काठमाडौं, १७ असार ।
वागमती, कोशीहुँदै भूगोलका सातओटै प्रदेशमा भएका एमालेको पार्टी पुनर्गठन र निर्वाचनको समीक्षा तथा सुझाव भेला सकिदाँ अध्यक्ष केपी शर्मा ओलीलाई मद्येस प्रदेशबाट अहिलेसम्मकै ठूलो समर्थन प्राप्त गरेको छ ।
अधिकांश प्रदेशका धेरै नेता–कार्यकर्ता ओलीलाई हटाएर पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिदाँ मधेस प्रदेशमा भने ९५ प्रतिशतभन्दा बढि नेता–कार्यकर्ता उनकै निरन्तरताका पक्षमा उभिएका छन् । गत १३ असारमा सम्पन्न भेलामा मधेस प्रदेशका सबैजसो आफ्नो पक्षमा उभिएको जानकारी पाएर उत्साहित बनेका ओली १६ गते काठमाडौंभित्रै दुई ओटा कार्यक्रममा सहभागी भए ।
एकै दिन उनले राजधानी प्रदेश कमिटीको भेलालाई पार्टी कार्यालय च्यासलमा प्रमुख अतिथिकै रुपमा सहभागी भएर निर्देशनात्मक मन्तव्य दिए । त्यसलगत्तै उनले पार्टी सम्बद्ध जनसंगठन नेपाल खेलकुद महासंघको भेलालाई पनि सम्बोधन गरे ।
महासंघको पुनर्गठन भेलाले तत्कालीन ओली प्रधानमन्त्री रहेका बेला स्वकीय सहसचिव रहेका दिपेन्द्र दाहाललाई केन्द्रीय अध्यक्ष चयन गरेको छ ।
भेलाको ब्यानरमा ओलीको ठूलो तस्वीर राखिएको थियो भने पर्शुराम बस्नेतको निर्देशनमा कतिपय नेता–कार्यकर्ताले स्वागत गर्दै राजनेता ओली जिन्दावादको नारा लगाएका थिए ।
मधेस प्रदेशका अर्का एक नेताका अनुसार बैठकमा सहभागी ३१ केन्द्रीय सदस्यमध्ये २७ जनाले ओलीकै नेतृत्व निरन्तर हुनुपर्ने पक्षमा धारणा राखेका छन् । त्यस्तै, कूल सहभागी ५५ नेता–कार्यकर्तामध्ये ४६ जना ओलीकै निरन्तरताका पक्षमा खुलेका छन् भने ५ जना तटस्थ र २ जना जति उनको विकल्प खोजेर जानुपर्ने पक्षमा खुलेका छन् । तर, पुनर्गठनको पक्षमा खुलेका एक नेताले भने बाहिर प्रचार गरिए जस्तो शत प्रतिशत ओलीको पक्षमा खुलेको भन्नु गलत भएको बताए ।
स्रोतका अनुसार मधेस प्रदेशको भेलापछि ओली निक्कै उत्साहित भएका छन् । उनलाई लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश र कोशी प्रदेशमा अलि बढि समस्या रहेको तर बाँकी वागमती, गण्डकी, राजधानी प्रदेशमा धेरै समस्या नरहेको र ती प्रदेशमा बहुमत सहभागी खुलेको, मधेसमा जस्तै जनसंगठनबाट पनि अभूतपूर्व समर्थन हुने तथा केन्द्रीय सम्पर्क समन्वय कमिटीमा पनि बहुसंख्यक नेतृत्व फेर्ने पक्षमा नबोल्ने रिर्पोटिङ गरिएको छ ।
मधेस प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठले अध्यक्ष मधेस प्रदेशबाट ओलीकै नेतृत्वमा पार्टीलाई एकताबद्ध, सुदृढ र अनुशासित बनाएर पार्टीलाई पुनर्गठन गर्दै स्थानीय निर्वाचनको तयारीमा केन्द्रीत गर्नुपर्नेगरी पार्टीलाई अगाडि बढाउनुपर्ने सुझाव दिइएको बताएका छन् ।
‘केन्द्रीय सचिवालयले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रुपमा के कसरी पुनर्गठन गर्न सकिन्छ त्यसअनुसार कार्यकर्ताबाट सुझाव लिन भनिएकाले कार्यदलले त्यही अनुरुप काम गरिरहेको छ, बाहिर कतिपयले चर्चा गर्ने गरे जस्तो व्यक्ति हटाउने, नयाँ ल्याउने विषयमा सुझाव भेला राखिएको होइन’, श्रेष्ठले भनेका छन्,‘अध्यक्षकै नेतृत्वमा पार्टीलाई लैजानुपर्छ भन्ने सर्बसम्मत्त धारणा आएको छ ।’
मधेस प्रदेशका अर्का एक नेताका अनुसार बैठकमा सहभागी ३१ केन्द्रीय सदस्यमध्ये २७ जनाले ओलीकै नेतृत्व निरन्तर हुनुपर्ने पक्षमा धारणा राखेका छन् । त्यस्तै, कूल सहभागी ५५ नेता–कार्यकर्तामध्ये ४६ जना ओलीकै निरन्तरताका पक्षमा खुलेका छन् भने ५ जना तटस्थ र २ जना जति उनको विकल्प खोजेर जानुपर्ने पक्षमा खुलेका छन् । तर, पुनर्गठनको पक्षमा खुलेका एक नेताले भने बाहिर प्रचार गरिए जस्तो शत प्रतिशत ओलीको पक्षमा खुलेको भन्नु गलत भएको बताए ।
‘बहुसंख्यक खुल्नुभएको साँचो नै हो तर त्यति नै ठूलो संख्याले पार्टी एकता बचाएर लैजानुपर्ने धारणा पनि राख्नुभएको थियो, एक दर्जन जति पुनर्गठनको पक्षमा खुल्नुभएको थियो ।’ ती नेताले भने ।
उता, २० असारभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने भएकाले महासचिव तथा कार्यदलका सदस्य सचिव शंकर पोखरेलले प्रतिवेदन लेख्ने काम सुरु गरेका छन् । ओलीलाई जसरी पनि हटाउनुपर्ने पक्षमा अडिग बन्दै गएका पोखरेलले नेतृत्वसँग दूरी बढाउँदै लगेका छन् ।
