हामी सबैलाइ थाहा छ अहिले सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको नेपाल प्रहरीको आइजीपीको जिम्मेवारी हेरफेर सम्वन्धि मुद्दा आम चासोको विषय बनिरहेको छ । नेपाल प्रहरी सेवा प्रवेशको लागि विशिष्ट छनोट प्रक्रिया पार गर्दै , महिनौं लामो कठिन तालिम पुरा गर्दै , वृति विकासको अनेकन खुड्किलो चढेर आइजीपी भएको एक अधिकृतलाई ऐन नियम कानुनले कल्पना नै नगरेको प्रक्रिया मार्फत हुँदै नभएको पदमा सरुवा गर्ने गैरकानुनी कामका विरुद्ध सम्मानित सर्वोच्च अदालत जाने सहासिक निर्णयले कानुनीराज माथिको हमलालाई चुनौती दिएको छ । अनि आम मानिसहरुमा अब के हुन्छ ? भन्ने चासो र चिन्ता छ । कानुनी राज्यको मान्यताको बर्खिलाफ हुने ढंगको काम भएको अवस्थामा त्यस्तो कामको विपक्षमा जनता उभिनु स्वाभाविक नै हो ।
भनिन्छ नि ! सबै लडाँइहरु निजि हुदैनन र यो प्रहरीको आइजीपीलाई जिम्मेवारी विमुख गर्ने काम विरुद्धको लडाँइ पनि निजी हुँदैहैन । न त यो प्रहरी आइजीपीबाट जिम्मेवारी विहिन बनाइएका र त्यसो गर्दै गर्दा आइजीपी बनाइएका दुई अधिकृत विचको लडाँइ नै हो । यो त विधिको पालना गर्ने वा नगर्नेहरु विचको लडाँइ हो ।
यो नेपाल प्रहरीको अस्तित्व रक्षाको लडाँइ हो । विस्तारै ठुला नेता र दलीय दवावहरु इन्कार गर्दै नेता भन्दा जनता प्रति उत्तरदायी बन्दै गएको नेपाल प्रहरी लाइ फेरी सत्तामा रहेका नेताको दास बन्न दिने वा नदिने भन्ने लडाँइ हो । त्यसो हुँदा यो लडाँइ आम नेपालीहरुको हितको पक्ष र विपक्षको लडाँइ हो । अनि ने जसरि अहिलेको सत्ता यो मुद्दा लाइ लिएर न्यायलय लाइ तर्साउने देखि संसद लाइ अत्याउने सम्मको खेलमा लागेको छ त्यसले त यो संवैधानिक सर्वोच्चताको पक्ष र विपक्षको लडाँइ पनि बन्दै गएको छ ।
अनि यो मुद्दा भित्रको गाम्भीर्यतालाइ नबुझेर वा बुझेर पनि बुझ पचाएर कतिपय यसलाइ दान बहादुर कार्कीको निजी लाभ हानिको मुद्दा पो हो कि भन्ने झैँ बनाउँदै छन । सायद त्यसैले हुनु पर्छ जुन हिसावले लोकतन्त्र र कानुनी राजका पक्षधर दलहरु एक ठाउँ आएर आइजीपी हटाउने गैरकानुनी कामको विरोध हुनु पथ्र्यो त्यो भएको देखिन्न । भलै नेताहरु यदा कदा बोलेको सुनिन्छ तर जुन महत्वका साथ लिखित रुपमा सर्वदलीय धारणा आउनु पथ्र्यो त्यो आएको छैन । यद्धपि त्यसको वावजुद सत्य यो पनि हो कि अनेकन चुनौती सहन तयार भएर दान बहादुर कार्कीले लडेको लडाँइ उनको निजी लाभ हानिको लागि नभई कानुनी राजका पक्षधर सबैको लागि हो ।
उनकै लागि त उनी आइजीपी भैसकेकै थिए , सरकारले गरेको गैरकानुनी नै सही सल्लाहकार पद सम्हालेर सत्ताको चाकरी गर्न खोजको भए उनले सेवा निवृतिपछि राजनीतिक यात्राको बाटो निश्चित गर्न पनि सक्थे र उस्तै परे चाकरीको माध्यम बाट सरुवापूर्वको पदमा आफु फर्केर भएका आइजीपीलाई त्यहाँ पठाउन पनि सक्थे । तर उनले त्यसो गरेनन । उनले परिणाम र परिस्थिति जे परे पर्ला भनेर लडने सहास देखाए , म त्यो सहासलाइ सलाम गर्न चाहन्छु । भोलि फैसला के होला , परिणाम जे होला तर दान बहादुर कार्कीले सबै खाले चुनौती स्वीकार्दै सत्ता र शक्ति भन्दा संविधान र कानुन ठुलो हुनुपर्छ भनेर स्थापित गर्न खोजेको मुद्दा महत्वपूर्ण हो । हो यो लडाँइ नै हो , हार वा जित जे पनि हुनसक्छ , यत्ति हो हार्दा वा जित्दा जे हुँदा पनि संविधान , कानुन र विधिको शासनले हार्ने वा जित्ने हो किन कि यो लडाँइ व्यक्तिगत हैन ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।


