काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले आफूलाई यस्तो चुनौती दिए।
विपक्षीलाई तर्साएर आफ्ना बचाउनेविरुद्ध हिजो पनि प्रश्न उठाएको भन्दै वर्तमान सरकारलाई पनि प्रश्न गर्ने बताए। प्रधानमन्त्री वानेन्द्र शाहको सचिवालयले आफूलाई पक्राउ गर्न प्रहरीबाट निगरानी बढाएको संकेत गर्दै थापाले खाली हात नआउन भने।
‘मलाई समाउने भन्छन्। पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनु। खाली हात चाही जान्नँ। यत्ति कुरा हो। न कांग्रेसले आफ्नो चरित्र लुज गर्छ न कांग्रेसको नेतृत्वले चरित्र लुज र्छ। हामीले ठीक प्रश्न गर्न छाडौं भने, हामीलाई सकैले तर्साएर तर्सन थाल्यौं भने कांग्रेस होइन। हिजो बलले तर्साउन खोजिन्थ्यो आज सामाजिक सञ्जालले तर्साउन खोजिन्छ। प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन,’ उनले भने ।
कांग्रेसका सभापति गगन थापाले आफू पार्टी नेतृत्वमा आइसकेपछि एमाले अध्यक्ष केपी ओलीसँग पाँच पटक भेट गरिसकेको बताएका छन्।
उनले भने, ‘मैले कांग्रेसको सभापति भइसकेपछि केपी ओलीलाई पाँच चोटि भेटेको छु। अस्ति मैले पाँचौँ पटक भेटेँ। म कांग्रेस सभापति हुँ, एमालेको अध्यक्षसँग मेरो भेटघाट हुन्छ, माओवादी अध्यक्षसँग भेटघाट हुन्छ, रास्वपाको सभापतिसँग भेटघाट हुन्छ। प्रधानमन्त्रीले कोहीसँग भेटघाट नगर्ने भएको हुनाले उहाँसँग हुँदैन, बाँकी सबैसँग हुन्छ।’ कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा मंगलबारदेखि शुरू भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको १५औँ महाधिवेशनले आगामी चार वर्षका लागि राष्ट्रिय पुनर्जागरण र समुन्नतिको मार्ग तय गरेकाले सोहीअनुसार पार्टीको नीति, विचार र आगामी कार्यदिशा निर्धारण गरिने बताए ।
“विगतको गौरवशाली इतिहासको स्मरण गर्दै नयाँ इतिहास निर्माण गर्ने सङ्कल्प गरेका छौँ, राष्ट्रिय पुनर्जागरणलाई विगतको निरन्तरता, वर्तमानको सुधार र भविष्यको आकाङ्क्षासँग जोडेर अघि बढ्ने छौँ । आगामी दिनमा राज्य र नागरिकबीच कमजोर हुँदै गएको विश्वास पुन:स्थापित गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने छ”, उनले भने ।
सभापति थापाले गत फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै त्यसको समीक्षा गरी स्पष्ट नीति तथा कार्यक्रमका साथ जनताको विश्वास जिती लोकप्रिय पार्टीका रुपमा स्थापित हुनसक्नुपर्नेमा जोड दिए ।
उनले २०६२/६३ को जनआन्दोलनपछिका २० वर्षको राजनीतिक अवस्थाको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै संविधान निर्माणपछि जनताका आकाङ्क्षा पूरा गर्ने सवालमा राजनीतिक दलहरू चुकेको बताए ।
सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले गत संसदीय निर्वाचनमा प्राप्त गरेको जनादेशलाई कांग्रेसले सम्मान गर्ने बताउँदै रास्वपालाई पाँच वर्ष निर्बाध रूपमा सरकार सञ्चालन गर्न दिनुपर्ने धारणा व्यक्त गरे ।
कांग्रेसले प्रमुख प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने उल्लेख गर्दै उनले सरकारका राम्रा काममा सहयोग गर्ने, कमजोरीमा प्रश्न उठाउने, आवश्यकताअनुसार खबरदारी र प्रतिरोध गर्ने धारणा राखे ।
उनले पार्टीको विधान कार्यान्वयनमा भने कुनै सम्झौता नहुने भन्दै कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को राजनीतिक दलको सदस्यता लिने व्यक्तिले सम्बन्धित पदबाट राजीनामा दिनुपर्ने बताए ।
सभापति थापाले राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा वा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएका जनप्रतिनिधिले अर्को दलको सदस्यता लिएमा विधानअनुसार कारबाही हुने स्पष्ट गरे ।
सभापति थापाले आगामी पुस १५ गतेभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई अनुरोध गरिएको जानकारी दिए । बैठकमा स्थानीय निर्वाचनको प्रारम्भिक तयारी र आगामी राजनीतिक कार्यदिशाका विषयमा समेत छलफल हुने उनले बताए ।


