काठमाडौं, २४ असार ।
एमालेको चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले पार्टीका ‘पाका कमरेड’ र सल्लाहकारहरुबाट सुझाव लिएर पार्टी पुनर्गठनको कार्ययोजनासम्बन्धि प्रतिवेदन लेख्ने काम सुरु गरेको छ ।
भूगोल, जनसंगठन, सम्पर्क समन्वय, केन्द्रीय विभाग क्षेत्रमा काम गर्ने सबै अगुवा नेता–कार्यकर्ताको सुझाव लिएपछि कार्यदलले पार्टीमा महत्वपूर्ण योगदान पु¥याएका सिनियर पाका नेताहरु र सल्लाहकारहरुबाट सुझाव लिएपछि मात्रै प्रतिवेदन लेख्ने काम सुरु गरेको हो ।
मंगलवार केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार कमिटीका पूर्व अध्यक्षद्वय तथा कोअर्डिनेशन केन्द्रकालीन नेता अमृत बोहोरा, केशब बडालसहित पूर्व पदाधिकारीहरु, पदेन सल्लाहार निवतर्मान केन्द्रीय कमिटी सदस्यहरुबाट सुझाव लिइसकेपछि कार्यदलले वुधबारबाट प्रतिवेदन लेखनको काम थालनी गर्दैछ । त्यसका लागि उपाध्यक्ष रामबहादुर थापा‘बादल’ नेतृत्वको कार्यदलको बैठक निरन्तर चलिरहेको छ ।
बोहोरासहितका पाका नेताहरुले अध्यक्ष ओलीको सम्मानजनक बर्हिगमनबाट पुनर्गठनको ढोका खोल्दै पार्टीलाई माथिदेखि तलसम्मै समग्र रुपमै पुनर्गठन गर्नुपर्ने गम्भीर सुझाबहरु कार्यदललाई दिएका छन् । लामो भूमिगत जीवन, जेलनेल खेपेको बोहोरा एमालेभित्र निक्कै पाका, सज्जन नेताका रुपमा परिचित छन् । ओली मात्र होइन, अहिले पदाधिकारीमा रहेका नेताहरुले पनि पद त्याग गरेर पार्टीलाई समग्र पुनर्गठनमा लैजानुपर्ने उनीहरुको सुझाव छ ।
बोहोरासहितका पाका नेताहरुले अध्यक्ष ओलीको सम्मानजनक बर्हिगमनबाट पुनर्गठनको ढोका खोल्दै पार्टीलाई माथिदेखि तलसम्मै समग्र रुपमै पुनर्गठन गर्नुपर्ने गम्भीर सुझाबहरु कार्यदललाई दिएका छन् । लामो भूमिगत जीवन, जेलनेल खेपेको बोहोरा एमालेभित्र निक्कै पाका, सज्जन नेताका रुपमा परिचित छन् । ओली मात्र होइन, अहिले पदाधिकारीमा रहेका नेताहरुले पनि पद त्याग गरेर पार्टीलाई समग्र पुनर्गठनमा लैजानुपर्ने उनीहरुको सुझाव छ ।
बोहरासहित पूर्वउपाध्यक्षद्वय युवराज ज्ञवाली र गुरु बराल, सल्लाहकार कमिटी र अनुशासन आयोगका पूर्वअध्यक्ष केशव बडालसहित पदेन सल्लाहकारका रूपमा आमन्त्रण गरिएका अघिल्लो केन्द्रीय कमिटीका सदस्यहरू सुझाव संकलनमा सहभागी थिए । १४० भन्दा बढी नेता आमन्त्रण गरिए पनि पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्यसहित ११० भन्दा बढी नेता भने कार्यक्रममा अनुपस्थित भएनन् । तर, छलफलमा सहभागी भएका २८ मध्ये दुईजना नेताबाहेक सबैले पार्टीलाई माथिदेखि तलसम्म नीति, सिद्धान्त, विचार, कार्यशैली, नेतृत्व, आचरण समग्र स्वरूपमै पुनर्गठन गरेर जानुपर्ने आवश्यकता औँल्याएको एक सहभागीले बताए ।
नेता अमृत बोहरा, युवराज ज्ञवाली र केशव बडालसहित बहुसंख्यकले तत्काल पार्टीलाई पुनर्गठनमा नलगिए नेपालको कम्युनिस्ट आन्दोलनको ओरालो यात्रा अझै जारी रहने चेतावनी दिएका थिए । पुनर्गठनलाई मूल नेतृत्वलाई प्रतिस्थापन गरेर अर्को एउटा व्यक्तिलाई ल्याउने अर्थमा नभई केन्द्रदेखि सुरु गरेर पुनर्गठनलाई तलसम्म लैजानुपर्नेमा जोड दिएका थिए । ‘केन्द्रदेखि तलैसम्म नीति, विचार, सिद्धान्त, नेतृत्व, कार्यशैली, आचरणसहित सबै क्षेत्रमा पुनर्गठन गर्न जोड दिएका छौँ,’ बोहराले निकटस्थहरुसँग सुझाव उद्धृत गर्दै भनेका छन् ।
अरूलाई गाली गर्ने, लामो भाषण मात्र गर्ने, तर अरूका सुझाव नसुन्ने, जनताको सुझाव नसुन्ने, नेताहरू कार्यकर्ताबाट, कार्यकर्ताहरू जनताबाट अलग भएको तस्बिर स्पष्ट भइसक्दा पनि ओलीमा बदलाव नआएको भन्दै सुझाव संकलन कार्यक्रममा आलोचना पनि भएको थियो । ‘धेरै नेता–कार्यकर्ताको त्याग र बलिदानबाट बनेको पार्टी हेर्दाहेर्दै ओरालो यात्रामा गयो, त्यसैले यसको कारण पहिल्याउँदै नेतृत्व पछि हटेर पनि पार्टीलाई पुनस्र्थापित गर्न पहल गर्नुपर्छ,’ बोहरासहित धेरै नेताहरुको भनाइ थियो, ‘म पदमा रहिनँ भने सबै सिद्धिन्छ भन्ने सोचबाट मुक्त भएर पार्टीलाई पुनर्गठनमा लैजानुपर्छ ।’
पूर्वकेन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले अध्यक्ष ओली कार्यक्रममा प्रवेश गरेलगत्तै निर्देशनात्मक मन्तव्य दिन सुरु गरेपछि प्रतिवाद गरेका थिए । महत्त्वपूर्ण कार्यक्रममा बोलाएर एकैछिन धैर्य गरेर नबस्ने, सुझाव पनि नसुन्ने, आफैँलाई सर्वेसर्वा ठान्ने पुरानै शैलीका कारण पार्टी आजको दयनीय स्थितिमा पुगेकाले पहिले आफूहरूको सुझाव सुनेपछि मात्र सम्बोधन गर्न ओलीको ध्यानाकर्षण गराएका थिए । अर्का पूर्वकेन्द्रीय सदस्य अरविन्द सिंहले किन्तु, परन्तु नगरीकन ओलीले पार्टीको नेतृत्व छोड्नु नै पुनर्गठनका लागि प्रारम्भ विन्दु हुने बताएका थिए ।
तर, ओली रोकिएनन् । करिब ५५ मिनेट निर्देशनात्मक मन्तव्य दिएर उनी बाहिरिएका थिए । त्यसक्रममा उनले बाह्य षड्यन्त्रका कारण आजको स्थिति आए पनि पार्टीपंक्तिमा आन्तरिक कमजोरी खोतल्ने, आत्मभत्र्सना मात्र गर्ने प्रवृत्तिले पार्टी एकता कमजोर भएको भन्दै यथार्थ धरातलमा टेकेर सुझबुझसहित प्रस्तुत हुन आग्रह गरेका थिए ।
ओलीको मन्तव्यजस्तै बाह्य परिस्थितिका कारण आजको परिस्थिति निम्तिएकाले संकटका वेला नेतृत्वलाई हटाउने नभई प्रतिरक्षा गरेर जानुपर्ने गुरु बराल र लक्ष्मी पोखरेलले मात्र सुझाव राखेका थिए । एमाले सचिवालय बैठकले सल्लाहकार र प्रवास कमिटीहरूबाट सुझाव संकलन गर्ने निर्णय लिएको थिएन ।
तर, पुनर्गठनको पक्षमा अभियान चलाइरहेका इन्जिनियर गजेन्द्र थपलिया, रमेश पौडेलसहितका युवाहरूले पार्टीमा महत्त्वपूर्ण योगदान गर्ने पूर्वपदाधिकारी, सांसद, सल्लाहकारसहितको ठुलो पंक्ति बाहिर रहेकाले उनीहरूको समेत सुझाव लिन महासचिव शंकर पोखरेललाई भेटेर ध्यानाकर्षण गराएका थिए । उनीहरूकै सुझावअनुसार पूर्वपदाधिकारी र सल्लाहकारहरूबाट पनि एमालेले सुझाव लिएको हो ।
उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले मंगलबारै सुझाव संकलन अभियान सम्पन्न गरेको छ । बुधबार बस्ने कार्यदल बैठकबाट प्रतिवेदन लेखनको काम अघि बढ्ने प्रचार विभाग प्रमुख नीरज आचार्यले बताए । ‘कार्यदलले सचिवालयको निर्णयअनुसार सुझाव संकलनको काम सम्पन्न गरेको छ, बुधबार बैठक बसेर कार्यदलले प्रतिवेदन लेखनको निर्णय गर्छ,’ आचार्यले भने, ‘कार्यदलले कार्यादेशअनुसार एकीकृत प्रतिवेदन तयार गरी पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पार्टी पुनर्गठनको कार्ययोजनाका लागि सुझाव दिनेछ ।’
