काठमाडौं, १० असार ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेतृत्व गरिरहेको दल नेपाली कम्युनिष्ट पार्टी(नेकपा)सँग कार्यगत एकताको सम्भावना नजिकिरहेको ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको अहिलेको रास्वपा सरकार बाह्य शक्तिको रुचिअनुसार नियोजित रुपमै नेपालको वाम अन्दोलनविरुद्ध देखिएको गम्भीर विश्लेषण गर्दै ओलीले सबै नेपाली वाम शक्तिको सम्भाव्य कार्यगत एकताबारे केन्द्रीय सचिवालयको पछिल्लो बैठकमा ब्रिफिङ गरेका हुन् ।
त्यसक्रममा प्रचण्डले नेतृत्व गरिरहेको दलसँगै सदन, सडकसहित सबै मोर्चामा तत्काल कार्यगत एकता गरेर जान सकिने र त्यसक्रममै फेरि पनि एकता गरेर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन सकिने सम्भावना पनि ओलीले औंल्याएका छन् ।
केही दिनअघि प्रचण्डसँग पाँच घण्टा आसपास लामो र गम्भीर वार्तालगत्तै मंगलवार बसेको एमाले सचिवालय बैठकमा ओलीले गरेको ब्रिफिङलाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रचण्डले पनि एमालेको सम्भावित एकताबारे ओलीसँगको पछिल्लो वार्ताबारे निकट नेताहरुलाई सुनाइसकेका छन् । ओलीसँग प्रचण्डको गोप्य संवाद भएको जानकारीपछि नेकपाका सहसंयोजक माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको सार्बजनिक मन्तव्य दिएका थिए ।
ओलीले नेपालमा कम्युनिष्ट शक्ति समाप्त पार्न बाह्य शक्तिकै योजनाअनुसार सरकार परिचालित भइरहेको विश्लेषण सुनाएको एक पदाधिकारीले बताए । संविधान, कानुन, विधि र प्रक्रिया सबै मिचेर अहिलेको सरकार एमाले बदनाम गर्न धरपकडमा उत्रिएको उनको भनाई थियो ।
‘बालेन्द्र सरकार वाम आन्दोलन र अझ एमालेकैविरुद्ध नियोजित रुपमै परिचालित भइरहेको देख्नुभएकै छ, अनेकन दुष्प्रचारहरु पनि भइरहेका छन्, लोकतन्त्रको मूल्य–मान्यता नै समाप्त पार्दै विधि, प्रक्रिया, कानुनी मान्यता सबै मिचेर पार्टी नेताहरुमाथि धरपकडमा लागेको छ, जसरी हुन्छ बदनाम गर्नेतिर लागेको हुनाले पार्टी एकढिक्काका साथ अघि बढ्नुपर्ने आवश्यकता छ’ केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै एक उपाध्यक्षले भने,‘त्यसैले पनि अबका दिनमा विचार मिल्ने वाम पार्टीहरुसँग संवाद बढाएर मिलेर जानुपर्ने पनि हुनसक्छ ।’ यद्यपि, ओलीले प्रचण्डको नाम भने नलिएको ती पदाधिकारीले बताए ।
‘एमालेलाई सिध्याउन चाहने, नेपालमा वाम आन्दोलन नरुचाउने कतिपय बाह्य शक्तिहरुका कारण वाम आन्दोलन खतरामा परेको छ, तिनीहरुलाई पार्टीभित्र पनि मिलेर र निकट शक्तिहरुलाई पनि मोर्चाबन्दी गरेर वलियो एकतासहित जवाफ दिन पनि वाम आन्दोलनलाई सुदृढ बनाउन समाजवाद पक्षधर पार्टीहरुबीच सम्वाद बढाउनुपर्छ । ’ ओलीको भनाई उद्धृत गर्दै अर्का पदाधिकारीले भने ।
एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि भएको धरपकडबारे छलफल गर्न सचिवालय बैठक बसेको थियो ।
