काठमाडौं, १५ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि आम कार्यकर्ताले प्रश्न गरिरहेका बेला उपाध्यक्ष विष्णु पौडेलले पनि ‘इग्नोर’ गरेका छन् । सम्पत्ति शुद्धिकरणको मुद्धामा अदालतले साधारण तारेखमा छाडेपछि उनले केपी ओलीको फोन रिसिभ गरेनन भने पार्टी पुर्नगठनबारे कार्यकर्तासँग जोडदार रुपमा छलफल गरे । ओलीको फोन रिसिभ नभएपछि कार्यकर्ताले ओलीको नेतृत्वमाथि उठाएको प्रश्नबारे सघन छलफल गरेका छन् । ओलीको फोन नउठाएपनि उनी केही दिन अघि ओली सहभागी कार्यक्रममा उपस्थित भएका थिए । पौडेलनिकट स्रोतका अनुसार ओलीले हिरासतबाट छुटेलगत्तै उनलाई भेट्न अनेकन् प्रयास गरे पनि भेट्न अस्वीकार गरेका बेला कार्यक्रममा भेटेपछि ओलीले पौडेललाई आफ्नै गाडीमा हालेर हिडेकाथिए । ओलीले पौडेललाई गाडीमा हालेर महासचिव शंकर पोखरेलसँग पनि भेट गरेका थिए ।
साउन ७ गते ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बबरमहलस्थित कार्की बैंक्युटमा कार्यक्रममा उनी सहभागी पौडेललाई ओलीले आफ्नो गाडीमा राखेर पोखरेलसँग पनि भेटेका थिए । एमाले उच्च स्रोतका अनुसार ओलीले त्यसदिन पौडेल र पोखरेलसँग गहन छलफल गरेका थिए । ‘ओली निकै तनाबमा देखिएका थिए, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलसँग सघन छलफल गरेका छन्’, स्रोतले भन्यो। पौडेल भने यतिबेला महासचिव शंकर पोखरेलसँग मिलेर पार्टी पुनर्गठन अभियानको प्रतिवेदन लेखनमा व्यस्त रहेका छन् ।
अध्यक्ष ओलीलाई भेट नदिएका पौडेल बरू महासचिव शंकर पोखरेल, नेता ईश्वर पोखरेल (टेलिफोनमार्फत), उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायत नेताहरूसँग निरन्तर छलफलमा रहेका छन् । अघिल्लो आइतबार सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा ओलीले बोलाए पनि पौडेलले आफू अस्वस्थ रहेको भन्दै टारिदिएका थिए ।
हिरासतबाट फर्किएपछि पारिवारिक र आफूनिकट नेताकार्यकर्ताहरूसँग राजनैतिक संवादमै रहेका पौडेल ओली–प्रचण्डको हिमचिममा सहमत नभएपनि सम्झौतामा भने सहभागी भएका छन् । पौडेल पछिल्लो समय एमालेभित्र पार्टी पुनर्गठन अभियानको नेतृत्व गर्ने अग्रपंक्तिमै छन् । देशका विभिन्न अभियानका क्रममा सुर्खेतबाट पक्राउ परेर सम्पत्ति शुद्धीकरणको हिरासतमा बसेका पौडेल हिरासतमुक्त भएलगत्तै अभियानको काममा फर्किएका छन् ।
हिरासतबाट फर्किएपछि पौडेललाई ओलीले भेटेर फकाउन र प्रचण्डसँग पार्टी एकता, नभए गठबन्धनकै मतियार बनाउन लागेका थिए । तर, पौडेलले ओलीको सोही रणनीति बुझेर वार्तामा भने सहभागी भएनन । तर ओलीले महासचिव पोखरेल र पौडेलमध्ये एक जनालाई सहमति पत्र हस्ताक्षरको साक्षी राख्न चाहेन्थे । त्यसमा पौडेल सहभागी भए । पौडेलले वामपन्थीहरुको सहकार्यलाई सकारात्मक मान्ने गरेको तर अहिलेको प्रदेश सरकारको सहभागी र सहकार्यमा भने फरक मत रहेको आफू निकट रहेका नेताहरुसँग बताउदै आएका छन् ।
असार २५ गते सम्पन्न कार्यदलको बैठकले प्रतिवेदन लेख्ने जिम्मा कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र कार्यदलका सदस्य सचिव एवं महासचिव शंकर पोखरेललाई दिएको थियो । शंकर पोखरेलले पनि प्रतिवेदन लेखनमा बादललाई इग्नोर गरिदिएका छन् । पार्टी गतिविधिबाट अनिश्चितकालीन छुट्टीमा बसेका पोखरेल पौडेलसँग मिलेर प्रतिवेदन लेखनमा व्यस्त रहेका छन् । कार्यदलको अर्को बैठकबाट प्रतिवेदन पारित गराएर केन्द्रीय सचिवालय बैठकमा पेस गर्ने उनीहरूको तयारी छ । उपाध्यक्ष बादललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिएका ओलीले आफ्नो बहिर्गमनको मागलाई प्रतिवेदनमा समावेश नगर्न अनेकौं दबाब दिने प्रयास गरेका छन्।
ओलीले आफ्नो बहिर्गमनबाहेक छलफलमा उठेका अन्य विषयमात्र प्रतिवेदनमा समेट्न निर्देश गरेका छन्। महासचिव पोखरेलले भने अभियानका क्रममा विभिन्न भेला र छलफलमा नेता कार्यकर्ताहरूले भनेकै विषय प्रतिवेदनमा जस्ताको त्यस्तै राखेर प्रतिवेदन बनाइरहेका छन् । कार्यकर्ताहरुले ओलीको नेतृत्व असफल भएको र नेतृत्व पुर्नगठन नगरेर वामपन्थीहरुको सफया वामपन्थीबाट हुने भएकाले ओलीलाई ससम्मान अध्यक्ष छोड्नु पर्ने राय राखेका थिए ।
महासचिव पोखरेलले पछिल्लो समय आम निर्वाचन २०८२ को समीक्षा गर्ने र पार्टीलाई कसरी पुनर्गठन गरेर नयाँ दिशामा अगाडि बढाउने भन्ने विषयमा पार्टी पङ्तिको भावनाअनुसार कार्यदलले प्रतिवेदन तयार पार्ने बताउदै आएका छन्। आफू निकट रहेका पदाधिकारीहरुलाई पार्टी अहिलेको अवस्थामा नयाँ ढंगले अगाडि बढ्नुपर्दछ भन्ने मान्यताका पक्षमा छ ।
त्यसो गर्दा वैचारिक, राजनीतिक सांगठनिक रूपमा झन् एकतबद्ध बनाउने काम गर्नुपर्दछ भन्ने पार्टीको बुझाइ रहेको पनि बताउदै आएका छन् । पार्टी एकताबद्ध बनाउन यथास्थितिमा सम्भव नभएको पार्टीमा शुद्धीकरण आवश्यक छ, सुदृढीकरण आवश्यक छ, पार्टीमा पुनर्जागरण आवश्यक छ, पुनर्जागरण आवश्यक छ, यो पार्टीको निष्कर्ष हो र यी तीन काम गर्न पार्टीको पुनर्गठनको कार्ययोजना तयार गर्नुपर्ने भन्दै त्यही अनुसार अघि बढ्न आफू निकट नेताहरुलाई निर्दैशन दिएपछि ओली थप अन्यौलमा परेका छन् ।
