काठमाडौं, ३१ जेठ ।
नेपाली कांग्रेसको संस्थापन पक्षले वार्ता र सम्बादलाई प्राथमिकता नदिएपछि असन्तुष्ट निवतर्मान सभापति शेरबहादुर देउवा पक्षले वरिष्ठ नेता शेखर कोइराला पक्षसँग मिलेर धमाधम प्रदेश भेलाहरु अघि बढाएको छ ।
जनकपुर भेला सकिएलगत्तै आज बिराटगरमा देउवा–कोइराला पक्षले प्रदेशस्तरीय भेला गरिरहेका छन् । शनिवार मात्रै देउवा–कोइराला पक्षले काठमाडौंमा वृहत्त युवा भेला आयोजना गरेको थियो । युवा भेलामा धेरै सहभागिता देखिएपछि देउवा–कोइराला पक्ष थप उत्साहित बनेको छ ।
देउवा–कोइराला पक्षका युवा नेता कुन्दनराज काफ्लेले संस्थापन पक्षले पार्टी मिलाउनेगरी ठोस र निर्णायक कदम नचाली सदस्यता अद्यावधिकको एकोहोरो प्रोपोगाण्डा गरिरहेको दावी गरेका छन् । उनले ५ लाख बढि सदस्यता अद्यावधिक भनिए पनि २ देखि साँढे २ लाखभन्दा बढिको अद्यावधिक नभएको दावी गर्दै प्रमाण सार्बजनिक गर्न खुल्ला चुनौति दिइरहेका छन् ।
‘संख्या त जति भन्दा पनि भयो तर अहिलेको खुल्ला जमानामा उहाँहरुले सबैको प्रमाण सार्बजनिक गर्न सक्नुहुन्छ ? हामीले पनि सबैतिर बुझेका छौं, २ देखि अढाइलाख भन्दा सदस्यता अद्यावधिक भएकै छैन ।’
उता, बिरानगरमा चलिरहेको भेलालाई डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदारलगायतले सम्बोधन गर्दैछन् । भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
इतर पक्षले वागमती, कर्णाली, सुदुरपश्चिम र मद्येस प्रदेशमा भेला गरिसकेको छ ।
