काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरी, सिरहा, जनकपुरलगायत तराई क्षेत्रमा फैलिएको सामूदायिक तनावको संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन र सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन आग्रह गरेकी छिन् ।
विहिबार विज्ञप्तिमार्फत अपिल गर्दै पूर्व राष्ट्रपति भण्डारीले त्यस्तो आग्रह गरेकी हुन् । ‘वतर्मान संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उच्च संयमता अपनाउन, कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन हार्दिक आग्रह गर्दछु ।’ अपिलमा उनले भनेकी छिन् । कुनै एक घटनालाई आधार बनाएर कुनै पनि सम्पूर्ण समुदायप्रति अविश्वास, द्वेष वा प्रतिशोधको भावना राख्नु हाम्रो राष्ट्रिय हित, सामाजिक संस्कार तथा लोकतान्त्रिक मूल्यमान्यताअनुकूल हुन नसक्नेतर्फ उनले देशवासीलाई सचेत गराएकी छिन् ।
त्यस्तै, घटनाको निष्पक्ष छानबिन गरी शान्ती सुरक्षा पुनस्र्थापित गर्ने कदम चाल्न सरकारलाई भण्डारीले आग्रह गरेकी छिन् । ‘नेपाल सरकार, सम्बन्धित प्रशासनिक निकाय तथा सुरक्षा निकायलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र नागरिकहरुको विश्वास पुनस्र्थापित गर्न आवश्यक सबै कदम चाल्न आग्रह गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई धर्म, संस्कृति र परम्पराको स्वतन्त्रतापूर्वक अभ्यास गर्ने मौलिक अधिकार सुनिश्चित गरेकाले सबैको आस्था,संस्कृति र अधिकारप्रति सम्मान प्रकट गर्नु सबैको दयित्व भएको पूर्वराष्ट्रपति भण्डारीको भनाई छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सद्भावका पक्षमा उच्च संयमता अपनाउन पूर्व राष्ट्रपति भण्डारीको अपिल
Next Article सद्भाव कायम राख्न प्रधानमन्त्री बालेनको आग्रह
