काठमाडौं, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो प्रदेश अधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह समूहका दुई जना अध्यक्ष निर्वाचित भएका छन् । बागमती प्रदेश र कोशी प्रदेशको प्रथम अधिवेशनमा बालेन्द्र समूह हावी भएको हो । बाग्मती प्रदेशबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका छन् भने कोशी प्रदेशबाट चन्द्रबहादुर राई निर्वाचित भएका हुन् ।
अर्यालले ४१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी डा. अछुतम लामिछानेले ४१४ मत पाएका छन्। दुई मत मात्रैको अन्तरले अर्याल विजयी बनेका हुन्।
बागमती प्रदेश अधिवेशनमा सहभागी केन्द्रीय सदस्य मधुसुधन ढकालका अनुसार मतगणनाको अन्तिम परिणामअनुसार अर्यालले लामिछानेलाई पराजित गर्दै प्रदेश नेतृत्वको जिम्मेवारी प्राप्त गरेका हुन्।
रास्वपा बागमतीको पहिलो अधिवेशनमा नेतृत्वका लागि अर्याल र लामिछानेबीच कडा प्रतिस्पर्धा भएको थियो।
प्रदेश नेतृत्वका लागि भएको निर्वाचनमा सुरुदेखि नै अर्याल र लामिछानेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। अन्तिम मतपरिणामले पनि दुवै उम्मेदवारबीचको प्रतिस्पर्धा अत्यन्तै रोमाञ्चक रहेको पुष्टि गरेको छ।
अधिवेशनअघि सभापति पदमा चार जनाले उम्मेदवारी दिएका थिए। तर मतदानअघि दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर अर्याललाई समर्थन गरेका थिए।
मकवानपुरका अर्याल यसअघि प्रदेश कमिटीको प्रवक्ताको जिम्मेवारीमा थिए। २ मतान्तरले पराजित भएका लामिछाने नुवाकोट २ बाट निर्वाचित सांसद तथा यस अघिका प्रदेश सभापति हुन्।
यसैगरी कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन् । मोरङको विराटचोकमा जारी पहिलो प्रदेश अधिवेशनबाट मोरङका राई सभापतिमा निर्वाचित भएका हुन् ।
मतपरिणामअनुसार उनले २८० मत प्राप्त गरे । उनका निकटमत प्रतिद्वन्द्वी गोमा तामाङ ‘सरिन’ले १४१ मत प्राप्त गरिन् भने, अन्य उम्मेदवार चन्द्रकुमार गौली ‘निरज’ले २७ र डा। खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।
प्रदेश अधिवेशनमा राईको पक्षमा केन्द्रीय तहका नेता र सांसदले प्यानल बनाएर लिष्ट बाडेका थिए । लिष्ट बाडेपछि सभापतिको उम्मेदवार तामाङले विरोध जनाएकी थिइन् ।
प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट पराजित तामाङ रास्वपाको प्रदेशको कार्यवहाक सभापति थिइन् । सभापतिमा पराजित भएपछि उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी छन् ।
