काठमाडौं, ३० जेठ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पुनर्गठनका नाममा पार्टी फुटाउन खोजेको गम्भीर आरोप लगाएका छन् ।
केन्द्रीय सचिवालयमा पौडेल र पोखरेलले साथ छोड्दा अल्पमतमा परेपछि पुनर्गठनका लागि कार्यदल बनाएर छलफल गर्न बाध्य भएका ओलीले शनिवार साँझ गुण्डुस्थित निवासमा उनीहरुलाई नै लक्षित गर्दै त्यस्तो गम्भीर आरोप लगाएका हुन् ।
चुनावी समीक्षा र पुनर्गठन कार्यदलले वागमती प्रदेशको भेला सम्पन्न गरेपछि आफूलाई भेट्न गुण्डुस्थित निवासमा आएका अगुवा–नेता कार्यकर्ताहरुमाझ ओलीले पौडेल र पोखरेलमध्ये एउटालाई लोभी र अर्कोलाई पापीकोसमेत संज्ञा दिएको सहभागी एक केन्द्रीय सदस्यले बताए ।
‘अहिले एमालेमाथि चारैतिरबाट हमला भइरहेका बेला पुनर्गठनका नाममा पार्टीलाई फुटाउन खोजिदैंछ तपाईंहरु सचेत रहनुस्’ ओलीको भनाई उद्धृत गर्दै एक सहभगी केन्द्रीय सदस्यले भने,‘अहिले कोही लोभी कोही पापी भएर निस्किए त्यसैले अहिलेलाई म केही भन्दिनँ रामराम मात्रै भन्न सक्छु तर काँधै त थाप्न सक्दिन ।’
ओलीले आफूले कुनै गल्ती नगर्दा पनि हटाउन खोजिएको भन्दै अब केन्द्रीय कमिटी फेस गर्ने सुनाएका थिए ‘मैले के गल्ती गरेको छु र अध्यक्षबाट हटाउन ? तर म सबै कुरा केन्द्रीय कमिटीमा बताउँछु, त्यहीँ फेस गर्छु, पार्टीको महत्वपूर्ण थलो त्यही हो, त्यसले विवेकसम्मत निर्णय गर्ला ।’ ओलीको भनाई थियो ।
ओलीले आफूले के चाँही गल्ती गरेको र हटाउन खोजियो भन्ने नबुझेकोसमेत अगुवा नेता–कार्यकर्ताहरुसँग गुनासो पोखेका थिए ।
