काठमाडौं, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका सहकर्मी र पुराना कम्युनिष्ट नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् ।
उनले दुवाकोटस्थित क्यान्सर अस्पताल पुगेर बस्नेतको शरीरमा पार्टीको झण्डा ओढाएका हुन् । उनीसँगै पार्टीका महासचिव शंकर पोखरेललगायतका नेता कार्यकर्ता अस्पताल पुगेर बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
बस्नेतको निधनपछि नेकपा एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समेत स्थगित गरेर भोलि दिउँसो ३ बजेलाई सारेको छ ।
बस्नेतको आजै पशुपति आर्यघाटको विद्युतीय शवगृहमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए।
पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए। लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराति उपचारक्रममा निधन भएको हो ।


