काठमाडौं, ३० जेठ ।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकूल बाँस्कोटाले पार्टीले अकल्पनीय ठूलो क्षति ब्यर्होदा पनि जिम्मेवारी नलिने नेतृत्वबाट अब एमालेलाई पहिलेकै अबस्थामा फर्काउनेगरी पुर्नजागृत गर्न नसकिने बताएका छन् ।
पार्टी केन्द्रीय सचिवालयले बनाएको चुनावी समीक्षा र पार्टी पुनर्गठन कार्यदलले वागमती प्रदेशका केन्द्रीय नेता, प्रदेश र जिल्ला पदाधिकारी तथा जनप्रतिनिधिहरुबाट सुझाव लिन शनिवार काठमाडौंमा आयोजना गरेको भेलामा बाँस्कोटाले त्यस्तो बताएका हुन् ।
भेलामा उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टीले सफलताको उचाईं हासिल गरिसकेको, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर करिब दुई तिहाईको सफलतामा पु¥याएको, राष्टियताको सवालमा पनि ऐतिहासिक काम गरेको तथा देशलाई समृद्धिको दिशामा अगाडि बढाए पनि पार्टी संचालन गर्ने सवालमा प्रशस्ती कमजोरी देखिएको तथा ओलीकै नेतृत्वमा पार्टीले अकल्पनीय क्षति पनि ब्यहोरेकाले उनको विकल्प खोज्नेगरी सम्मानजनक रुपमा नेतृत्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका थिए ।
‘एउटै व्यक्ति कति पटक पार्टी अध्यक्ष, कति पटक प्रधानमन्त्री, कति पटक जनप्रतिनिधि हुने, कहिलेसम्म हुने ? यसको निक्र्यौल नगरी हामीले कसरी पार्टीलाई रुपान्तरित गर्न सक्छौं ? एमाले कसरी अब्बल पार्टी बन्न सक्छ ?’ बाँस्कोटाको भनाई उद्धृत गर्दै एक सहभागीले भने ।
भेलामा बाँस्कोटासहित नेताहरु आनन्दप्रसाद पोखरेल, कृष्णभक्त पोखरेललगायत बहुसंख्यक सहभागीहरुले ओलीलाई हटाएर पार्टीलाई पुनर्गठनमा लैजानुपर्ने पक्षमा सुझाव दिएको एक सहभागीले बताए ।
