काठमाडौं, १३ कात्तिक । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने कार्य निन्दनीय भएको बताएका छन् । ‘त्यो अत्यन्तै निन्दनीय, अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक हो’, उनले समाजिक सञ्जालमार्फत यसको तिब्र विरोध गरेका छन् । साथै प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको समेत बताएका छन् । ‘ स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार हो। राज्यका निकायहरू कानुनको शासनको मर्यादाभित्र रहनुपर्नेमा स्वयं सरकारले नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय हो’, प्रचार विभाग प्रमुख आचार्यले भनेका छन् ।
यस्तो छ उनको भनाईः
आज सरकारले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने जुन कार्य गरिरहेको छ, त्यो अत्यन्तै निन्दनीय, अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक हो।
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो। स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार हो। राज्यका निकायहरू कानुनको शासनको मर्यादाभित्र रहनुपर्नेमा स्वयं सरकारले नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय हो।
कानुनको शासनको नाममा कानुनको उल्लङ्घन, सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन सक्दैन। सञ्चारमाध्यममाथि गरिने कुनै पनि प्रकारको गैरकानुनी हस्तक्षेप र धरपकड तत्काल बन्द गरियोस्। सञ्चारगृह तथा सञ्चारकर्मीको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरियोस्।
सरकारको यस प्रकारको अलोकतान्त्रिक, दमनकारी र निरङ्कुश कदमको घोर निन्दा तथा भर्त्सना गर्दछु।
प्रेस स्वतन्त्रताको रक्षा गरौँ!
लोकतन्त्र र विधिको शासनको सम्मान गरौँ!


