काठमाडौं, ३० जेठ ।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकूल बाँस्कोटाले पार्टी र आन्दोलनाई केन्द्रबिन्दूमा राखेर एमालेलाई पुनर्गठित र पुनजागृत गर्न आफू जस्तोसुकै त्यागका लागि पनि तयार रहेको बताएका छन् ।
पार्टीले अकल्पनीय ठूलो क्षति ब्यर्होदा पनि जिम्मेवारी नलिने नेतृत्वबाट अब एमालेलाई पहिलेकै अबस्थामा फर्काउनेगरी पुर्नजागृत गर्न नसकिने भन्दै उनले त्यसका लागि आफू पनि बिदा लिन तयार रहेकोसमेत प्रष्ट्याए ।
पार्टी केन्द्रीय सचिवालयले बनाएको चुनावी समीक्षा र पार्टी पुनर्गठन कार्यदलले वागमती प्रदेशका केन्द्रीय नेता, प्रदेश र जिल्ला पदाधिकारी तथा जनप्रतिनिधिहरुबाट सुझाव लिन शनिवार काठमाडौंमा आयोजना गरेको भेलामा बाँस्कोटाले त्यस्तो बताएका हुन् । वागमती प्रदेशमा बाँस्कोटा र बस्नेत आन्तरिक प्रतिस्पर्धामा चिरपरिचित प्रतिद्वन्द्वी हुन् ।
आफू र महेश बस्नेतले पार्टीमा बराबरी अवसर पाइसकेको उदाहरण पेश गर्दै उनले तीन पटकसम्म दुवैको हिसाबकिताब बराबर भइसकेकाले पार्टी र आन्दोलन बचाउन आवश्यकता परे दुवै जनाले नयाँ युवाका लागि छोड्न तयार हुनुपर्ने भन्दै चुनौति पेश गरे । बस्नेत अहिले पार्टी सचिव तथा वागमती प्रदेश ईन्चार्ज छन् ।
‘मैले तीन पटक टिकट पाएँ, एक पटक हारेँ, दुई पटक जिते र मन्त्री पनि भएँ, महेश कमरेड तपाईंले पनि तिन पटक नै टिकट पाउनुभयो, दुई पटक हार्नुभो, एक पटक जित्दा मन्त्री पनि बनिसक्नुभो, हामी दुवै जनाको हिसाबकिताब बराबरी भएछ । पार्टीमा नेतृत्व मात्र होइन, तल पनि एउटै व्यक्ति कति पटक सांसद र मन्त्री हुने हामीले एउटा विधि स्थापित गर्नु पर्दैन ?’ बाँस्कोटाको भनाई थियो ।
