काठमाडौं, २९ जेठ ।
नेकपाका सयोजक पुष्पकमल दाहाल”प्रचण्ड” पुत्री गङ्गा दाहालले सरकारले आफुविरुद्द अनावश्यक मिडिया ट्रायल गरेको भन्दै आपत्ती जनाएकी छिन ।
सामाजिक संजालमा शुक्रवार प्रेस नोट लेख्दै उनले आपत्ती जनाएकी हुन । त्यस्तै उनले सरकारको जुनसुकै अनुसन्धान र छानबिनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन ।
सम्पत्ती शुद्धीकरण विभागले छानबिन बढाएपछी गङ्गा फरार भएको जस्ता समाचार विभिन्न माध्यमबाट बाहिर आइरहेकै बेला उनको खण्डन आएको हो ।
उनले लेखेकी छिन :
विगत केही दिनदेखि म र मेरो परिवारविरुद्ध योजनाबद्ध रूपमा चलाइएको “मिडिया ट्रायल” प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
नामै नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टहरूबाट फैलाइएका आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण दुष्प्रचारलाई म पूर्ण रूपमा खारेज गर्दछु ।
राजनीतिक पूर्वाग्रह राखेर सामाजिक सञ्जालको दुरुपयोग गरी बारम्बार बदनाम गर्ने काम आखिर किन भइरहेको छ ? म नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराउन चाहन्छु। साथै, यस्ता दुष्प्रचार गरेर समाजमा भ्रम सिर्जना गर्ने जोकोहीलाई कानुनबमोजिम कडा कारबाहीको माग गर्दछु !
मैले भाइ प्रकाशको असामयिक निधनपछि पार्टीकै निर्णयबमोजिम नेतृत्वलाई सहयोग गर्दै आएको यथार्थ सर्वविदित नै छ।
व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नराखी मैले आफ्नो सम्पूर्ण ऊर्जा, समय र क्षमता पार्टी तथा नेतृत्वको हितमा समर्पित गर्दै आएकी छु।
सम्पूर्ण पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पार्टी र नेतृत्वको बदनाम गर्ने उद्देश्यले हाम्रा विरुद्ध चलाइएको मिडिया ट्रायलको सशक्त प्रतिवाद गर्न हार्दिक अनुरोध गर्दछु।
नेपाल सरकारका सम्बन्धित निकायहरूले आवश्यक ठानेको जुनसुकै छानबिन वा अनुसन्धानका लागि हामी पूर्ण रूपमा सरकारलाई सहयोग गर्न प्रतिबद्ध छौं। हेक्का रहोस्, सत्यलाई भ्रमले कहिल्यै पराजित गर्न सक्दैन।
अन्तमा, आम दिदीबहिनी तथा दाजुभाइहरूमा अफवाह र भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु। धन्यवाद!
