काठमाडौं ९ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेल नै रुपान्तरण र पुस्तान्तरणको पक्षमा उभिएका छन् । लामो समयदेखि ओलीको खम्बाको रुपमा देखा परेका महासचिव शंकर पोखरेल ओलीले नेतृत्व छाड्नुपर्ने पक्षमा उभिएका हुन् । दशकौ लामो साथ दिएका पोखरेलले पहिलो पटक खुलेर ओलीको विपक्षमा मत राख्ने साहस गरेका थिए । आजको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित थप पदाधिकारी खुलेका कारण अल्पमतमा परेका छन् । अहिलेसम्म बोलेका नेतामध्ये ओलीको बचाउमा उपाध्यक्ष बादल र सचिव महेश बस्नेतमात्र खुलेका छन् । ‘नेतृत्व परिवर्तन भएन भने हाम्रो राजनीतिक भविष्य मात्र होइन एमालेको राजनीतिक भविष्य पनि समाप्त हुनेछ’, महासचिव पोखरेलले भनेका थिए ।
आज बोलेका पदाधिकारीमध्ये बस्नेतबाहेक सबैले पार्टी यथास्थितिबाट नचल्ने भन्दै निकासका लागि मार्ग प्रशस्त गरेरै अघि बढ्नुपर्ने ओलीलाई सुझाएका छन् । महासचिव शंकर पोखरेलले पनि पार्टी कार्यकर्तालाई ऊर्जा दिन अध्यक्षलाई निकास दिनुस् भनेर आग्रह गरेको एक पदाधिकारीले बताए । महासचिव पोखरेलले नेतृत्वमा छाड्नु पर्ने भनेपछि ओली अप्ठेरोमा परेका छन् ।
भोलि बस्ने बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले कुरा राख्ने छन् । ती मध्येमा राईले मध्यमार्गी बाटो अपनाउन थालिसकेका छन् । शुक्रबारको बैठकमा चार जना उपाध्यक्षहरुले नेतृत्व हस्तान्तरणको पक्षमा मत राखिसकेका छन्।
