काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक मतभेद समाधान गर्ने उद्देश्यले संस्थापन पक्षले अघि सारेको ७ बुँदे सहमति प्रस्ताव सार्वजनिक भएको छ।
सहमतिको पहलस्वरूप तयार पारिएको यो प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता शेखर कोइराला समूहलाई पठाएका थिए । तर दुवै पक्षबाट औपचारिक प्रतिक्रिया नआएपछि उक्त प्रस्ताव सार्वजनिक गरिएको हो ।
प्रस्तावमा पार्टीभित्र लामो समयदेखि देखिँदै आएका मतभेदलाई स्वीकार गर्दै अब एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। विशेष महाधिवेशनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै संगठनलाई थप सुदृढ बनाउने उद्देश्य प्रस्तावमा समेटिएको छ।
सहमति प्रस्तावका मुख्य बुँदाहरूमा विशेष महाधिवेशनको परिणाम स्वीकार गर्दै सबै विवादलाई आगामी १५औँ महाधिवेशनको बन्दसत्रमा छलफल गर्ने व्यवस्था, पार्टी सदस्यहरूबीच कुनै पनि प्रकारको विभेद नगर्ने नीति, तथा संगठनलाई एकताबद्ध बनाउने प्रतिबद्धता समावेश गरिएको छ।
त्यस्तै, क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया निर्धारित समयमै पूरा गर्ने, वरिष्ठ नेताहरूलाई केन्द्रीय समितिमा सम्मानजनक भूमिकामा समेट्ने, तथा कार्यसम्पादन समितिमा समावेशी सहभागिता सुनिश्चित गर्ने विषय पनि प्रस्तावमा उल्लेख छ।
यसैगरी, १५औँ महाधिवेशनका लागि निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सहकार्य गर्ने तथा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव पनि समेटिएको छ।
भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा योग्य र इच्छुक सदस्यहरूलाई जिम्मेवारी दिने विषय पनि प्रस्तावमा उल्लेख छ।
सार्वजनिक नगरी आन्तरिक राखिएको यस्तो थियो जेठ १६ मा पठाइएको परिमार्जित ७ बुँदे प्रस्ताव l
सबै सँगै बढौं यसरी
विभिन्न कालखण्डमा विविध प्रकृतिका विवाद र फरक मत नेपाली काँग्रेस पार्टीभित्र प्रकट हुँदै आएका छन् l भिन्न मतहरु सुरक्षीतगर्दै अभिन्न रहेर अघि बढ्ने नेपाली काँग्रेसको परम्परा दृस्टिगतगर्दै अघिबढ्न हामी प्रतिबद्ध छौँ l
बिशेष महाधिवेशन पश्चात् उत्पन्न परिस्थिति र अबको बाटोका सन्दर्भमा __
१) बिधानको १७(२) बमोजिम सम्पन्न बिशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अधावधिक अनि सम्मानित सर्वोच्च अदालतले अन्तिम छिनोफानो गरिसकेको यथार्थ आत्मसात गर्दै विमतिका सबै बिषय बिर्षिएर एकताबद्ध भएर अघि बढ्ने l
तर बिशेष अधिवेशनको प्रक्रिया र परिणाम उपरको विमतीलाई आफ्नो राजनैतिक एजेन्डाका रूपमा १५ औं महाधिवेशनको बन्दसत्रमा मौखिक / लिखित दुवै रूपमा प्रस्तुत गर्न सकिने l
बिशेष महाधिवेशनमा सहभागी रहेको या नरहेको आधारमा पार्टीका कुनैपनी सदस्यलाई फरक कोणबाट नहेर्ने, फरक ब्यवहार नगर्ने l
२) महाधिवेशन तयारी क्रमको पहिलो चरण कृयाशिल सदस्यता अधावधिक गर्ने प्रक्रियालाई निर्धारित समयभित्र पूरा गर्ने l
( पार्टी बिधानमा विगतदेखीनै रहेकोे यस सम्बन्धि व्यवस्थाबारे रहेका अष्पस्टतालाई स्पष्ट गरेर अघि बढ्ने )
३) पार्टीमा लामो समय योगदान गर्नुभएका अग्रज नेताहरू मध्येबाट केहि अग्रजलाई केन्द्रीय समितिमा वरिष्ठ नेताका रूपमा सम्मानित भुमिकामा स्थापित गर्ने l
४) विगतमा केन्द्रीय समितिमा रहेका र नरहेका साथीहरू मध्येबाट जिम्मेवारी निर्वाह गर्न इच्छुक साथीहरूलाई केन्द्रीय समितिमा निश्चित संख्यामा सम्मानपुर्वक जिम्मेवारी प्रदान गर्ने l कार्यसम्पादन समितिमा सम्मानजनक सहभागिता रहने l
( तर महाधिवेशनमा स्वत भाग लिन पाइने परम्परा अन्त्य गरि, केन्द्रीय समितिमा रहेका सबैले वडा तहबाट नै प्रतिनिधि बनेर अनिवार्य आउनुपर्ने )
५) पन्ध्रौं महाधिवेशन गराउने निर्वाचन समिति, अनुशासन समिती र कृयाशिल सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिता र सहकार्य गर्ने l
६) केन्द्रीय समितिको अंग रहनेगरी बैठकबाट १५ औं महाधिवेशन व्यवस्थापन समिती गठन गर्ने l
७) भ्रातृ र शुभेच्छुक संस्थाहरुको केन्द्रीय समितिमा कार्य गर्न इच्छुक साथीहरूलाई सभापतिनै अथवा पदाधिकारी या उहाँहरुको चाहना र योग्यता अनुरुपको जिम्मेवारी प्रदान गर्ने l
नोट – १६ जेठमा पठाएको ७ बुँदा १६ दिनसम्म जवाफ नआएपछि जेठ ३१ गते सार्वजनिक
