काठमाडौं,१० मंसिर । मलेसिया जाने नेपाली श्रमीकबाट स्वास्थ्य परीक्षणको नाममा गैरकानूनी रुपमा रकम उठाएर ठगी गरेको प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीले छापा मारेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बूढानीलकण्ठस्थित उनको निवासमा बिहीबार साँझ छापा मारेको हो ।
उनलाई बिहीबार मात्रै प्रहरीले भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । सीआईबीको नियन्त्रणमा रहेका पूर्वमुख्यसचिव अर्याललाई भोलि म्याद थपका लागि अदालत लाने तयारी प्रहरीको छ ।
त्यसअघि सो प्रकरणसँग जोडिएका कागजात भेटिनसक्ने आशंकामा सीआईबीले उनको घरमा छामा मारेको हो ।
मुख्य सचिव भन्दा पनि श्रम, रोजगार सामाजिक सुरक्षा मन्त्रालयको सचिव भएका बेला गैरकानूनी रुपमा नेपाली श्रमीकसँग रकम उठाउने र त्यो रकम विदेश लैजाने काममा संलग्न भएको आरोप उनीमाथि छ ।
उनले कृष्णकुमार श्रेष्ठदेखि, शेरबहादुर कुँवर, डोल प्रसाद अर्याल र शरतसिंह भण्डारीसम्मका मन्त्रीसँग श्रम सचिवको भूमिकामा काम गरेका थिए । यो बीचमा श्रेष्ठको पालामा मात्रै रकम अवैध रुपमा मलेसिया गएको थिएन । बाँकी तीनै मन्त्रीको पालामा रकम मलेसिया पुगेको देखिन्छ । अर्यालले २०७८ मंसिर १५ देखि २०८० जेठ २९ सम्म श्रम सचिवको जिम्मेवारी सम्हालेका थिए ।
मलेसिया जाने कामदारबाट अवैध रुपमा रकम संकलन गर्ने र त्यसरी उठाइएको रकम मलेसिया लैजाने गरकोे आरोपमा यसका मुख्य योजनाकार रामेछापका कैलाश खड्कासहित ४ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २९ असोजमा पक्राउ गरेको थियो ।
अर्यालसहित यसअघि पक्राउ परेका १० जनालाई एकै पटक म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी थियो । तर अर्यालका भने नभ्याइएपछि बाँकी १० जनालाई पनि ढिला गरी अदालत उपस्थित गराइयो । उनीहरूलाई भने थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
अब अर्याललाई भने भोलिमात्रै अदालत उपस्थित गराइन्छ । म्याद मिलान गर्ने भएकाले उनलाई पनि बाँकी १० जनाको सँगै म्याद सकिने गरी सोमबार म्याद सकिने गरी म्याद दिने सम्भावना छ ।
सम्झौता विपरित सिण्डकेट खडा गरेर कैलाश खड्काको म्याक्रोटेकले नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने, गैरकानूनी रुपमा रकम उठाउने र त्यो रकम विदेश लैजान गरेको पाइएको छ ।
यसरी असुल गरिएको पैसा अमेरिकी डलर र पाउण्ड रुपान्तरण गरी मलेसिया पठाइएको छ । अहिलेसम्मको अनुसन्धानबाट १७ पटकसम्म यसरी पैसा पठाइएको छ ।
मलेसिया जाने श्रमीक (कामदार)बाट गैरकानूनी रुपमा उठाइएको रकम मध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ अवैध तरिकाले मलेसिया पुर्याइएको छ ।
यसरी गैरकानूनी रुपमा उठाइएको रकम मलेसिया पुर्याउने काममा काठमाडौंस्थित मलेसियन दूतावासका तत्कालीन राजदूत तथा कर्मचारीदेखि श्रम मन्त्रालयका सचिव, कर्मचारी, मन्त्री र राष्ट्र बैंकका कर्मचारीसम्म संलग्न देखिएको खुलेको छ ।
यो प्रकरणमा अहिलेसम्म दुई पूर्वमन्त्रीहरू रामेश्वर राय यादव, शेरबहादुर कुँवरसहित ११ जना पक्राउ परेको छन् । उनीहरुमाथि सीआईबीले ठगी र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।


