काठमाडौं, ९ असार ।
नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आक्रमक बनेको छ । उनको गिरफ्तारीविरुद्ध एमालेले एकै पटक कानुनी र राजनीतिक प्रतिवादसँगै देशैभर भण्डार अभियान संचालन गर्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुर, गुण्डुमा मंगलवार बसेको केन्द्रीय सचिवालय बैठकले त्यस्तो निर्णय गरेको हो ।
त्यसअघि ससदीय दलको बैठकले संसदमा पनि सशक्त संसद संघर्ष गर्ने निर्णय गरेको थियो । महासचिव शंकर पोखरेलले प्रतिशोधपूर्ण, पूर्वाग्रहप्ररित गिरफ्तारीविरुद्ध कानुनी र राजनीतिक प्रतिवादसँगै भण्डाफोर अभियान संचालन गर्ने निर्णय भएको जानकारी दिए ।
‘बिनाकुनै वस्तुपरक तथ्य र प्रमाण, केवल राजनीतिक प्रतिशोध साध्ने कुत्सित मनसायका साथ सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको गैरकानुनी गिरफ्तारीको पार्टीले राजनीतिक र कानुनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय भएको छ,‘बैठकपछि पोखरेलले भने,‘राज्य संयन्त्रको यस प्रकारको निरङ्कुश, प्रतिशोधपूर्ण र विभेदकारी कदमका विरुद्ध देशव्यापी रूपमा राजनीतिक प्रतिरोध र भण्डाफोर अभियान सञ्चालन गर्न बैठकले सम्पूर्ण पार्टीपङ्क्ति एवं न्यायप्रेमी जनसमुदायलाई हार्दिक आह्वान पनि गरेको छ ।
बैठकले पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी रहेको ठहर पनि गरेको छ । त्यस्तै, विशेष अदालतले र्पूपक्षका लागि थुनामा राख्न दिएको आदेश पनि न्यायसम्मत नरहेको एमालेले निष्कर्ष निकाल्दै अविलम्ब रिहाई गर्न माग गरेको छ ।
‘अदालती आदेशप्रति असहमतिः राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित यस घटनामा विशेष अदालतले पूर्वापक्षका लागि थुनामा राख्न दिएको आदेशसमेत न्यायसम्मत नरहेको ठहर गर्दछ । त्यसैले विनासर्त रिहाइको मागः बैठकले पार्टीका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई बिनासर्त अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’ पोखरेलले भने ।
