काठमाडौं, ३० जेठ ।
नेपाली कांग्रेसले देशभर युवा केन्द्रीत अभियान सञ्चालन गर्ने भएको छ ।
नेपाली कांग्रेसको विधान,२०१७ (संशोधनसहित) को धारा ४ को व्यवस्थाअनुसार ३५ वर्षमुनिका युवाहरुलाई क्रियाशील सदस्यता वितरण गर्न युवा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कांग्रेसको संगठनलाई अझ सुदृढ, व्यवस्थित तथा प्रविधिमा आधारित बनाउने उद्देश्यले पार्टीको १५औं महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुने सबैलाई धन्यावद पनि दिएको छ । शनिवार केन्द्रीय कार्यालयबाट जारी गरेको निर्णय अनुसार युवाहरुलाई पार्टीमा सक्रिय बनाउने उल्लेख गरेको छ ।
हेरौ निर्णय
निर्णयहरु
१. नेपाली कांग्रेसको संगठनलाई अझ सुदृढ, व्यवस्थित तथा प्रविधिमा आधारित बनाउने उद्देश्यले पार्टीको १५औं महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुनुहुने सबैप्रति सदस्यता व्यवस्थापन केन्द्रीय समिति हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
२. नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यहरूमध्ये २०८३ जेठ २८ गते राति १२:०० बजेसम्म वडा तहमार्फत अद्यावधिक सम्पन्न भएका तथा डिजिटल प्रणालीमार्फत स्वयं अद्यावधिक फाराम भरी वडा तहमा अनुमोदनको प्रक्रियामा रहेका गरी कुल ६ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको छ । उक्त संख्यामध्ये ५ लाख ३८ हजार ६२२ क्रियाशील सदस्यहरुले NCID प्राप्त गरिसक्नुभएको छ भने १ लाख ४९ हजार ३०९ जना क्रियाशील सदस्यहरुले पेश गरेको स्वयं अद्यावधिक फाराम डिजिटल प्रणालीमा प्रविष्ट भई वडा तहमार्फत अद्यावधिकको प्रक्रियामा रहेको छ ।
यसरी अनलाइनमार्फत प्रविष्ट भएका फाराम वडा तहबाट मिति २०८३ असार ५ गतेभित्र अनुमोदन गरिसक्न सदस्यता व्यवस्थापन केन्द्रीय समिति निर्देश गर्दछ । तोकिएको समयसीमाभित्र वडा तहबाट अनुमोदन नभएमा विधानबमोजिम क्रियाशील सदस्यता प्राप्त गर्न/नवीकरण गर्न योग्य सदस्यहरुलाई केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाइनेछ ।
३. इन्टरनेटको पहुँच अति कम भएका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी जिल्लाका केही पालिकाहरु तथा क्रियाशील सदस्यता अद्यावधिक ढिलाइ भएका बारा र खोटाङ जिल्लाका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय मिति २०८३ असार ७ गतेसम्म कायम गरिएको छ ।
४. नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य मिति २०८३ असार १० गतेसम्म कायम गरिएको छ ।
५. क्रियाशील फाराम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण कार्य २०८३ असार २० गतेसम्मका लागि कायम गरिएको छ ।
६. क्रियाशील सदस्यता नवीकरण गरी अद्यावधिक गरिएका र नयाँ क्रियाशील सदस्यता वितरण गर्दा बुझाउनुपर्ने विधानबमोजिम तोकिएको शुल्क नबुझाई अद्यावधिक भएको वा नयाँ क्रियाशील सदस्यता प्रविष्टि गर्दा शुल्क नबुझाएको भए त्यस्ता क्रियाशील सदस्यहरुलाई यथाशीघ्र शुल्क बुझाउन लगाउन सम्बन्धित तहका सभापतिहरुलाई सदस्यता व्यवस्थापन केन्द्रीय समिति निर्देश गर्दछ । तोकिएको शुल्क नबुझाउने क्रियाशील सदस्यले १५औं महाधिवेशन प्रक्रियामा भाग लिन पाउने छैनन् ।
७. क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र विविध कारणले वडाबाट नवीकरण र अद्यावधिक गर्न छुट हुन गएको भए सोको निरन्तरतासहित अद्यावधिक गर्न चाहने क्रियाशील सदस्यहरुले मिति २०८३ असार २० गतेभित्रमा आफू क्रियाशील सदस्य रहेको प्रमाणसहित केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् । यस्तो निवेदन नेपाली कांग्रेसको आधिकारिक इमेल ncparty2003@gmail.com मा पठाउन सकिनेछ ।
८. क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र विविध कारणले अद्यावधिक गर्न छुट हुन गएका वडाहरुले आफ्नो वडाभित्र क्रियाशील सदस्यता अद्यावधिक हुन बाँकी रहेका क्रियाशील सदस्यहरुको संख्या खुलाइ सोको अद्यावधिकका लागि आवश्यक पर्ने समयावधि ७ दिन नबढ्ने गरी नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आधिकारिक इमेल ncparty2003@gmail.com मा निवेदन दिन सकिनेछ । प्राप्त निवेदनउपर सदस्यता व्यवस्थापन केन्द्रीय समितिले आवश्यक समय उपलब्ध गराउनेछ ।
९. क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरण कार्यलाई नेपाली कांग्रेसको १५औं महाधिवेशनको मूल कार्यतालिका प्रभावित नहुने गरी समय मिलान गरिदिन केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गर्दछ ।
१०. नेपाली कांग्रेसको विधान,२०१७ (संशोधनसहित) को धारा ४ को व्यवस्थाअनुसार ३५ वर्षमुनिका युवाहरुलाई क्रियाशील सदस्यता वितरण गर्न युवा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गर्दछ ।
११. नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि अद्यावधिक भएको क्रियाशील सदस्यतामा विषय विज्ञहरु (Lateral Entry)तथा नेपालमै क्रियाशील सदस्य रही हाल विविध कारणले विदेशमा रहनुभएका क्रियाशील सदस्यहरुको अद्यावधिकका लागि केन्द्रीय कार्यालयबाट तोकिएको विवरण फाराम (अनलाइन प्रणालीमा राखिएको फाराम) बमोजिम तथा तहगत सिफारिस भई आएको प्रमाण वा यस्तो विवरण नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आधिकारिक इमेल ncparty2003@gmail.com मा आवेदन गरेमा यस्ता सदस्यहरुको नवीकरण,निरन्तरता र अद्यावधिक गर्ने कार्यलाई २०८३ असार २० गते सम्म कायम गरिएको
छ ।
१२. स्वयं सदस्यता अद्यावधिक गर्दा पुराना क्रियाशील सदस्यहरुले नयाँतर्फ प्रविष्ट भएको देखिएकाले त्यस्ता सदस्यहरुको १४औं महाधिवेशन वा सोभन्दा अगाडिको क्रियाशील सदस्यता नम्बर देखिएमा ती क्रियाशील सदस्यहरुलाई नवीकरण गरेको मानी डिजिटल प्रणालीमा प्रविष्ट भएको नामहरुलाई निरन्तरता सहितको अद्यावधिक भएको क्रियाशील सदस्यमै कायम गर्ने व्यवस्था गरिनेछ ।
१३. २०८२ पुस १० गतेभन्दा अगाडि प्रतिनिधिसभा क्षेत्रीय सभापतिले केन्द्रीय कार्यालयबाट बुझिलिएका फारामहरु भरी वडा तहबाट माथिल्लो तहमा पेश गर्ने क्रममा क्षेत्रीय कार्यसमितिले प्रणालीमा प्रविष्ट गर्न बाँकी भएका नामावलीहरु विद्यमान डिजिटल प्रणालीमा प्रविष्ट गर्न र अद्यावधिक गर्न मिति २०८३ असार ७ गतेसम्म कायम गरिएको छ ।
१४. क्रियाशील सदस्यता आवेदन गर्दा वा डिजिटल प्रणालीमा प्रविष्ट गर्दा कुनै क्रियाशील सदस्यको वास्तविक परिचयभन्दा फरक विवरण प्रविष्ट भएको भए त्यस्तो विवरण सच्याउनका लागि प्रणालीमा उपलब्ध गराइएको लिंक वा तहगत रुपमा जिल्ला कार्यसमितिमार्फत सिफारिस भई आएका वा व्यक्ति स्वयंले सच्याउनुपर्ने विवरणको प्रमाण (नागरिकता वा मतदाता परिचयपत्रको फोटो वा स्क्यान आदि) स्पष्टरुपमा खुलाइ मिति २०८३ असार १ गतेदेखि असार मसान्तसम्म केन्द्रीय कार्यालयमा देहायबमोजिमको इमेलमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ:
कोशी प्रदेशका क्रियाशील सदस्यले: koshinc2083@gmail.com
मधेश प्रदेशका क्रियाशील सदस्यले: madeshnc2083@gmail.com
बागमती प्रदेशका क्रियाशील सदस्यले: bagmatinc2083@gmail.com
गण्डकी प्रदेशका क्रियाशील सदस्यले: gandakinc2083@gmail.com
लुम्बिनी प्रदेशका क्रियाशील सदस्यले: lumbininc2083@gmail.com
कर्णाली प्रदेशका क्रियाशील सदस्यले: karnalinc2083@gmail.com
सुदूरपश्चिम प्रदेशका क्रियाशील सदस्यले: sudurpaschimnc2083@gmail.com
जय नेपाल !
कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव