काठमाडौं, ३० जेठ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा कुनै पनि राष्ट्रको समृद्धि, सामाजिक रूपान्तरण र सभ्यताको विकासको लागि सबैभन्दा महत्त्वपूर्ण आधार भएको बताएकी छिन् । शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुँदैन । त्यसैले विद्यालयहरू केवल पठनपाठनका केन्द्र मात्र होइनन्, योग्य, जिम्मेवार र चरित्रवान् नागरिक निर्माण गर्ने प्रमुख थलो भएको पनि बताएकी हुन ।
‘शिक्षा कुनै पनि राष्ट्रको समृद्धि, सामाजिक रूपान्तरण र सभ्यताको विकासको लागि सबैभन्दा महत्त्वपूर्ण आधार हो । शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुँदैन । त्यसैले विद्यालयहरू केवल पठनपाठनका केन्द्र मात्र होइनन्, योग्य, जिम्मेवार र चरित्रवान् नागरिक निर्माण गर्ने प्रमुख थलो पनि हुन्’, सिन्धुलीको गौमती माध्यमिक विद्यालयको , नवनिर्मित भवन समुद्घाटन उद्घाटन गर्दै यस्तो बताएकी हुन्।
उनको सम्बोधनको पूर्ण पाठ हेरौ ।
समारोहका सभाध्यक्ष,
राजनीतिक व्यक्तित्वहरू,
जनप्रतिनिधिहरू,
शिक्षा क्षेत्रका अग्रज व्यक्तित्वहरू,
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू,
शिक्षक, अभिभावक तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,
सञ्चारकर्मीहरू,
दिदिबहिनी तथा दाजुभाइहरू ।
सिन्धुली जिल्लाको शैक्षिक विकासमा विशिष्ट भूमिका निर्वाह गर्दै आएको गौमती माध्यमिक विद्यालयका नवनिर्मित तीनवटा आधुनिक भवनको उद्घाटन समारोहमा सहभागी भई यहाँहरूसँग भेटघाट गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । यस सुखद् तथा ऐतिहासिक अवसरमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
शिक्षा कुनै पनि राष्ट्रको समृद्धि, सामाजिक रूपान्तरण र सभ्यताको विकासको लागि सबैभन्दा महत्त्वपूर्ण आधार हो । शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुँदैन । त्यसैले विद्यालयहरू केवल पठनपाठनका केन्द्र मात्र होइनन्, योग्य, जिम्मेवार र चरित्रवान् नागरिक निर्माण गर्ने प्रमुख थलो पनि हुन् ।
गौमती माध्यमिक विद्यालयले स्थापना भएपछिका करिब छ दशकको यात्रामा सिन्धुली जिल्लाको शैक्षिक विकासमा उल्लेखनीय योगदान पुर्याएको छ । हजारौँ विद्यार्थीलाई ज्ञान, सीप र संस्कार प्रदान गर्दै आएको यस विद्यालयले आफूलाई जिल्लाकै एक प्रतिष्ठित सामुदायिक शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सफल भएको छ । यस विद्यालयले प्रारम्भिक तहदेखि कक्षा १२ सम्मको शिक्षा प्रदान गर्दै व्यवस्थापन, शिक्षा, मानविकी तथा सिभिल इन्जिनियरिङजस्ता विषयमा अध्ययनको अवसर उपलब्ध गराइरहेको छ । यसले विद्यालयलाई परम्परागत शिक्षासँगै आधुनिक र प्राविधिक शिक्षाको केन्द्रका रूपमा पनि स्थापित गरेको छ ।
म विशेष रूपमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्न चाहन्छु । सामुदायिक विद्यालयहरू सफल हुनुको मुख्य आधार स्थानीय समुदायको सक्रिय सहभागिता र अपनत्व नै हो । गौमती माध्यमिक विद्यालयको प्रगतिले यही सत्यलाई पुष्टि गरेको छ ।
आज उद्घाटन गरिएका यी तीनवटा आधुनिक भवनहरू केवल इँटा, सिमेन्ट र फलामका संरचना मात्र होइनन्; यी भावी पुस्ताका सपना, आकांक्षा र सम्भावनाका प्रतिबिम्ब हुन् । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)को सहयोगमा निर्माण सम्पन्न भएका यी भवनहरूले विद्यालयको भौतिक पूर्वाधारलाई नयाँ उचाइमा पुर्याएका छन् । यसबाट विद्यार्थीहरूले थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् ।
हामीले भूकम्पपछिको पुनर्निर्माणलाई केवल भौतिक संरचना निर्माणको रूपमा मात्र होइन, अझ सक्षम, सुरक्षित र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने अवसरका रूपमा पनि लिनुपर्छ । आजको यो उपलब्धि त्यही अभियानको एउटा महत्त्वपूर्ण परिणाम हो भन्ने मलाई लागेको छ ।
विश्व तीव्र रूपमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन, डिजिटल रूपान्तरणका साथै जलवायु सङ्कटजस्ता वैश्विक चुनौतीहरूले मानव जीवनका सबै क्षेत्रमा नयाँ अवसर र गम्भीर चुनौतीहरू सिर्जना गरिरहेका छन् । यस्तो परिवर्तित सन्दर्भमा हाम्रा विद्यालयहरूले विद्यार्थीहरूलाई केवल परीक्षा उत्तीर्ण गराउने मात्र होइन, प्राविधिक तथा व्यावसायिक रूपमा दक्ष, सिर्जनशील, अनुसन्धानमुखी, प्रतिस्पर्धी र उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ । साथै, जलवायु परिवर्तन र वातावरणीय संकटप्रति सचेत, उत्तरदायी र समाधानमुखी सोच भएका नागरिक तयार गर्नु पनि आजको शिक्षाको अनिवार्य दायित्व हो । परिवार, समाज र राष्ट्रप्रति जिम्मेवारी बोध भएका असल नागरिक निर्माण गर्नु शिक्षाको मूल उद्देश्य हुनुपर्छ । त्यसका लागि दक्ष र प्रतिबद्ध शिक्षक, आधुनिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण प्रणाली तथा जीवनोपयोगी सीपको विकासमा विशेष ध्यान दिनुपर्दछ ।
म विद्यार्थी भाइबहिनीहरूलाई विशेष रूपमा भन्न चाहन्छु, आज तपाईँहरूका लागि निर्माण गरिएका यी सुविधाहरू तपाईँहरूको सर्वाङ्गीण विकासप्रति राष्ट्रले व्यक्त गरेको प्रतिबद्धताको द्योतक हुन् । त्यसैले समयको सदुपयोग गर्दै अध्ययन, अनुशासन, परिश्रम र नैतिक मूल्यलाई आत्मसात् गरी आफ्नो क्षमता विकास गर्नुस् । तपाईँहरूको सफलता नै परिवार, समाज अनि राष्ट्रको सफलता हुनेछ ।
यस अवसरमा विद्यालयको विकासमा योगदान पुर्याउनुहुने पूर्व तथा वर्तमान शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय समुदाय, निर्माण कार्यमा संलग्न प्राविधिक तथा श्रमिकहरू, साथै सम्बन्धित सरकारी निकायहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
अन्त्यमा, गौमती माध्यमिक विद्यालयले आगामी दिनमा पनि शैक्षिक उत्कृष्टता, प्राविधिक शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा मानव संसाधन विकासका क्षेत्रमा नयाँ उदाहरण स्थापित गर्दै अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु । नवनिर्मित भवनहरूको सफल उपयोगबाट विद्यालयले अझ उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको उज्ज्वल भविष्यको कामना गर्दछु ।
धन्यवाद !
२०८३ जेठ ३० गते शनिबार ।
