चितवन, ६ असार।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ । सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ ।
यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने उनले जानकारी दिए । विधानतः सभापतिले मनोनय गर्ने सङ्ख्या २०० रहेको छ । यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठले बताए । आज बिहानसम्ममा गरिएको सूचीमाथि दाबी विरोध, दोहोरो पर्ने र छुटपुट भएमा त्यसलाई समावेश गरी अन्तिम नामावली प्रकाशन गरिनेछ ।
रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकमा सभापतिले विधानतः मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेस भएपछि साँझसम्ममा अन्तिम नामावली तयार हुने उनले जानकारी दिए। प्रारम्भिक तथ्याङ्कअनुसार कोशी प्रदेशबाट प्र्रतिनिधिको सङ्ख्या ५२० रहेको छ । मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उनले बताए।
