काठमाडौं, १४ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीनको भ्रमणमा जाने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले छिट्टै चीन भ्रमण गर्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। शनिबार बसेको रास्वपा सचिवलाय बैठकमा पनि यसबारे छलफल भएको उनले बताए।
उनका अनुसार, कात्तिक अन्तिम साता रास्वपा टोली चीन जानेछ। पारस्परिक राजनीतिक संवाद र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन चीन भ्रमणमा जाने निर्णय भएको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न सचिवालय बैठकले देहायबमोजिमका निर्णयहरू गरेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
१. राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक प्रणाली, बहुलवाद, संविधानप्रदत्त नागरिक अधिकार र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कहिल्यै सम्झौता गर्दैन। बलियो र जवाफदेही लोकतन्त्रको आधारस्तम्भ मानिने सञ्चार क्षेत्रमा २०८३ कार्तिक १३ गते प्रहरी प्रशासनमार्फत भएको भनिएका केही गतिविधिहरु संविधान र दलको मूल आदर्शविपरीत छ। गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको अविलम्ब पहिचान र छानबिन गरी कडा कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई निर्देशन दिन्छ।
२. कतिपय न्यायाधीशहरू नै मुछिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाहरूले न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि गम्भीर प्रश्न खडा गरेका छन्। यसले न्यायालयको शुद्धीकरण र जवाफदेहिताका पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको एजेन्डालाई थप पुष्टि गरेको छ। न्यायालयभित्रका यी विकृतिलाई विधिसम्मत तवरले निरूपण गर्न संसदबाटै निर्णायक कदम चाल्न र यस विषयलाई तार्किक निष्कर्षमा पुर्याउन संसदीय दललाई निर्देशित गरिन्छ।
३. मधेस प्रदेशमा पार्टी संगठनलाई थप चुस्त, सुदृढ र गतिशील बनाउन सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिद्वारा प्रस्तुत ‘मधेस प्रदेश संगठन अडिट प्रतिवेदन, २०८३’ अध्ययनको जिम्मेवारी सचिवालयलाई दिँदै प्रतिवेदनका सिफारिसहरूलाई औचित्य र आवश्यकताका आधारमा प्रभावकारी रूपले कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ।
४. चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) द्वारा प्रेषित औपचारिक निमन्त्रणालाई स्वीकार गर्दै पारस्परिक राजनीतिक संवाद र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल कार्तिकको अन्तिम साता चीन भ्रमणमा जाने निर्णय गरिएको छ।


