यही मौकामा चौका हान्ने सोच सहित आज आफुले कामै नलाग्ने भनेको नेतृत्वको चकारी गर्दै अनेकन अवसर र नियुक्ति पाएकाहरुले देखाई रहेको अग्रसरता वा विगतमा पार्टीलाइ क्लब अनि अध्यक्षलाइ बा भन्दै आफ्नो स्वार्थमा नेतृत्वको वदनाम गर्नेहरुको पनि अव काम छैन । हुन त त्यही बुझेर नै होला अग्रजलाइ मिलाउन , संगै काम गर्नुपर्नेहरुलाइ चलाउन र नयाँमा आशा जगाउन सक्ने पात्र अर्थात विद्या भण्डारीलाइ कमाण्ड सम्हाल्ने गरेर अगाडी बढाईएको छ । जे हुँदा पनि अनेकनका स्वार्थमा फेरी पनि अलमल नहोस भन्नेमा सबै एमालेहरु सतर्क हुनुपर्छ ।
४. अब एमाले अग्रजको मार्गनिर्देशक अभिभावकत्व अनि इमान्दारिता र सरलता सहितको सक्रियता भएकोहरुको अग्रसरतामा पुनरजागरण हुँदै गर्दा त्यसको समायोजन गर्न आवश्यक व्यक्तित्व भएको हिसावले विद्या भण्डारीले नेतृत्व गर्ने स्पष्ट संकेत देखिसकेको अवस्थामा उहाँको सारथि चाहिं इमान्दारिता , योग्यता , क्षमता सहित वैचारिक प्रष्टता भएको रणनीतिकार हुनु पर्छ । त्यस हिसावले हेर्दा अहिले नेकपा एमालेमा इमान्दारिता , सरलता र लोभ लाग्दो सक्रियता सहित विचारमा प्रष्टता भएको पात्र शंकर पोखरेल नै हुनुहुन्छ । खासमा अराजक मानसिकता सहितको लोकप्रियतावाद संग लडनु नै अहिलेको आवश्यकता रहेको सुस्पष्ट बुझेको शंकर पोखरेलको सशक्त साथले विद्या भण्डारीको नेतृत्वमा हुन खोजेको पुनरजागरणलाइ मात्रै हैन समयले मागेको बामपन्थी एकता र बाम लोकतान्त्रिक सहकार्य गर्दै लोकप्रियतावादमा आधारित निर्वाचित तानाशाहीलाइ रोक्न सकिन्छ ।
५.सबै भन्दा महत्वपूर्ण कुरो चाहिं विगत तर्फ फर्केर यो यसको मान्छे अनि त्यो त्यसको मान्छे भन्ने चर्चा गरेर हैन लामो समय देखि कमजोर भएको वा पारिएको कमरेडी व्यवाहारलाइ पुनर्जीवित गर्नु अनिवार्य छ । जवर्जस्त र डर लाग्दो बाह्य प्रहारको सामना आफैंमा फुटेका वा नमिलेकाले गर्न नसक्ने सत्यवोध अनिवार्य छ ।
अत; उल्लेखित बाहेक अन्य के के आवश्यक पर्छ त्यो गर्दै फेरी एक पटक एमालेलाइ जनताको पार्टी बनाउने त्यस पार्टीमा रहेका असल इमान्दार र सदाचारीहरुलाइ सफलता मिलोस । यो एमालेलाइ माया गर्ने गैर एमालेको हार्दिक शुभकामना छ ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
