वागमती भेलामा नेताहरुका लागि सुझाव दिन ५ मिनेट समय छुट्याइएको थियो । केन्द्रीय कमिटी बैठक नबसेका कारण चुनावपछि पार्टी नेताहरुको सामुन्य पहिलो अवसर जुटेकाले पनि समीक्षा र पुनर्गठनबारे बाँस्कोटाले तार्किक र चोटिला कुरा राख्न सुरु गरे । तर, उनको सम्बोधनले हलको ध्यान तानिरहेका बेला बोल्दाबोल्दै ५ मिनेट फुत्त बितिहाल्यो । समय बित्ने बितिक्कै बस्नेतले छ मिनेट त बित्यो त कमरेड के भनेका थिए…बाँस्कोटा हलबाट कड्किदैं जवाफ फर्काए ।
काठमाडौं, २ असार ।
एमाले सचिव महेश बस्नेत र पूर्वमन्त्री तथा नेता गोकूल बाँस्कोटा वागमती प्रदेशका प्रभावशाली नेता हुन् । तीन दशकभन्दा बढि समयदेखि अध्यक्ष केपी शर्मा ओली निकट रहँदै आएका दुईमध्ये बाँस्कोटा भने तीन वर्षयता उनीसँग टाढिएका छन् । बस्नेतले ओली प्यानलबाट एघारौं महाधिवेशनमा सचिव जित्दा बाँस्कोटा पूर्व राष्ट्रपति विद्या भण्डारीको साथ रहेको ईश्वर पोखरेल प्यानलबाट सबैभन्दा कम मतान्तरमा सचिव पदमै पराजित भएका थिए ।
उता, वागमती ईन्चार्ज रहेका बस्नेत गत २१ फागुनको निर्वाचनमा रास्वपाका राजीव खत्रीसँग पराजित भए । तर, त्यही चुनावमा जित्नसक्ने थोरै नेताका रुपमा चर्चामा रहेका बाँस्कोटाले बस्नेतकै कारण टिकट नपाएको एमाले वृत्तमा चर्चा छ । ओली अरु नेताले जस्तै बाँस्कोटाले पनि आफूलाई गुण्डु निवासमा आएर भेट्ने र टिकट लिएर जाने विश्वासमा थिए । तर, ओलीसँग मन भाँचिएर पूर्व राष्ट्रपति भण्डारी निकट भइसकेका बाँस्कोटाले ओलीलाई भेटेर टिकट माग्ने र लिने रुचि राखेनन् ।
उता, बाँस्कोटा पनि ओलीले बोलाएर कुराकानी गरेको खण्डमा मात्र टिकट लिने कि नलिने निर्णय लिने मुडमा थिए । ओलीलाई एक कल टेलिफोनसम्म नगर्ने बाँस्कोटाले ईन्चार्ज बस्नेतलाई टिकट माग्ने कुरै थिएन । यसैगरी ओली–बाँस्कोटाबीच केही समय लुकामारी जस्तो चलिरहँदा बस्नेतले विकल्पमा अघि सारेका अशोक ब्याञ्जुले अन्तत ः टिकट पाए ।
जबकी उनलाई मुखै फोरेर बस्नेतले पनि बैकल्पिक रिजर्भ उम्मेद्वारका रुपमा मात्र राखेका थिए । तर, गोकूलले मुख नखोज्दा उनलाई धुलिखेल नगरपालिकाको मेयरबाट राजीनामा गराएर टिकट दिइएको थियो । ०५४ मै उपमेयर भएका ब्याञ्जु ०७४ र ०७९ मा दुई पटक मेयर जितिसकेका लोकप्रिय नै जनप्रतिनिधि हुन् । तर, बाँस्कोटालाई ब्लक गर्न सारिएका ब्याञ्जुले बाहलवाला मेयर पद गुमाउनुप¥यो ।
बाँस्कोटालाई मात्र होइन, फरक कित्तामा रहेका नेता सुरेन्द्र पाण्डे र योगेश भट्टराईलाई पनि टिकट नदिईदाँ एमालेले झन् ठूलो क्षति ब्यर्होनुपरेको अहिले पनि पार्टी वृत्तमा समीक्षा हुने गर्दछ ।
एमालेले ब्यहोरेको क्षति र पार्टी पुनर्गठनका विषयमा सुझाव लिने ३१ जेठको वागमती प्रदेश भेलामा पछिल्लो पटक उनै बाँस्कोटाले सचिव बस्नेतसँग केहीबेर नोकझोक गरेका छन् ।
वागमती भेलामा नेताहरुका लागि सुझाव दिन ५ मिनेट समय छुट्याइएको थियो । केन्द्रीय कमिटी बैठक नबसेका कारण चुनावपछि पार्टी नेताहरुको सामुन्य पहिलो अवसर जुटेकाले पनि समीक्षा र पुनर्गठनबारे बाँस्कोटाले तार्किक र चोटिला कुरा राख्न सुरु गरे । तर, उनको सम्बोधनले हलको ध्यान तानिरहेका बेला बोल्दाबोल्दै ५ मिनेट फुत्त बितिहाल्यो । समय बित्ने बितिक्कै बस्नेतले छ मिनेट त बित्यो त कमरेड के भनेका थिए…बाँस्कोटा हलबाट कड्किदैं जवाफ फर्काए ।
आफूले घण्टौ बोल्ने, अरुले बोल्दा मिनेटको हिसाब राख्ने ?… सहभागी एकले उद्धृत गर्दै भने । बाँस्कोटा कड्किएपछि बस्नेतले नियन्त्रण गर्न सक्ने स्थिति बनेन ।
पार्टीभित्र अध्यक्षदेखि जुनसुकै नेतासँग आफ्नै शैलीमा सवाल–जवाफ गर्न सक्ने मात्र होइन, चित्त नबुझेपछि चलनचल्तीको भाषामा अरुमाथि कडा प्रहार गर्नसक्ने पूर्व वरिष्ठ पत्रकार बाँस्कोटाले त्यसपछि थप सम्बोधन अगाडि बढाए र भेलामा आफूलाई लोकप्रिय नेताका रुपमा उभ्याए ।
