काठमाडौं, ५ असार
नेकपा एमालेको चुनावी समीक्षा र पार्टी पुनर्गठन कार्यदलले सुरु गरेको सुझाव संकलन अभियानमा देशभरका बहुसंख्यक नेता–कार्यकर्ता पार्टीलाई बचाउन अध्यक्षको राजीनामाबाट पुनर्गठन सुरु गर्ने पक्षमा उभिएसँगै अध्यक्ष केपी ओली आफैं प्रतिरक्षामा उत्रिएका छन् ।
उनले सुझाव संकलन अभियानलाई नै प्रभावित पार्नेगरी भेला सुरु हुनुभन्दा अगाडि मन्तव्य दिएर कार्यकर्ताहरुलाई पार्टी फुट्नेतर्फ सचेत गराउँदै अध्यक्ष हटाउने धारणा पार्टीको संस्थागत धारणा नभएको बताउन थालेका छन् ।
३० जेठबाट वागतमती प्रदेशबाट सुरु भएको भेला कोशीहुँदै अहिले लुम्बिनी प्रदेशमा चलिरहेको छ । वागमतीबाट मुखर रुपमा सुरु भएको पुनर्गठनको आवाज कोशी हुँदै लुम्बिनीसम्म पुग्दा जिल्ला नेतृत्व तहका बहुसंख्यक नेतृत्व ओलीलाई बिदा गरेर माथिदेखि तलैसम्म पार्टीलाई नयाँ ढगले पुनर्गठन गर्नुपर्ने पक्षमा उभिएका छन् ।
उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा लगायत नेताहरूको सहभागितामा सम्पन्न लुम्बिनी प्रदेशको भेलालाई भर्चुल सम्बोधनमार्फत आृेलीले त्यसरी प्रतिरक्षा गरेपछि एमालेभित्र तरंग उत्पन्न भएको छ ।
देशैभर यस्तो माहौल बढ्दै गएपछि रक्षात्मक देखिएका ओलीले लुम्बिनी प्रदेशको भेलालाई सम्बोधन गर्दै भने,‘ हामीलाई यतिबेला पार्टीभित्र एकता, एकता र सुदृढ एकता आवश्यक छ । म कमरेडहरूलाई यसमा सचेत भएर अगाडि बढ्न आग्रह गर्दछु । पार्टीभित्र असमझदारी, फाटो, तल तलबाट अनेकताका कुराहरू सुनिनु÷आउनु आन्दोलनको हितमा छैन ।’
त्यस्तै, उनले पार्टीको सचिवालय बैठकले अब पार्टी कसरी अगाडि बढाउने भन्ने सिङ्गो पार्टीपङ्तीबाट राय लिने निर्णय गरेकाले सुझाव सङ्कलन थालेको जनाउँदै राय पार्टी सुदृढ र एकताबद्ध बनाउने हिसावले आउनुपर्नेमा जोड दिए ।
उनले अर्को महाधिवेशनबाहेक कुनै पनि निकायले आफूलाई हटाउन नसक्नेतर्फ संकेत गर्दै संस्थागत धारणा बाहिर नजान पार्टी पंक्तिलाई घुमाउरो रुपमा चेतावनी नै दिएका छन् ।
‘पार्टी एकताबद्ध नै छ । यसमा भ्रम नरहोस् । अध्यक्षलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा होइन । यो पार्टीको ११औं महाधिवेशनबाट विधिसम्मत ढङ्गले, कार्यकर्ताको बुद्धिमत्तापूर्ण निर्णयबाट टुङ्गो लागेको विषय हो ।’ ओलीले भनेका छन् ।
