काठमाडौं, ८ जेठ । नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिरक्षा माओवादीबाट एमालेका आएका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले गर्नुपरेको छ । पछिल्लो पटक ओलीका असली उत्तराधिकारीको रुपमा देखा परेका बादलले ओलीको हरेक विषयमा प्रतिरक्षा गर्दै आएका छन् । शुक्रबारको सचिवालय बैठकमा पनि ओलीको खुलेर प्रतिरक्षा गरेका थिए । ओली आफैलाई पनि ‘लाज’हुनेगरी प्रतिरक्षा गर्दा सचिवालयमा रहेका पदाधिकारीहरु नै हाँसेका थिए । ‘अब ओलीको रक्षा बादलले गर्नुपरेको देख्दा हामीलाई साह्रै नमज्जा लाग्यो’, एक पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार बादलले जेनजी आन्दोलनदेखि अहिलेसम्म सबै अमेरिकी डिपस्टेटको परिणाम भएको भन्दै लामो व्याख्या गरेका थिए । ‘ओलीले सहकर्मीहरुलाई गाली गर्ने, बादल डिपस्टेटको ब्याख्या गर्ने’, एक पदाधिकारीले भने ‘ओलीको रक्षा पनि अहिले आएर पूर्व माओवादीले गर्नु परेको छ ।’
शुक्रबार चार उपाध्यक्ष मध्ये रघुजी पन्त, गोकर्ण बिष्ट, विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङले अब एमाले पुरानै ढर्राले पुरानै दिशामा अघि बढेर चल्न नसक्ने बताएर ओलीको राजिनामा मागेका थिए।चार उपाध्यक्षले पार्टीमा समयानुकूल परिवर्तन नगरे जनताले अर्को निर्वाचनसम्म पनि पर्खिन नसक्ने कुरा उठाए । उनीहरूले पार्टी कति गहिरो संकटमा छ भन्ने लामो फेहरिस्त ओलीसामु सुनाएका थिए ।
उनीहरूले देशका फरक–फरक भूगोलको जानकारी गराउँदै जनताले समयनुकूल पार्टीमा नेतृत्व परिवर्तन, पुस्तान्तरण र रूपान्तरण चाहेकाले त्यसतर्फ गम्भीर समीक्षा गर्दै अगाडि बढ्नुपर्ने मत राखेका थिए । यसअघि अध्यक्ष ओलीको पक्षमा उभिने उपाध्यक्षहरू पौडेल र गुरुङ पनि यस पटक विपक्षमा देखिए । उनीहरू एघारौँ महाधिवेशनमा अन्तिम समयमा ओली समूहमा खुलेर जितेका हुन् ।
एमालेको को एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो साथ दिएका उपाध्यक्ष विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङको कुरा सुनेर ओली छक्क परेका थिए । आफ्ना गुटका भनिएका नेताहरूबाटै ओली बिदा हुनुपर्ने माग उठेपछि ओली छक्क परेको स्रोतको दाबी छ। फागुन २१ गतेको निर्वाचनपछि पहिलोपटक ओली निवास गुण्डुमै बसेको बैठकमा दुई उपाध्यक्षले ओली बिदा हुनुपर्ने माग राखे । विष्णुले दुई कार्यकाल र उमेर हद हटाएको विषयमा पश्चाताप माने । पृथ्वी सुब्बा गुरुङले एमाले कसैको पनि व्यक्तिगत कम्पनी नभएको भन्दै ओलीको राजीनामा मागे ।‘विष्णु कमरेडले उमेर हद लागू गर्नुपर्ने र अध्यक्ष ओलीबाट अब पार्टी नचल्ने कुरा बोल्नुभयो । पृथ्वी कमरेडले पनि एमाले ओलीको पर्सनल कम्पनी नभएकाले अध्यक्ष ओली नै पदमा बसिरहनुपर्ने नभएको भनेपछिक्क पर्नुभएको हो।’, स्रोत भन्छ, ‘विगतमा आफूलाई साथ दिएका नेताहरूले नै आफ्नो साथ छोड्दै गएपछि उहाँ र पृथ्वी कमरेड बीच त सवाल जवाफ नै चल्यो । पृथ्वी कमरेडले प्राइभेट कम्पनी होइन भनेपछि अध्यक्षज्यू अलिक आक्रमक भएर प्रस्तुत हुनुभयो। संकटको बेला साथ नदिने नेताहरूलाई कार्यविभाजनमा पनि प्रतिशोध राख्ने भाषा बोलेपछि पृथ्वी कमरेड र ओली कमरेड बीच सामान्य चर्काचर्की भयो।’
शुक्रबार बोलेका पाँचजना उपाध्यक्षमध्ये बादल मात्रै ओलीको बचाउमा उत्रिने एक्ला उपाध्यक्ष भए । उनले पार्टी र नेतृत्व कठिन मोडमा हुँदा अरु नेताहरूले साथ नदिनु पार्टी हितविपरीत रहेको बताएर बचाउ गरेका थिए । अन्य उपाध्यक्षहरूले अहिलेको नेतृत्वको गम्भीर समीक्षा गर्नुपर्ने बता। तर उपाध्यक्ष बादलले नेतृत्व र पार्टी अप्ठ्यारोमा पर्दा ताली पिट्नेहरूको कमी नभएको उल्लेख गरे । ‘एकजना व्यक्तिको कारण मात्रै पार्टी निर्वाचनमा हारेको होइन । त्यसैले नेतृत्व र पार्टी अप्ठ्यारोमा पर्दा ताली पिट्नेहरू काम नगरौँ । त्यस्तो गर्ने कमी हाम्रो पार्टीमा देखिएन’, उनले भने, ‘अहिलेको परिस्थिति अध्यक्षका कारण मात्रै सिर्जना भएको होइन, यो सबै अमेरिकी साम्राज्यवाद र डिपस्टेटका कारण भएको हो ।’
