काठमाडौं ४ असार ।
नेकपा (एमाले) भित्र नेतृत्व, संगठन र कार्यशैलीमा व्यापक सुधारको आवश्यकता औंल्याउँदै “विशेष अनुरोध” शीर्षकको एक अपिल सार्वजनिक भएको छ। अपिलमा पार्टीको ऐतिहासिक योगदानको सम्मान गर्दै वर्तमान अवस्थामा जनआकर्षण घट्नु, संगठनात्मक ऊर्जा कमजोर हुनु तथा नयाँ पुस्तासँग भावनात्मक सम्बन्ध टुट्दै जानुजस्ता चुनौतीबारे गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख गरिएको छ।
अपिलमा २०८४ को निर्वाचनलाई ध्यानमा राख्दै पार्टीभित्र रूपान्तरण, पुस्तान्तरण र पुनर्संरचनाको अभियान अघि बढाउन आग्रह गरिएको छ। नेतृत्व परिवर्तनलाई यसको पहिलो कदमका रूपमा प्रस्तुत गर्दै पार्टी नेतृत्व र उम्मेदवार चयन प्रत्यक्ष सदस्यबाट निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ।
यस्तै, एक व्यक्ति एक पदको व्यवस्था लागू गर्न, नीति निर्माण तहमा न्यूनतम शैक्षिक योग्यता तोक्न तथा प्रत्येक कमिटीको अधिवेशनमा ६० प्रतिशत पुराना र ४० प्रतिशत नयाँ प्रतिनिधित्व सुनिश्चित गर्न सुझाव दिइएको छ।
अपिलमा एमालेको रूपान्तरण र पुस्तान्तरणलाई केवल संगठनात्मक विषय नभई नेपालको राष्ट्रियता, स्वाधीनता र समृद्धिसँग जोडिएको अभियानका रूपमा व्याख्या गरिएको छ। आगामी निर्णयले पार्टीलाई भविष्यमा नायक वा खलनायकका रूपमा चित्रित गर्न सक्ने भन्दै जिम्मेवार निर्णय लिन नेतृत्व र कार्यकर्तालाई आह्वान गरिएको छ।
उक्त अपिल “नेकपा (एमाले) रूपान्तरण र पुनर्संरचनाको लागि पुनर्जागरण अभियान–२०८२” को नामबाट सार्वजनिक गरिएको हो।
