आकांक्षीहरु बढेका कारण व्यबस्थापनका लागि अहिलेको संख्या दोब्बर पारेर प्रस्तावित विधानमा १६ सदस्यीय पदाधिकारी प्रस्ताव गरिएको छ । अझ यो बढेर १९ या २१ सम्म पुग्नसक्ने धेरैको आँकलन छ । प्रस्तावित विधानमा सभापतिसहित १० जना दुई चरणमा हुने महाधिवेशनको हलबाट निर्वाचित हुनेछन् भने ६ जना पदाधिकारी पार्टी सभापतिलाई नै मनोनीत गर्ने अधिकार दिइएको छ ।
काठमाडौं, २ असार ।
पाँच दिनपछि सुरु हुने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा झण्डै तीन दर्जन नेताहरु पदाधिकारीका आकांक्षी देखिएका छन् ।
सभापतिबाहेक कोषाध्यक्षसम्मका सबै पदमा चुनावी प्रतिस्पर्धाका लागि त्यति धेरै नेताहरु आकांक्षी देखिएका हुन् । सभापतिमा भने रवि लामिछाने नै दोहोरिने सम्भावना रहेको एक पदाधिकारीले बताए ।
रास्वपाको महाधिवेशन ७ देखि ९ असारमा चितवनमा हुँदैछ । महामन्त्री कविन्द्र बुर्लाकोटीले ६ सय ९ पालिका र ४ हजार ६३ वडासहित ६४ जिल्लामा अधिवेशन सकिएको जनाएका छन् ।
आकांक्षीहरु बढेका कारण व्यबस्थापनका लागि अहिलेको संख्या दोब्बर पारेर प्रस्तावित विधानमा १६ सदस्यीय पदाधिकारी प्रस्ताव गरिएको छ । अझ यो बढेर १९ या २१ सम्म पुग्नसक्ने धेरैको आँकलन छ । प्रस्तावित विधानमा सभापतिसहित १० जना दुई चरणमा हुने महाधिवेशनको हलबाट निर्वाचित हुनेछन् भने ६ जना पदाधिकारी पार्टी सभापतिलाई नै मनोनीत गर्ने अधिकार दिइएको छ ।
प्रस्तावित विधानमा एक महिलबाट प्रतिनिधित्व रहनेगरी तीन जना उपसभापति रहने व्यवस्था लैजान लागिएको छ । । एक महिला सभापतिमा सात जना दौडमा लागेका छन् ।
वतर्मान कमिटीमा कोषाध्यक्ष रहेकी लिमा अधिकारी, सह–कोषाध्यक्ष वसुमाया तामाङ, सह–प्रवक्ता प्रतिभा रावल, सचिवालय सदस्यद्वय सोबिता गौतम, सरिताश्री ज्ञवाली, केन्द्रीय सदस्यद्वय इन्दिरा राना, समीक्षा बास्कोटा उपसभापतिका लागि दौडमा छन् । अधिकारी पूर्व अर्थमन्त्री तथा एमाले पूर्व उपाध्यक्ष स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन् भने बाँस्कोटा कांग्रेस नेता दिपकप्रकाश बाँस्कोटा पूत्री हुन् ।
त्यस्तै, खुला उपसभापति दुई पदमा अर्थमन्त्री स्वर्णिम वाग्लेको नाम बढि चर्चामा छ । उनी अहिले पनि सोही पदमा छन् । अर्को एक पदमै सुनील लम्साल, विराजभक्त श्रेष्ठ, गणेश कार्की लगायतको नाम चर्चामा छ । यसअघि उपसभापति रहेका डिपी अर्याल अहिले सभामुख छन् । लम्साल बालेन समूहबाट मन्त्री छन् ।
दुई महामन्त्रीमा वतर्मान महामन्त्री कविन्द्र बुर्लाकोटी र बालेन समूहबाट भूपदेव शाहको नाम चर्चामा छ । शाहलाई प्रधानमन्त्री बालेनले पुरानै पदमा या उपसभापतिमा पनि उठाउने सम्भावना छ । त्यस्तै, विपिन आचार्य, चर्चित पूर्व पत्रकार प्रमोद न्यौपानेदेखि नेताहरु प्रवक्ता मनिष झाहुँदै पार्टी सभापति रवी लामिछाने तत्कालीन गृहमन्त्रीहुँदा पिएको भूमिकामा पनि रहेका दीपक बोहरासम्मले महत्वपूर्ण पद महामन्त्रीमै रुचि राखेका छन् । त्यसो त, कानुनमन्त्री रहेकी सोबिता गौतमले पनि उपसभापति बन्न नपाए महामन्त्रीमा उम्मेद्वारी दिनसक्ने चर्चा पनि छ ।
त्यस्तै, प्रस्तावित चार सह–महामन्त्रीमा एक महिला प्रस्ताव गरिएकोमा क्रान्तिशिखा धिताल, टीका संग्रौला (ज्वाला), कुसुम महर्जन लगायतले रुचि राखेको स्रोतले जनाएको छ ।
खुला तीन पदतर्फ शिशिर खनाल, रमेश प्रसाईं, असिम शाह, रोहन कार्की, प्रकाशचन्द्र परियार, खगेन्द्र सुनार, सागर ढकाल लगायतले आकांक्षा राखेको एक पदाधिकारीले बताए । सहमहामन्त्रीमै डा. तोसिमा कार्की र निशा डाँगीको नाम पनि चर्चामा छ । मन्त्री सोबिता गौतम लड्ने पदमै डा. कार्की लड्ने सम्भावना पनि छ । गौतम मन्त्री रहेका कारण अहिले नेता–कार्यकर्ताको बढि सहानुभूति भने कार्कीलाई रहेको बुझिएको छ ।
प्रस्तावित विधानमा एक प्रवक्ता, तीन सह–प्रवक्ता, एक कोषाध्यक्ष र एक सह–कोषाध्यक्ष भने सभापतिले मनोनीत गर्ने प्रस्ताव गरिएको छ ।
करिब दुई तिहाई सिट जितेको दलको पहिलो महाधिवेशन भएकाले रास्वपाको यस महाधिवशेनलाई विशेष चासोका साथ हेरिएको छ ।
